स्थानीय तहको निर्वाचन : काठमाडौंको फोहोरमाथि दलहरूको राजनीति

0
Shares

काठमाडौं । 

विभिन्न माग र बहानामा बारम्बार काठमाडौं उपत्यको फोहोर व्यवस्थानमा अवरोध हुँदै आएको छ । तर, पनि संघीय राजधानी काठमाडौंको फोहोरमाथि सधैं राजनीति हुँदै आएको छ । हरेक निर्वाचनमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता राजनीतिक दलहरूले गर्दै आएका छन् । स्थानीय तहलाई लक्षित गरेर राजनीतिक दलहरूले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने विषय घोषणपत्रमा उल्लेख गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा पनि बारम्बार देखा पर्दै आएको फोहोर व्यवस्थापनको समाधान गर्ने विषयलाई प्रमुख मुद्दा बनाएर उपत्यकावासीसँग प्रतिबद्धता जनाइएको थियो ।

निर्वाचन भएको पाँच वर्षका अवधिमा दर्जनौंपटक काठमाडौंका सडक र गल्लीमा फोहोर थुप्रिए । तर, दीर्घकालीन समाधान खोज्न काठमाडौंं महानगरपालिका असफल बन्न पुग्यो । काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर सिसडोलमा विर्सजन हुँदै आएको छ । तीन वर्षको लागि भनेर सिसडोलमा फोहोर फ्याँक्न सहमति गरेको सरकारले विगत १७ वर्षदेखि सोही स्थानमा फोहोर फ्याक्दै आएको छ । जसको कारण सिसडोल भरिएको छ । स्थानीयले बारम्बार आफूहरूसँग गरेको सम्झौता काठमाडौं महानगरपालिकाले कार्यान्वयन गरेको भन्दै बारम्बार अवरोध गर्दै आएका छन् । यता स्थानीयसँग गरेको सम्झौता कार्यान्वयमा काठमाडौं महानगरपालिकाले बेवास्ता गर्दै आएको छ । जसको मार उपत्यकाबासीले झेल्दै आएका छन् ।

काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका राजनीतिक दलहरूले फोहोर व्यवस्थापन गर्ने विषय घोषणपत्रमा प्राथमिकताको साथ समावेश गरेका छन् ।सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले प्राथमिकताको साथ फोहोर व्यवस्थापनको विषयलाई घोषणपत्रमा समावेश गरेका छन् । यता नेकपा एमाले, राप्रपासहित स्वतन्त्र उम्मेदवाहरूले पनि फोहोर व्यवस्थापनको विषयलाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् । काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार केशव स्थापित, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार सृजना सिंह, नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन साहलगायतका उम्मेदवारहरूले फोहोर व्यवस्थापन पहिलो प्राथमिकता भएको विषयलाई प्राथमिकताको साथ उठाएका छन् ।

यसअघि पनि राजनीतिक दलहरूले गरेको प्रतिबद्धताअनुसार काम हुन सकेन, यसपटक पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुहुन्छ, काठमाडौं महानगरपालिका–३२ का नवराज पराजुली । उहाँले भन्नुभयो–‘राजनीतिक दलहरूले वर्षौंदेखि काठमाडौं उपत्यको फोहोरको विषयलाई लिएर राजनीति गर्दै आएका छन्, काम गर्ने बेला आएपछि विभिन्न बहानामा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न आलटाल गर्दै आएका छन् ।’

विगतमा बारम्बार घोषणपत्रसँग चुनावी नारा बन्दै आएको फोहोर व्यवस्थापनको विषयलाई राजनीतिक दलहरूले चुनावी एजेन्डा बनाउँदै आएका छन् । डिल्ली बजारका स्थानीय मचाकाजी श्रेष्ठले फोहोर व्यवस्थापनमा राजनीतिक दलहरूको फोहोरी खेलको कारण दिक्क भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘चुनावको बेलामा फोहोर व्यवस्थाप गर्छौं भनेर भोट माग्न आउँछन्, जितेपछि महिनौं फोहोर नउठ्दा पनि केही गर्न सक्दैनन् ।’

सिसडोलबासीले स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार निर्माणलगायतका माग राख्दै बारम्बार फोहोर फ्याँक्न अवरोध गर्दै आएका छन् । तर, सरकारले दीर्घकालीन समाधानतर्फत ध्यान नदिएर बारम्बार समस्या बल्झाउने काम गर्दै आएको छ ।राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राजनीतिक दलहरूले काठमाडौं उपत्यको फोहोरलाई मोहोर बनाउँदै आएको टिप्पणी गर्दै भन्नुभयो– ‘काठमाडौंमा बारम्बार फोहोर उठन नसक्दा पनि राजनीतिक दलहरूमा जिम्मेवारी र कर्तव्यबोध पटक्कै भएन ।’ उहाँले लामो समयदेखि सिसडोलमा फोहोर फ्याँक्न पैसाको खेल हुँदै आएको आरोप लगाउँदै भन्नुभयो– ‘फोहोर आम नागरिकको समस्या हो । राजनीतिक पार्टीका नेता कार्यकर्ताको समस्या होइन, अहिलेसम्म जति पनि प्रतिबद्धता राजनीतिक दलहरूले गरे त्यसको थोरै प्रतिशत पनि इमान्दारपूर्वक काम गरेनन् ।’