बुटवलमा पाँच दलको संकल्पपत्र : बाढी तथा पहिरोबाट प्रभावितलाई घर बनाइदिने

0
Shares

बुटवल । 
नेकपा एमालेले लगातार ३ वटा निर्वाचनमा विजयी हासिल गरेको  बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ ।
संकल्पपत्रमा बाढी तथा पहिरोबाट प्रभावित एवम् अल्पसंख्यक, सीमान्तकृत, न्यून आय भएका, पिछडिएका, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी नगर आवास कार्यक्रममार्फत वार्षिक तीनसय घर निर्माण गरी हस्तान्तरण गर्ने उल्लेख छ । भू उपयोग नीतिमार्फत थोरै क्षेत्रफल भएका जग्गाको उचित व्यवस्थापन गर्ने पनि उल्लेख छ ।
नगरवासीलाई राहत दिन उपमहानगरले हाल लिँदै आएको पाँचथरि कर र सिफारिस शुल्क घटाउने देखि सबै नगरवासीको स्वास्थ्य वीमा गर्ने प्रतिवद्धता गरिएको छ । जसमा घर बहाल कर, हाटबजार पैठकी कर, ई रिक्सा सवारी कर तथा  सिफारिस शुल्क  र घरेलु फोहोर सङ्कलन दस्तुर घटाउने संकल्प गरिएको छ ।  यस्तै नेपालीपन झल्किने तथा उच्च कलात्मक शैलीमा निर्मित निजी आवास  तथा भवनहरुलाई कर छुट तथा विशेष सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता छ ।
प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा वर्षौंदेखि बसोबास तथा हकभोगमा रहेको करिव २५० बिगाहा जग्गा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरी बाँकी रहेको  जग्गामा स्मार्ट औद्योगिक क्षेत्र स्थापना गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोवास  गरिरहेका नागरिकलाई एक वर्षभित्र अल्पकालीन बसोबास प्रमाणपुर्जा र  दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाणपुर्जा  उपलब्ध गराउने संकल्पपत्रमा छ ।
संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल  एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका छन ।  युवा स्वरोजगार केन्द्रको स्थापना गरी ‘एक घर एक उद्यमी’ कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र प्राविधिक ज्ञानको  उपयोग गर्न विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।
निश्चित स्थानहरुमा चौबिसै घण्टा व्यापार व्यवसाय सञ्चालनको व्यवस्था,भित्री सडकमा साना व्यवसाय सञ्चालन गर्न दिने, उपमहानगरपालिका कार्यालय परिसरमा २४ घण्टे स्वास्थ्य सेवा कक्षा सञ्चालन तथा नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याइने  संकल्पपत्रमा उल्लेख छ । यस्तै जनप्रतिनिधिहरुले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग  गर्ने परिपार्टी अन्त्य गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य  बिमा कार्यक्रमका लागि योगदान गर्ने संकल्प गरिएको छ ।
बुटवल उपमहानगरलाई सबैको अपनत्व महसुस गराउन कार्यालय परिसरमा प्रजातान्त्रिक  आन्दोलनका नेतृत्वकर्ता विपी कोइराला र वामपन्थीआन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठ तथा बुटवलका पुर्व मेयर सूर्यप्रसाद प्रधानको स्मृतिमा संयुक्त पार्क निर्माण गर्ने संकल्पपत्रमा छ । त्यस्तैसिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई उपमहानगरपालिकाको  मातहतमाल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता छ ।बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी  पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाको पहल गर्ने गरि संकल्पपत्र ल्याएको बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार
खेलराज पाण्डेले बताउनु भयो ।
निजी शैक्षिक प्रतिष्ठानहरुको लगानीको ग्यारेन्टी गर्ने, निजी शिक्षण संस्थामा विपन्न,  दलित, एकलमहिला परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,सबै  सामुदायिक विद्यालयमा न्यायोचित भौतिक सुविधा र पूर्वाधारको विकास, स्थानीय रोजगार र सिपमूलक व्यावसायिक पठनपाठनको व्यवस्था,बुटवल बहुमुखी क्याम्पसलाई प्रदेशकै उच्चस्तरीय शैक्षिक प्रतिष्ठान,‘एक कक्षाकोठा एक स्मार्ट बोर्ड’ र ‘एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । उपमेयरका  उम्मेदवार चिनबहादुर गुरुङले आफू निर्वाचित भएपछि उपमेयरका लागि प्राप्त  सवारीसाधन एम्बुलेन्सका रुपमा विरामी बोक्न प्रयोग गर्ने घोषणा गर्नु भयो ।
बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे,  एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय  सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल,  राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गर्नु भएको हो ।