विषादिरहित भान्सा र जीवन सुरक्षा सम्बन्धी  प्रशिक्षण सुरु



काठमाडौँ। 

सूर्यविनायक नगरपालिका, वडा ७ र संवाहिका समाज नेपालको सहकार्यमा शुक्रवार “विषादिरहित भान्सा र जीवन सुरक्षा सम्बन्धी दुईदिने प्रशिक्षणको आयोजना गरिएको छ ।
प्रशिक्षणको उद्घाटन गर्दै पूर्वमन्त्री महेश बस्नेतले स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले  स्वच्छ र सन्तुलित खाना बनाउन सक्षम बनाउने विश्वास व्यक्त गरे ।

उनले भने,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले सन्तुलित र स्वच्छ  खानाबारे जागरण बढेको छ तर  विषाधिको प्रयोग बढेको, पानी समेत दूषित भएको अवस्थामा विषाधिरहित भान्साबारे प्रशिक्षणले स्थानीय लाभान्वित हुनेछन् । ”

पूर्व मन्त्री बस्नेतले सूर्यविनायकका बासिन्दाले हाल  सडक, बाटोघाटोलगायतको  विकासको अनूभुति गरिरहँदा जीवन सुरक्षासहित रोगबाट बच्न स्वच्छ भान्सा र पोषणयुक्त र विषाधिरहित खाना जीवनशैलीका  लागि पनि वडा, नगरले यस्ता सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै स्वच्छ नागरिक अभियानमा अगाडि बढ्नु निक्कै सह्रानीय कदम चालेको बताए ।

 सूर्यविनायक नगर–७ का अध्यक्ष रविन्द्र सापकोटाले भौतिक विकाससँगै जीवनशैली परिवर्तनका लागि पनि वडाले पहल गरिरहेको बताए ।
उनले स्थानीयको जागरणका लागि केही बजेट छुटट्याएर संवाहिका समाज नेपालसँगको सहकार्यमा स्थानीय महिला समुहलाई लक्ष्यित गरी हाल चुनौतिपूर्ण बन्दै गएको  स्वच्छ भान्साबारे प्रशिक्षणको आयोजना गरेको बताए ।

वडा अध्यक्ष सापकोटाले वडामा मुटु रोग, मिर्गौला र क्यान्सर रोग लागेर सहयोग लिन आउने विरामीका लागि सिफारिस दिदा आफ्नो मुटु नै कटक्क खान्छ भन्दै स्वच्छ खानपान, आहार विहारको कमिले यस्ता रोग बढेको   अनुभूति भएकोले यस प्रशिक्षण सञ्चालन गरिएको र आगामी दिनमा पनि स्थानीयको स्वास्थ्य, जीवनशैली सुधारका कार्यक्रमले निरन्तरता पाउने बताए ।

सो अवसरमा वडा सदस्य सुमन परियारले स्थानीय भौतिक विकाससँगै स्वच्छ र स्वस्थ्य जीवनशैलीका लागि वडाले यस्ता प्रशिक्षण, तालिमलाई निरन्तरता दिने बताए । स्थानीय नेतृ सरिता कुँवरले घरमा भान्सा सम्हाल्ने महिलाले विषाधिरहित खाना र पोषणबारे प्रशिक्षण पाउँदा सिङ्गै परिवार गाउँ, समाज नै स्वच्छ र स्वस्थ्य हुने आशा व्यक्त गरिन  ।

कार्यक्रममा पोषणविद् सुजा मोक्तानले पोषणयुक्त सन्तुलित आहारबारे प्रशिक्षण दिंदै खाना मिलाएर खाना नजान्दा हाल रोग बढिरहेको चर्चा गारिन ।
त्यसैगरी संवाहिका समाज नेपालका सल्लाहकार एवं पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक युवराज पौडेलले मोवाइल, इन्टरनेटलगायतका प्रविधिको सहि उपयोगबारे प्रशिक्षण दिए ।

संवाहिका समाज नेपालका सचिव कविता थापाले  सूर्यविनायक नगर–७ का स्थानीय महिलाका लागि विषाधिरहित भान्सा र  जीवनशैलीबारे प्रशिक्षणका लागि सहकार्य गर्ने अवसर  पाउँदा खुसी लागेको बताइन् ।

संवाहिका समाज नेपालका सदस्य मेनुका कार्कीको संयोजकत्वमा आयोजित यस दुइदिने प्रशिक्षणको दोस्रो दिन काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अनिल बस्नेत र पोषणविद् सुजा मोक्तानले सहभागिलाई प्रशिक्षण दिदैं छन ।

प्रतिक्रिया दिनुहोस्