भरतपुर केन्द्रित गठबन्धनका शीर्ष नेता : देउवा, प्रचण्ड, नेपाल र यादवले संयुक्त सभालाई सम्बोधन गर्ने



काठमाडौँ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू चितवनको भरतपुरमा केन्द्रित भएका छन् । भरतपुर महानगरपालिकामा वैशाख २२ गते आयोजना गरिएको संयुक्त आमसभालाई संबोधन गर्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भरतपुर केन्द्रित भएका हुन् ।

भरतपुरमा हुने आमसभालाई सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार भरतपुरको हाकिम चोकमा हुने सभालाई उनीहरूmले सम्बोधन गर्ने छन् ।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि उक्त आमसभामा सम्बोधन गर्ने छन् । भरतपुर महानगरबाट सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेणु दाहाल मेयरको उम्मेदवार छिन् ।

प्रतिक्रिया दिनुहोस्