कांग्रेस बिर्सिइएको मानवीय विकास



विश्वमा प्रथम अर्थतन्त्रको मुलुक अमेरिका भएपनि मानवीय विकासमा ऊ निकै पछाडि छ । मानवीय विकासमा युरोपेली मुलुक नर्बे सबैभन्दा अगाडि छ ।

हामी भौतिक विकासलाई महत्व दिएर अमेरिका र चीनजस्तो बन्ने कि मानवीय विकासलाई महत्व दिएर नर्बे तथा अन्य स्केन्डेनिभियन मुलुकजस्तो बन्ने ? खासमा ठूला भवन, चिल्ला सडक र गाडीआदि भौतिक विकासले मात्र मान्छे सुखी हुन सक्तैन । सुखका लागि पारिवारिक तथा सामाजिक शान्ति चाहिन्छ । घर–घरमा विभेद र हिंसा छ भने, अधिकारको वितरण न्यायिक तरिकाले भएको छैन भने मानवीय विकास भएको मानिन्न । चिल्लो कारभित्र लैङ्गि आधारमा विभेद छ, कोही रोइरहेछ भने त्यसलाई सन्तुलित विकास कसरी मान्ने ?
अब आजको पाँचौं दिन स्थानीय तहको निर्वाचन हुनेछ ।

जनताको घरदैलोको सरकारको रुपमा परिचित स्थानीय सरकारका प्रतिनिधि बन्न उम्मेदवारहरु देशभर जनताको घरदैलोमा पुगेका छन् । निर्वाचनमा मत माग्ने क्रममा अधिकांश उम्मेदवारहरुले गाउँघरमा भौतिक विकासलाई प्रमुख एजेण्डा बनाएका छन् । अझ सडकलाई प्रमुख प्राथमिकतामा राखेका छन् । दिगो विकासका योजनाहरुबारे खासै चर्चा गरेको पाइँदैन । उम्मेदवारहरुले मत माग्ने क्रममा मानवीय विकासको त कुरै गर्दैनन् । गाउँका सोझा जनताले पनि विकास भनेको सडक, भवन, सिचाइजस्ता भौतिक पूर्वाधारको निर्माणमात्र हो भन्ने सोचेका छन् ।

मानवीय विकासको बारेमा आम मतदाताले पनि खासै चासो राखेको पाइँदैन । भौतिक पूर्वाधारका साथै मानवीय विकास पनि उत्तिकै आवश्यक छ भन्ने कुरा न यसअघि निर्वाचित भएका जनप्रतिनिधिले बुझे न त अब निर्वाचित हुने जनप्रतिनिधिले बुझेको संकेत देखाएका छन् । मानवीय विकासको महत्वबारे अधिकांश उम्मेदवार त अनभिवज्ञ नै छन् । जति नै समानताको कुरा गरेपनि ‘हुने खाने’ र ‘भए खाने’ बीचको दुरी आकाश–जमिनको जस्तो छ ।

वर्गीय विभेद मात्र हैन, सामाजिक कुरीतिको रुपमा रहेको विभेद अझै हट्न सकेको छैन । आर्थिक तथा सामाजिक रुपमा विपन्न वर्गको जीवनस्तर सुधारका लागि ठोस रुपमा कार्यक्रम ल्याएर प्रभावकारी कार्यान्वयन गर्न सकिएको छैन । शिक्षा, स्वास्थ्य विकासको नाममा भिरपाखा, खेतबारी जताततै डोजर लगाइएको छ । हिउँदमा बनाएको बाटो वर्षामा हिड्न नहुने हुन्छ । प्राकृतिक स्रोतको दोहन मात्र भैरहेको छ । यसको संरक्षण र उपयोगको नीति छैन । विकासको नाममा आर्थिक लाभलाई मात्र प्राथमिकतामा राखिएको छ ।

अहिले मत माग्न आम मतदाताको घरदैलो पुगेका उम्मेदवारहरुले विकासको कुरा गर्दा भौतिक पूर्वाधार निर्र्माणमा मात्र जोड नदिई मानवीय विकासको कुरालाई पनि प्राथमिकतामा राख्नुपर्छ । मानवीय विकास भएन भने भौतिक पूर्वाधारको विकास पनि दिगो हुन सक्दैन । उम्मेदवारहरु मानवीय विकासको सवालमा अनभिज्ञ भएपनि जानकारहरुको राय–सुझाव अनुसार योजना बनाएर प्रत्येक वडाको टोल टोलबाट मानवीय विकासको लागि योजना बनाउनुपर्छ । ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिका लागि भत्ताको व्यवस्था, घरेलु हिंसा लगायतका विधामा कानुन पनि बनेका छन् । तर, यतिले मात्र मानवीय विकास पूर्ण हुनेहोइन ।

प्रतिक्रिया दिनुहोस्