मकवानपुरमा नाममात्रको आचारसंहिता

0
Shares

हेटौंडा ।

आसन्न स्थानीय तह निर्वाचनमा दलहरूकै सहमतिमा तोकिएको निर्वाचन आचारसँहिताको लगातार उल्लंघन हुँदा पनि मकवानपुर प्रशासन मौन छ ।

वागमती प्रदेशकी बहालवाला सामाजिक विकासमन्त्री कुमारी मोक्तान दैनिकरूपमा चुनाबी प्रचारमा रहँदा प्रशासन भने मौन रहेको हो । विगत केही दिनदेखि मन्त्री मोक्तान निर्वाचन आचारसँहिताविरूद्ध चुनावी प्रचार–प्रसारमा सहभागी हुँदै सभालाई सम्बोधन गरिरहनुभएको छ ।

आइतबार पनि मन्त्री मोक्तानले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मा दलीय गठबन्धनको वडा कमिटीको आयोजनामाभएको चुनावीसभालाई सम्बोधन गर्नुभयो । निर्वाचन आचारसंहिताविपरीत मोक्तान स्थानीय तह गठवन्धनमा चुनावी प्रचारप्रसारमा व्यस्त हुन थाल्नुभएको छ । मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय हुनुभएको छ ।

निर्वाचन आचारसँहिताअनुसार सांसदले कुनै उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालय उद्घाटन गर्न मिल्दैन । केही दिनअघि पनि मन्त्री मोक्तान आचारसंहिताको बेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरीका विभिन्न वडामा उम्मेदवारसँगै प्रचारमा हिँड्नुभएको थियो ।

मनहरी गाउँपालिका वडा–३ मा उम्मेदवारहरूको प्रचार कार्यक्रममा उहाँ सहभागीमात्र हुनुभएन, माओवादी केन्द्र र गठबन्धननिकट उम्मेदवारहरूको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन गर्न भ्याउनुभयो । मोक्तानले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग, निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण नहुनुलाई एमाले मकवानपुरले चिन्ता जनाएको छ ।

हेटौँडा उपमहानगरका कर्मचारी पनि आचारसंहिताविपरीत चुनावी प्रचारमा सक्रियभएका छन् । हेटौंडा उपमहानगरपालिकाका अधिकृत हिमप्रसाद पौडेल निर्वाचन आचारसंहिताविपरीत हेटौँडा–११ माभएको गठबन्धनको चुनावी प्रचारमा सक्रिय हुनुभएको हो ।

निर्वाचन आचारसंहिताविपरीत हेटौँडा उपमहानगर मेयर हरिबहादुर महत नै एमालेको चुनावी अभियानमा लाग्नुभएको छ ।महत स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचार अभियानमा लाग्नुभएको हो । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ ।

बहालवाला मेयर नै आचारसंहिताविपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहनुभएको छ । महत पछिल्लो दिन नियमितरूपमा चुनावी अभियानमा गएर आश्वासनसमेत बाँडिरहेको गुनासो अन्य दलका नेता÷कार्यकर्ताको छ ।हेटौँडा वडा नम्बर–८ की वडा सचिव भगवती रिमाल खुलेआम एमालेको प्रचारप्रसारमा हिडनुभएको छ । उहाँ हेटौँडा–८ को एक कार्यक्रममा एमालेका उम्मेदवारसँग देखिनुभएको छ । हेटौँडाका सरकारी कार्यालयका लेखापाल नकुल गौतम नेकपा एमालेका उम्मेदवार र नेतासँग चुनावी अभियानमा देखिनुभएको छ । आचारँसहिताले सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाएको छ ।

आचारसंहिताअनुसार सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाइएको छ । यस्ता कर्मचारी भोलि मतदान र गणनामा खटिँदा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने सर्वसाधारणको भनाइ छ ।
पछिल्लो समय सरकारी कर्मचारी, शिक्षक, अर्धसरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिँडिरहेका छन् । उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले सकेको छैन । स्थानीय क्षेत्रमा आचारसंहिता नाममात्रको देखिएको छ ।

निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचनमा सामाजिकसञ्जालमा मित्थ्या सूचना तथा आचारसंहिताविपरीत सामग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालीग्राम शर्मापौडेलले मित्थ्या सामग्री सामाजिक सञ्जालमा पोस्ट भइरहेकाले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिनुभएको हो ।
निर्वाचन आचारसंहिताविपरीत सामग्री सामाजिकसञ्जालमा पोस्ट गरे निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने उहाँले स्पष्ट पार्नु भए पनि स्थानीय निर्वाचन कार्यालय भने हेरेको हे-यै छ ।

आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति, २०७७ को निर्वाचन सम्बन्धि सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र विश्वसनीय बनाइ सामाजिकसञ्जाल उपयोग र नियमनलाई भरपर्दो बनाउन आयोगले निर्णयहरू गरेको जानकारी दिएको छ ।