गर्भावस्थामा अलिअलि वाइन, बियर त खान हुन्छ होला नि ?

714
Shares

‘गर्भवतीले अलिअलि वाइन, बियर खायो भने शिशुको आँखा, छाला राम्रो हुन्छ रे, एक दुई पेग दन्काए हुन्छ नि !’ पार्टी, जमघटहरूमा गर्भवती महिलाहरूलाई यसरी मदिराजन्य पदार्थ पिउन उक्साएको देखिन्छ । तर, के गर्भवतीले वाइन, बियर, हुस्की आदि मदिराजन्य पदार्थ पिउनु लाभदायक हुन्छ त ?

धुलिखेल अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकार भन्नु हुन्छ– ‘यो बिल्कुलै गलत कुरा हो । गर्भावस्थामा वाइन, बियर, हुस्की, भोड्का आदि कुनै पनि किसिमको मदिराजन्य पदार्थको उपभोग गर्नु हानिकारक हुन्छ। गर्भवती आमाले मदिराजन्य वस्तु खाएमा शिशुहरूमा ‘फेटल अल्कोहल सिन्ड्रोम’ देखापर्छ । यस्ता शिशुहरूको टाउको सानो हुने, नाकको डाँडीबीचको खाल्डो पनि अलि तलसम्म हुने, माथिल्लो ओठ पातलो हुने समस्या देखिन्छ । उसको बौद्धिक स्तर कमजोर हुने, सिप सिकाइ र पढाइ पनि एकदमै कमजोर हुनसक्छ ।’


वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकार

चिकित्सकहरूका अनुसार गर्भावस्थामा मदिरा पिउँदा शिशुको कलेजो, साल र रक्त नलीहरूमा प्रत्यक्ष असर पर्छ । रक्तनलीहरू कडा हुन जान्छन्, शिशुमा पोषणको कमी हुन्छ । रक्तनलीहरू कडा हुने भएकाले रक्तचाप अत्यधिक बढ्छ र नियन्त्रणबाहिर पुग्छ । यस्तोमा औषधिको अधिक मात्राले पनि रक्तचाप नियन्त्रण गर्न नसकिने हुन्छ । त्यति मात्र होइन, बच्चा वृद्धि नहुने समस्याका साथै रक्सी धेरै खाने गर्भवती महिलाहरूको बच्चाको एक्कासि मृत्यु भएको पनि पाइएको छ । जातीय हिसाबले गरिएको एक अध्ययनमा परम्परागत रूपमा रक्सी नखाएका तर हाल खान थालेका क्षेत्री बाहुनहरूमा यस्ता समस्या अलि बढी देखिएको पाइएको छ ।

स्त्री रोग विशेषज्ञ डा. ताम्राकारका अनुसार गर्भावस्थामा रक्सी खानेहरूको बच्चा जन्मिँदा शारीरिक तथा मानसिक रूपमा विकलाङ्ग र कमजोर हुने समस्या हुन्छ । बच्चादानीमा पानीको कमी हुन्छ र समय नपुग्दै बच्चा जन्माइनुपर्ने हुन्छ । यस्तो बच्चाको स्वास्थ्य कमजोर हुन्छ र कतिपय अवस्थामा बचाउन पनि कठिन हुन्छ । अर्को महत्वपूर्ण कुरा के छ भने गर्भावस्थामा रक्सी खाने आमाका बच्चाहरूमा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, डायबिटिज, क्यान्सरजस्ता नसर्ने खालका रोगका साथै अरू मुटुका रोगहरू पनि छिटो देखिने गरेको पाइएको छ ।

रक्सी सेवन गर्दा रक्तनलीमा असर गर्ने भएकोले गर्भ तुहिने सम्भावना पनि धेरै नै हुन्छ । रक्सी खाँदा चिल्लो खाद्य वस्तुहरू र कतिपयले धूमपान पनि गर्ने भएकोले यसले आमा र शिशु दुवैलाई नसर्ने रोगको खतरा धेरै नै बढाइदिन्छ । आजकल विशेषगरी सहरी जीवनमा भेटघाटहरू र पार्टीहरू धेरै हुने, खराब चिल्लोमा तारेका हानिकारक खाने कुराहरू खाने क्रम बढेको छ ।

