केशव स्थापितको छाडापनले एमाले उम्मेदवार फसादमा, अब बोल्नुपूर्व अनुमति लिनुपर्ने

0
Shares

काठमाडौं ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितको बेलगामको बोलीले एमालेका उम्मेदवारहरूलाई फसाद परेको छ । विभिन्न सार्वजनिक कार्यक्रममा स्थापितले मनमौजी बोल्न थालेपछि पार्टीका अन्य उम्मेदवारलाई फसाद परेको हो ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले अब सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्न पाउने छैनन् । स्थापितको बोलीकै कारण पार्टीका अरू उम्मेदवारहरूलाई बाधा हुने भन्दै सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्नुपूर्व अनुमति लिनुपर्ने भएको छ ।

त्यसका लागि एमालेका उम्मेदवारहरूले पार्टीको निर्वाचन परिचालन कमिटीको अनुमति लिएर बोल्न पाउने छन् । अन्यथा उक्त कमिटीको अनुमतिबेगर मनमौजी (आफूखुसी) बोल्न नपाइने भएको छ । खासगरी काठमाडौं महानगर मेयरका उम्मेदवार स्थापित एकपछि अर्को विवादमा परेर पार्टीलाई नै बाधा हुने भन्दै एमालेले यस्तो नीति तय गरेको हो ।

यद्यपि निर्वाचन परिचालन कमिटीको अनुमति लिएर पार्टीको सार्वजनिक कार्यक्रम र सञ्चारमा बोल्न पाउने छ । उम्मेदवारहरू यस्तो लगाम लगाउँदै चुनाव जिताउन एमालेले काठमाडौंसहितका अन्य महानगरमा पदाधिकारीहरुलाई कमान्डरसमेत तोकेको छ । जसअनुसार काठमाडौंमा ईश्वर पोखरेल, पोखरामा पृथ्वी सुब्बा गुरुङ र चितवनमा सुरेन्द्र पाण्डेलाई चुनावी कमान्डर तोकिएको हो ।