सानासाना समस्याले काठमाडौंलाई गिज्याइरहेको छ’


काठमाडौं । 

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौंबासीलाई ठूला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताउनुभएको छ ।

सोमबार शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिंहले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालयसमेत जान नपाउने अवस्था रहेको भन्दै आफू मेयर निर्वाचित भएमा यस्ता समस्या सजिलै समाधान गरिदिने बताउनुभएको हो । काठमाडौं महानगर विकसित भएर पनि अव्यवस्थित भएको भन्दै उहाँले काठमाडौंलाई व्यवस्थित गर्ने जिम्मा आफ्नो काँधमा आएको पनि बताउनुभएको थियो ।

‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ’, सिंहले भन्नुभयो– ‘म कांग्रेसको कार्यकर्ता र सिपही हुँ, मेयरमा निर्वाचित भए भने घोषणापत्र अनुसार नै काम गर्छु ।’ सिंहले आफ्नो राजनीतिको घर शंकरदेव क्याम्पस भएको भन्दै शंकरदेव क्याम्पसको विकासमा समेत सहयोग गर्ने बताउनुभएको थियो । ‘मैले विरासतबाट होइन, म शंकरदेवबाट राजनीतिमा उठेको छु’ –सिंहले भन्नुभयो ।

२०३३ सालमा गोरखाबाट कांग्रेसको सदस्यता लिएको बताउँदै उहाँले जनतालाई रैतिबाट जनता बनाउने अभियानको नेतृत्व गरेको परिवारबाट आएको पनि बताउनुभएको थियो । मंगलदेवी सिंहको परिवारबाट आएको महिला सदस्य भएकाले महिला र उत्पीडितको हितका लागि म मेयर बन्ने अभियानमा होमिएको भन्दै उहाँले भन्नुभयो– ‘लोकतन्त्र ल्याउनका लागि लडेर आएको हुँ, सुशासनै मेरो प्रमुख दायित्व हो ।’

भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो भन्दै सिंहले भन्नुभयो– ‘सानासाना समस्याले काठमाडौंलाई गिज्याउने गरेको छ । आफ्नो एजेन्डामा न्यून भएका महिला दिदीबहिनीलाई राहतको व्यवस्था गर्ने, स्वरोजगारको व्यवस्था गर्ने भन्दै ज्येष्ठ नागरिकको समस्या अत्यधिक रहेको अब व्यापारिक महल बनाउने काम बन्द गरिने बताउनुभएको थियो ।