नेपाली सुरक्षा गार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव


काठमाडौं  ।

मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनु भएको छ ।

शनिबार मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह बिन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
पुत्रजयास्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विषयमा कुराकानी भएको छ ।

मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो ।श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताउनुभएको थियो ।

नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरूबीच छलफल भएको थियो ।नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउने बारे समेत उहाँहरूबीच छलफल भयो । नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवाहरू रहेका छन् ।

पूर्वगोर्खा ब्रिटिस सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुने भएको छ ।भेटवार्तामा कार्यवाहक राजदूत मोतीबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो । यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको थियो ।

बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति पनि भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो ।