त्रिवि शिक्षण अस्पतालमा दिवा डायलासिस सेवा शुरू



काठमाडौं  । 

चिकित्सा शास्त्र अध्ययन संस्थान त्रि.वि शिक्षण अस्पतालमा नवनिर्मित दिवा सेवा डायलाइसिस केन्द्रले दिनमा दुई सिफ्ट सेवा दिइरहेको छ ।गत फागुन ११ गते देखि नै डायलासिस सेवा दिन शुरू गरेको उक्त भवनको उद्घाटन भने शुक्रबार गरिएको थियो । उक्त केन्द्रको भौतिक निर्माणमा एनसेल मोबाइल कम्पनी र ८ वटा डायलाइसिस मेसिन खरिद तथा जडानमा मलेसियाको बुद्धिस्ट चु जी राहत सहायता संस्थाले सहयोग गरेको हो ।

चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा दिब्यासिंह शाह, सहयोगी संस्था चुजी राहत सहायता संस्थाका कार्यकारी अधिकृत ट्याङ्केट विङ र एनसेलका रमेश श्रेष्ठले नयाँ डायलासिस भवनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि प्राडा शाहले सन् १९९६ मा जापान सरकारको सहयोगमा शुरू गरिएको डायलासिस सेवा निकै महंगो भएकोले मिर्गौलाका बिरामीलाई डायलासिस गर्न र मिर्गौला प्रत्यारोपण गर्नका लागि सरकारले धेरै हदसम्म सहयोग गर्दै आएको बताउनुभयो । उहाँले त्रि.वि. शिक्षण अस्पतालमा सन् २००८ बाट मिर्गौला प्रत्यारोपणको शुरूवात गरिएको जानकारी पनि दिनुभयो ।

त्रि.वि.शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा यसअघि मनमोहन कार्डियाक थोरासिस सेन्टरबाट दिँदै आएकोमा मिर्गौलाका बिरामीलाई संक्रमणबाट जोगाउनु आवश्यक भएकोले र बिरामीको चाप निकै बढी भएकोले मिर्गौला बिरामीका लागि छुट्टै भवन बनाइएको उद्घाटन कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेशराज काफ्लेले बिरामीलाई सकेसम्म विदेशिनु नपर्ने र महंगो शुल्कमा उपचार गर्नु नपरोस् भन्ने अस्पतालको उद्देश्यमा मलेसियाको संस्था र एनसेलजस्ता सहयोगी दाताहरूले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रम भइरहँदा नयाँ भवनमा १० वर्षका बालकदेखि ६० वर्षका जेष्ठ नागरिकहरूले सेवा लिइरहेका थिए भने दातृ संस्थाहरू चाहिँ बिरामी र बिरामीका आफन्तसँग सेवाका बारेमा जानकारी लिइरहेका थिए ।कार्यक्रममा चुजी राहत सहायता संस्थाका विङले सन् २०१५ मा नेपालमा भूकम्प जाँदा पनि स्वास्थ्य सामग्रीसहित नेपालको त्रिवि शिक्षण अस्पताल लगायतविभिन्न अस्पताललाई मेडिकल उपकरण, औषधिहरू उपलब्ध गराएको र कोभिड महामारीका बेलामा पनि शिक्षण अस्पतालमा आवश्यक पन्जा, पीपीई, औषधिलगायतको सहयोग गरिरहेको अवस्थामा मिर्गौलाका बिरामीका लागि डायलासिस मेसिनको खाँचो देखिएकोले सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले त्रि.वि शिक्षण अस्पतालमा नयाँ मेसिनसमेत गरी हाल १९ वटा डायलासिस मेसिन चालु अवस्थामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्