१४ दिनमा बल्ल उठ्यो फोहोर

सुरक्षाकर्मी परिचालन गरी फोहोर खसालियो

0
Shares

काठमाडौं  । 

स्थानीयबासीको अवरोधको कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ । पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो ।

मुड्खु–तीनपिप्ले खण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयबासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए । फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन गरी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगेको हो ।कामपाको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार शनिबार बिहान करिब १ सय ४६ ट्रक फोहोर सिसडोल पु-याइएका थियो । दिउँसो भने पानी परेका कारण फोहोर व्यवस्थापन रोकिएको थियो । उहाँका अनुसार विभागले गृह मन्त्रालयलाई पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको हो । विभागीय प्रमुख राइले भन्नुभयो–‘स्थानीयसँग नियमित छलफल भइरहेको छ । सडक निर्माणको काम हुँदाहुँदै स्थानीयले राजमार्गमा फोहोरका गाडी गुड्न नदिने भन्दै नयाँ माग राखेर बाटो अबरुद्ध गरेका हुन् ।’

सडक निर्माणको माग राखेर स्थानीयले फोहोर ढुवानी अवरुद्ध गरेको यो तेस्रोेपटक हो । जिल्ला प्रशासन कार्यालयले सशस्त्र र नेपाल प्रहरीका १ सय ५० जना प्रहरी परिचालन गरेको थियो । उहाँका अनुसार फागुन र चैत महिनाको अवरोधमा ३३ दिन फोहोर संकलन हुन सकेको थिएन । यसपटक वैशाख ११ गते रोकिएको फोहोर व्यवस्थापन हिजो शनिबारबाट शुरू भएको हो ।स्थानीय मागका विषयमा वैशाख २२ गते भएको छलफलमा आन्दोलनरत् पक्षले फोहोर ढुवानी गर्ने गाडी सञ्चालन गर्न नदिने अडान राखेपछि समस्या जटिल बनेको थियो । आज आइतबार पनि प्रहरी परिचालन गरेर फोहोर ढुवानी गरिने भएको छ ।

यसअघि स्थानीयबासीले सडक कालोपत्रे हुनुपर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रोपटक सडक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई चालु गर्ने प्रतिवद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन बिहानको समयमा मात्र फोहोर ढुवानी गर्न दिन स्वीकृति दिइएको थियो ।पटकपटक फोहोर ढुवानीमा समस्या आएपछि महानगरको वातावरण तथा कृषि विभागले जैविक फोहोरलाई घरमै व्यवस्थापन गर्न महानगरबासीलाई आग्रह गर्दै आएको छ । विभागका निमित्त प्रमुख राईले, जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने योजना सुनाउनुभयो ।

सडक निर्माणलगायत माग राखेर फोहोर ढुवानीमा स्थानीयबाट अवरोध भएपछि गत फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले शहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको छ ।ल्यान्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिवद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो ।केही दिनअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको लोकराज पौडेल संयोजकत्वमा -यापिड एक्सन टाक्सफोर्स गठन भएको छ । तर, सो फोर्सले खासै काम गर्न सकेको छैन । उपत्यकाका सबै नगरबाट दैनिक करिब १२ सय मेट्रिक टन फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करिब ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौं महानगरको हो ।