एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट


काठमाडौं   ।

एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाएका छन् । बास्केटबलको थ्री बाई थ्री बाइमा प्रतीक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मीना गुरुङ पहिलो चरणलाई छनोट भए ।

त्यस्तै, नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छानिए । जसमा विभागीयतर्फ एपीएफका सुनीता थापा, रविना चौधरी, जयन्ती बढु, सविना मल्ल र कमला थापा, नेपाल प्रहरीका मानमति विष्ट, अर्पणा चौधरी, गंगा राकसकोटी, नितु गुरुङ र राधिका खडायत, नेपाल आर्मीका निशा बोहरा, मेणुका राजवंशी, गंगा घिमिरे, अनुजा कुलुङ राई, मिना नेपाली, कोपिला कार्की र इशा राई रहेका छन् ।

त्यस्तै, प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, सुदूरपश्चिम प्रदेशका सिर्जना सुनार, सोनम चन्द र कलावती पन्त, गण्डकी प्रदेशकी बुद्धिमाया मगर, बाग्मती प्रदेशका बविता पुकुवाल, अम्बिका कटुवाल र पूजा दुवाल, प्रदेश १ का लक्ष्मी विश्वकर्मा र पूजा राजवंशी तथा मधेश प्रदेशकी दिव्याकुमारी शाह रहेका छन् ।एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलोपटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतिले जनाएका छन् । एसियाली खेलकुद चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।