मतदाता शिक्षा प्रभावकारी बनाउन आवश्यक

तनहुँमा नमुना मतदान



मिला दरै, तनहुँ । 

व्यास नगरपालिका–२ निवासी १८ वर्षीया एलिना कुमालले पहिलोपटक मतदान गर्नुभयो । पहिलोपटक मतदान गरी आफ्नो मताधिकार प्रयोग गरेकोमा कुमाल खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘पहिलोपटक मतदान गरेँ, आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि छनोट गर्न पाउँदा गौरवान्वित बनाएको छ, नमुना मतदानले अब आउने वैशाख ३० गतेको निर्वाचनमा सहयोग पुग्ने भयो ।’

नमुना मतदानले स्थानीय तहको मतदानमा सहयोग पु¥याउने कुमालको विश्वास छ । पहिलोपटक मतदान गर्दा नयाँ अनुभव संगालेको उहाँ बताउनुहुन्छ । ‘नमुना मतदानले हामी जस्ता नयाँ पुस्तालाई सिकाउँछ भने पुराना पुस्तालाई लामो समयको अन्तरालमा मतदान गर्न सहयोग पु-याउँछ, यस्ता नमुना मतदान सबै क्षेत्रमा गर्नुपर्छ’ –उहाँले भन्नुभयो ।एलिना जस्तै अर्की व्यास नगरपालिका–५ पाटन निवासी १८ वर्षीया सुमिक्षा थापाले यस स्थानीय तह निर्वाचनमा पहिलोपटक मतदान गर्दै हुनुहुन्छ । उहाँ पनि मंगलबारको नमुना मतदानमा सहभागी हुनुभयो । उहाँले नमुना मतदान प्रक्रियाले कसरी मतदान गर्ने, के के कुराको ध्यान दिनुपर्ने भन्ने विषयमा जानकारी लिन पाएको बताउनुभयो । ‘यसले अबको आसन्न स्थानीय तहको निर्वाचनमा सहयोग पुग्छ, यस्ता नमुना मतदानका कार्य विभिन्न स्थानमा आयोजना गरी मत बदर हुनबाट जोगाउन सकिन्छ’ –थापाले भन्नुभयो ।

एलिना र सुमिक्षा जस्ता किशोरीहरु आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै छन् । पाँच वर्षको अन्तरालमा यही वैशाख ३० गते देशैभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । स्थानीय तहको निर्वाचनमा पहिलोपटक मतदान गर्ने युवालाई सहयोग पु¥याउन र ज्येष्ठ नागरिकलाई सहज बनाउन विभिन्न स्थानमा नमुना मतदान कार्यक्रम आवश्यक थियो । तर, यस पटकको निर्वाचनमा न त मतदाता शिक्षा नै सञ्चालन भएको छ, न त नमुना मतदान कार्यक्रम ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तनहुँमा मंगलबार नमुना मतदान कार्यक्रम भयो । मत बदरलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ तनहुँ र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा नमुना मतदान गरियो । नमुना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको नमुना मतदानमा नगर प्रमुख, उपप्रमुख, खुला र दलित सदस्यमा मत बदर भएको छ ।

नगर प्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिकामा रहेका पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । नगर क्षेत्रमै मत बदर हुनु दुःखद रहेको भन्दै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।‘यसपटक गठबन्धन र स्वतन्त्र उम्मेदवार धेरै रहेकाले मत बदर बढी हुन सक्ने देखिएको छ, नगरपालिका क्षेत्रमा यति धेरै मत बदर भएको छ भने ग्रामीण क्षेत्र, नयाँ पुस्ता र ज्येष्ठ नागरिकले मत बदर गर्न सक्ने सम्भाव्यता बढी रहेको छ’ –उहाँले भन्नुभयो ।

नमुना मतदानमा ६१ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार लाग्नुपर्ने बताउनुभयो । उम्मेदवारहरु प्रत्येक घर, गाउँमा पुग्ने भएकाले उनीहरुले मतदाता शिक्षा दिँदा अझ प्रभावकारी हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले नमुना मतदानले मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । ‘प्राक्टिकल्ली गरिएको मतदानले मत बदर घटाउनेछ, यस्ता कार्यलाई सबैको सहयोगमा सञ्चालन गर्नुपर्छ, निर्वाचनलाई विश्वासिलो बनाउनुपर्छ’ –अर्यालले भन्नुभयो । हालसम्म जिल्लामा गम्भीर प्रकारका आचारसंहिता उल्लंघनका घटना भने नभएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले नमुना मतदानले मत बदर घटाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले शिक्षित वर्गले समेत मत बदर गरिएको पाइएको बताउनुभयो । निर्वाचन कार्यालय र उम्मेदवारहरुले समयमै ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्