अघिल्लो कार्यकालको कामलाई यस पटक पुरा गर्छु : राजु अधिकारी


धादिङ ।

आसन्न स्थानीय निकाय निर्वाचनमा गल्छी गाउँपालिका –४ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका राजु अधिकारी अहिले घर दैलो अभियानमा व्यस्त छन् । अघिल्लो स्थानीय निकाय निर्वाचनमा सोही वडाको वडाध्यक्षमा जितेका अधिकारी यस पटक पनि जित्नेमा विश्वस्त छन् । गठबन्धनबाट उम्मेदवार बनेका अधिकारी अघिल्लो कार्यकालको अधुरा कामलाई यस पटक पुरा गर्ने लक्ष्य लिएका छन् ।

आम मतदाता मेरो अघिल्लो कार्यकालको काम देखेर यस पटक पनि मेरो पक्षमा उभिएका छन् अधिकारीले न्युज अफ नेपालसँग कुरा गर्दै यस पटक आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् । हिजो जितेपछि पनि मैले कहिल्यै  वडाका जनतालाई विभेद गरिन भोलि पनि गर्ने छैन अधिकारीले भने – जनताको सेवामा समर्पित हुन यस पटक पनि उम्मेदवार बनेको हुँ ।

यस पटक जितेपछि आफ्नै वडा भवन बनाउने, स्वास्थ्य कार्यालयको भवन बनाउने र शिक्षा क्षेत्रमा समेत आमूल परिवर्तन गर्ने लक्ष्य आफूले लिएको अधिकारीले बताए । वडा भित्रका सडकलाई स्तरोउन्नती गर्ने, पिछडिएर रहेको वर्गका लागि उत्थानका कार्यक्रम सञ्चालन गर्ने, खानेपानीको समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको अधिकारीले बताए ।

बालबालिका तथा जेष्ठ नागरिकका लागि कार्य योजना बनाएर काम गर्ने अठोट गरेका अधिकारीले युवा लक्षित कार्यक्रम समेत गर्ने बताए । जनभावनालाई कदर गर्दै अगाडि बढ्ने लक्ष्य लिएका अधिकारीले वडामा हुने कुनै पनि अवैध कामलाई आफूले प्रशय नदिने दाबी गरे ।