पछिल्लो समयमा तीजमा पनि एक डेढ महिनाअघिदेखि पार्टी प्यालेसहरूमा जमघट गरेर खाने र त्यसमा गर्भवती महिलाहरू पनि रमाइलो गर्ने निहुँमा सामेल हुने प्रचलन बढेको छ । यसरी बारम्बार खराब चिल्लो, रक्सी र कोक, फेन्टाजस्ता सफ्ट ड्रिङ्स सेवन गर्ने गर्दा गर्भवती महिला र उनको गर्भमा रहेको शिशुको स्वास्थ्य खतरामा पर्छ । चिकित्सकहरू गर्भावस्थामा महिलाले कफी, डार्क चकलेटलगायत क्याफिनयुक्त वस्तुहरू पनि नखानु नै उचित हुने बताउँछन् । फर्मालिन हालेर बाहिरबाट ल्याइएका माछा, विषादिको अत्यधिक प्रयोग भएका फलफूल र तरकारीहरू पनि गर्भवती आमा र शिशुका लागि निकै खतरनाक सावित भएका छन् । यसले क्यान्सरलगायत नसर्ने रोगको वृद्धि गर्न निकै सघाएका छन् । यसतर्फ गर्भवती महिलामात्र नभई उनका परिवारले पनि विशेष ध्यान दिन आवश्यक रहेको डा. ताम्राकारको भनाइ छ ।

गर्भवतीले रक्सी पिए के हुन्छ ?
–नजन्मिँदै रक्सीको प्रभावमा परेको बच्चा अरूभन्दा सानो, पुड्को र कुपोषित हुन सक्छ ।
–अनुहार फरक हुनसक्छ, जस्तोः सानो र चिम्सो आँखा हुनसक्छ,
–बच्चा महिना नपुगी जन्मिन सक्छ ।
–शिशुमा निन्द्रासम्बन्धी समस्या हुन सक्छ, पछि दुव्र्यसनमा फस्न सक्छ ।
–शिशु बढी चञ्चले हुने, कम्पनको समस्या हुनसक्छ ।
–खाना खुवाउन समस्या हुनसक्छ र बारम्बार डाइरिया हुनसक्छ ।
–मुटुको धड्कन बढ्ने, खाना नपच्ने, श्वासप्रश्वासमा समस्या हुनसक्छ ।
–शारीरिक र मानसिक विकास ढिलो हुनसक्छ ।
–कुनै कुरामा ध्यान दिन नसक्ने र झगडालु हुनसक्छ ।
–मानसिक स्वास्थ्य खराब हुनसक्छ र पछि अनुपयुक्त यौन व्यवहार गर्नसक्छ ।
–जन्मिँदै मुटु, मिर्गाैला, हाडहरूमा समस्या आउने, दृष्टि र श्रवण क्षमता कमजोर हुनसक्छ ।

यसकारण रक्सी त छोड्नैपर्छ 

गर्भावस्थामा रक्सी खानाले शिशु जन्मेदेखि पछिसम्म उसको जीवनमा असर गर्न सक्छ । यसलाई ‘फ्याटल अल्कोहल स्पेक्ट्रम डिस अर्डर’ पनि भनिन्छ । यसअनुसार सिकाइ र बानी व्यहोरामा नकारात्मक असर गर्न सक्छ । जोर्नीहरू, हाड, मांशपेसी र अरू अंगहरूमा असर गर्न सक्छ । भावनाहरूको व्यवस्थापन गर्न र अरू सिपहरूको विकासमा असर पर्न सक्छ । एकदमै चलिरहने चकचके हुने, आवेग नियन्त्रण गर्न नसक्ने खालको हुनसक्छ । राम्ररी बोल्न वा सञ्चार गर्न नसक्ने हुनसक्छ । गर्भवतीले रक्सीको मात्रा धेरै खाएको छ भने त्यसको असर अझ बढी हुनसक्छ ।

यदि तपाईं गर्भाधानको योजना गर्दै हुनुहुन्छ वा गर्भवती हुनुहुन्छ भने रक्सी खान छोड्नुपर्छ । यसले तपाईंको शिशुलाई स्वास्थ्य समस्या हुनबाट धेरै हदसम्म जोगाउँछ । यस अवस्थामा मदिरा पान गर्नु भनेको शिशुको स्वास्थ्यमा जोखिम पुर्‍याउनु हो र मदिराको मात्रा जति बढ्दै जान्छ जोखिमको मात्रा पनि बढ्दै जान्छ । त्यस्तै, स्वस्थ बच्चा जन्माउनका लागि सुर्तीजन्य वस्तुको उपभोग नगर्नु ज्यादै बुद्धिमानी हुन्छ ।

गर्भधारणको योजना गरेका वा गर्भवती भएका महिलाहरूले दृढताका साथ रक्सी छोड्नैपर्छ र स्वस्थ बच्चा जन्माउने योजनामा लाग्नुपर्छ । गर्भवती हुनुअघिसम्म धेरै रक्सी खाने गरिएको भए पनि गर्भवती भएको थाहा पाउनासाथ चटक्कै छोड्नु उचित हुन्छ । गर्भावस्थामा कति मात्रासम्म रक्सी, चुरोट, ई–सिगरेट खान मिल्छ भन्ने हुँदैन, चटक्कै छोड्नु नै बुद्धिमानी हुन्छ । छोड्न साह्रै गाह्रो भए अस्पताल वा चिकित्सकको सहयोग लिन हिचकिचाउनु हुँदैन ।