विप्लवको विप्लवी शैलीप्रति नेता-कार्यकर्ता आक्रोशित, हेमन्तप्रकाश र धर्मेन्द्रको कारबाहीले संगठनहरू असन्तुष्ट



काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वैशाख १४ गते विप्लवले पार्टीको अनुशासनविपरीत गतिविधि गरेको भन्दै नेताद्वय हेमन्तप्रकाश ओली र धमेन्द्र बास्तोलालाई विप्लवी शैलीमा कारवाही गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

नेकपाका आधा दर्जन जनवर्गीय संघ, संगठनले हेमन्तप्रकाश र धमेन्द्रमाथिको कारबाही फिर्ता लिन बारम्बार आग्रह गर्दा पनि फिर्ता नलिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले नेताद्वयको कारबाही तत्काल फिर्ता लिन विप्लवलाई दबाब दिँदै आएका छन् ।

क्रमशः पार्टीका प्रदेश, जिल्लाका जनवर्गीय संघ, संगठन र सहिद परिवारहरूले कारवाही फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई विभाजनबाट रोक्न कारबाही फिर्ता लिनुपर्ने अडान राख्दै आएका हुन् । हेमन्तप्रकाश र धर्मेन्द्रलाई कारवाही गरेलगत्तै सहिद परिवारले प्रेस विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका छन् ।

जाजारकोटका सेक्रेटरी प्रेमबहादुर चलाउनेले पनि एक विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका थिए । हेमन्तप्रकाश र धमेन्द्रमाथि गरिएको कारबाही अन्यायपूर्ण ढंगले कारवाही गरिएको भन्दै प्रवासी नेपाली जनमञ्च समाज भारतले समेत कारवाही फिर्ता लिन आग्रह गरेको छ ।

आइतबार अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापाले पनि एक विज्ञप्ती जारी गरी कारवाही फिर्ता लिन आग्रह गरेका छन् । विज्ञप्तिमार्फत पार्टी फुटबाट रोक्न महासचिव विप्लवले कारवाही फिर्ता लिएर संवादका माध्यमबाट समाधान खोज्नुपर्ने सुझाव छ ।

त्यस्तै विप्लवनिकट केही नेताले पनि कारबाही फिर्ता लिनुपर्ने माग राखेका छन् । उनीहरुको कारबाहीले पार्टीलाई फाइदा नहुने बताउँदै आएका छन् । यद्यपि हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले भने विप्लवको कारबाहीको तुक नभएको भन्दै नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्