सत्ता गठबन्धनभित्र आशंका


काठमाडौं । 

सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो ।

सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबनधनमा आशंका शुरु भएको छ । भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध कांग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ ।

पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिनुभएको छैन । यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध पनि कांग्रेसबाटै विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिनुभएको छ । कांग्रेसले कार्कीलाई कारबाही गरे पनि उम्मेदवारी कायमै राखेपछि गठबन्धनको उम्मेदवारले जित्नेमा आशंका पैदा भएको छ ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एकले अर्कालाई शंकाको दृष्टिकोणबाट हेर्दा अविश्वास पैदा भएको गठबन्धनका एक नेता बताउँछन् ।तर नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भने फरक–फरक पार्टीबीच गठबन्धन हुँदा केही आंशका हुनु अस्वाभाविक नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘यो गठबन्धन तत्कालको आवश्यक्तालाई हेरेर गरिएको हो । एउटै पार्टीभित्र त भिन्नभिन्न मत हुन्छ, पाँच दलबीच फरक विचार हुन कुनै नौलो विषय होइन ।’ उहाँले मतभेदका बाबजुद पनि गठबन्धनका साझा उम्मेदवारलाई जिताउने अभियानमा गठबन्धनमा ठूलो असमझदारी नरहेको बताउनुभयो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस विश्वस्त देखिए पनि माओवादी केन्द्र र एकीकृत समावादी संशकित छन् । गठबन्धन भएको स्थानमा कांग्रेसलाई गठबन्धनमा आबद्ध दलबाट थोरै मतले पनि जित्ने आधार छ । तर माओवादी र एकीकृत समाजवादीका उम्मेदवारलाई कांग्रेसका कार्यकर्ताले भोट दिनुपर्ने अवस्था रहेको बताइएको छ ।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले देशको आवश्यक्ताअनुरुप सत्ता गठबन्धन गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘भिन्न विचार भएका दलहरूबीच केही मतभेद हुन्छ, तर ठूलो समस्या छैन, गठबन्धनका साझा उम्मेदवार जिताउन एकताबद्ध भएर लाग्छौं ।’

सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषयलाई लिएर स्थानीय तहमा चर्को विवाद रहेको छ । केन्द्रको निर्णयविरुद्ध ठाउँठाउँमा बागी उम्मेदवारी दिएपछि गठबन्धनलाई टाउको दुखाइएको विषय बन्न पुगेको छ ।नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव डा. वेदुराम भुसालका अनुसार बैठकले महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।