जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अस्थायी प्रहरी चौकी स्थापना



जाजरकोट

जुनीचाँदे गाउँपालिका वडा नम्बर–३ परालेमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जुनीचाँदे गाउँपालिकाको सहकार्यमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रहरी चौकीको स्थापना गरिएको छ । सो गाउँपालिका वडा नम्बर–३ परालेमा पालिकाको अस्थायी केन्द्र रहेकाले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी सन्तोष निरौलाले बताए ।

विगतको घटनाको विश्लेषण, जुनीचाँदे गाउँपालिकाको अनुरोध र स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाको निर्णयबमोजिम वडा नम्बर–३ परालेमा प्रहरी चौकीको स्थापना गरिएको प्रशासकीय अधिकृत झलक केसीले बताए ।

गाउँपालिकाको केन्द्र भए पनि प्रहरी चौकीको स्थापना नहुँदा असुरक्षा महसुस भइरहेको थियो । प्रहरी चौकी स्थापना भएसँगै पालिकाको केन्द्र, कर्मचारी र यहाँका बासिन्दाले सुरक्षाको महसुस गरेको वडा नम्बर–३ का अध्यक्ष रामबहादुर रावतले बर्ताए ।

त्यस्तै प्रहरी चौकी स्थापना पश्चात् पालिकाको अस्थायी केन्द्र र यहाँका जनताले शान्ति, सुरक्षाको अनुभूति गर्न पाउने स्थानीय प्रेमबहादुर केसीले बताएले ।

यस गाउँपालिकामा हालसम्म कुनै पनि बैंकको शाखा बिस्तार गरिएको छैन । बैंकहरुको शाखा बिस्तार नहुँदा पालिकाको आर्थिक कारोबार जिल्ला सदरमुकाम खलंगाबाट भइरहेको छ । प्रहरी चौकी स्थापना भएसँगै बैंकका शाखाहरु विस्तार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्