भारतमा जस्तै ‘गोदी पत्रकारिता’ नगर्न नेपाललाई रवीशको सुझाव

0
Shares

काठमाडौं । 

गोदी अर्थात् काख । ‘काखे पत्रकारिता’ भन्नाले सरकार वा शक्तिकेन्द्रको काखमा बसेर गर्ने पत्रकारिता । रामोन म्यागेसेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमारका विचारमा ‘गोदी पत्रकारिता’ पत्रकारिता नै होइन, यो त सरकार र शक्तिकेन्द्रको रक्षाका लागि गरिने हतियारबिनाको युद्ध हो, आम नागरिकमाथिको आक्रमण हो ।

राजधानीमा शनिबार सम्पन्न हिमाल मिडिया मेला २०२२ का मुख्य वक्ता रवीशकुमारले आफ्नो मुलुकको पत्रकारिताको अभ्याससँग पूर्णतः असन्तुष्टि देखाउनुभयो । खास गरी टेलिभिजनले पत्रकारिताको बद्नाम गरेकोमा उहाँ निकै दुःखी हुनुहुन्थ्यो । उहाँले भन्नुभयो– ‘हाम्रा टेलिभिजनका पत्रकार प्रत्यक्ष प्रसारणमै कसैलाई लात्तीले हानेर बाहिर निकाल्नुपर्ने भन्छन्, उनीहरूलाई जसले काख प्रदान गरेको छ, उसको रक्षाका लागि जे पनि बोल्छन्, तर मलाई विश्वास छ– नेपाली पत्रकारहरूले गोदी पत्रकारिता गर्नुहुने छैन ।’

भातरको एनडीटिभीका वरिष्ठ कार्यकारी सम्पादक रवीश कुमारले जोखिमको सामना गर्दै सीमान्तकृत नागरिकका पक्षमा पत्रकारिता गरेबापत तीन वर्षअघि एसियाकै प्रतिष्ठित पुरस्कार म्यागसेसे प्राप्त गर्नुभएको हो । दुईपटक भारतको प्रसिद्ध पुरस्कार रामनाथ गोयन्का मेधावी पुरस्कार पाएर चर्चित बनेका रवीश म्यागसेसे पाउने पाँचौं भारतीय पत्रकार हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गोदी पत्रकारिताले तयार पारेको विकृत वातावरणका कारण सरकार र शक्तिसँग माग राख्ने गरिब किसानहरू पनि कडाइका साथ आवाज उठाइरहेका छैनन्, केवल आरती उतारिरहेका छन् ।’ भगवान्को आरतीमा हे प्रभु, मेरो पुकार सुनिदेऊ, म दुःखीको कष्ट हर भन्ने शैली अपनाइन्छ, माग पूरा नगरे अझ कडा आन्दोलन गर्छु भन्ने चेतावनी हुन्न ।

धर्मको आडमा नागरिकको लोकतन्त्र खोसिएको विश्लेषण पनि रवीशकुमारले गर्नुभयो । जनताले कुनै माग राख्दा सरकार धर्म विरोधी काम भयो भन्छ, मागकर्ताहरू असुरक्षित महसुस गरिरहेका छन्, उहाँ भन्नुहुन्छ– ‘टिभी पत्रकारहरू कुद्दै र चिच्याउँदै बोलिरहेका हुन्छन्, हिन्दुहरू खतरामा छन् भनिरहेको सुनिन्छ, जब कि अर्को कार्यक्रममा नरेन्द्र मोदीको सरकार आएपछि हिन्दु धर्म बलियो भयो भन्ने पनि उनीहरू नै हुन्छन् ।’

रवीशकुमारले रिपोर्टर्स विउदाउट बोर्डर्सले हालै सार्वजनिक गरेको प्रेस स्वतन्त्रताको सूचीमा भारत कमजोर बनेकोमा चिन्ता पनि प्रकट गर्नुभयो । सो सूचीमा सर्वेक्षणमा परेका विश्वका १ सय ८० मुलुकमा नेपाल भने ७६औं नम्बरमा उक्लिएको छ । विगत वर्ष नेपाल १ सय ६ नम्बरमा थियो । अहिले भारतको क्रम १४२ बाट तल झरेर १५० मा पुगेको छ । दक्षिण एसियामा पाकिस्तानको प्रेस स्वतन्त्रताको अवस्था भने निकै कमजोर, १५७औं नम्बरमा छ ।

भ्रमपूर्ण सूचनाको युगमा सञ्चार’ नाम दिइएको हिमाल मिडिया मेलामा २० वक्ताले आ–आफ्नो विचार व्यक्त गरे । हिमाल मिडियाका सहप्रकाशक कुन्द दीक्षितको स्वागत मन्तव्यबाट शुरू भएको मेलामा खोज पत्रकारिता केन्द्र नेपालका अध्यक्ष तथा लेखक चन्द्रकिशोर, प्राध्यापक रामकृष्ण रेग्मी, पत्रकारहरू युवराज घिमिरे, कनकमणि दीक्षित, प्रतीक प्रधान, अमित ढकाल, मधु आचार्य, रघु मैनाली, आरती चटौत, सुधीर शर्मा, समा थापा, उमेश श्रेष्ठ, रजनीश भण्डारी, जीवन क्षेत्री, साहिना श्रेष्ठ, आयुशा चालिसेलगायतले बोल्नुभएको थियो ।

वक्ताहरूले पत्रकारिता ‘आवाजविहीन नागरिकको आवाज’ हुनुपर्नेमा शक्तिशाली निकायकै पक्षपोषण गरिरहेको विश्लेषण गरे । मूलधारको पत्रकारिताका पाठकहरू सामाजिक मिडियातिर बसाइँसरेको र समाज सेवाका लागि नभई आर्थिक लाभका लागि पत्रकारिताका नाममा शक्ति र स्रोतका पक्षमा आवाज उठाउने गरेको भन्दै वक्ताहरूले यस क्षेत्रमा आबद्ध सबैले समयमै नसच्चिए पत्रकारिता नै मासिने धारणा राखे ।