अधिकांश पुरानै अनुहार, घरदैलो अभियानमा उम्मेदवार



काभ्रे

उम्मेदवारी दर्ता गरेका १३ वटा पालिकाका २ हजार ७ सय ७३ जना उम्मेदवारमध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईका अनुसार अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाकामा २ सय ६८, बनेपा नगरपालिकामा ३ सय १६, पाँचखाल नगरपालिकामा २ सय ४१, धुलिखेल नगरपालिकामा २ सय ३७, नमोबुद्ध नगरपालिकामा २ सय २८ र मण्डनदेउपुर नगरपालिकामा २ सय ७६ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, भुम्लु गाउँपालिकामा १ सय ९३, चौरीदेराली गाउँपालिकामा १ सय ९३, महाभारत गाउँपालिकामा १ सय २६, खानीखोला गाउँपालिकामा १ सय ११, रोशी गाउँपालिकामा २ सय ३५, तेमाल गाउँपालिकामा २ सय ४ र बेथानचोक गाउँपालिकामा १ सय ४५ जना गरी कुल २ हजार ७ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेले जिल्लाका १३ वटै पालिकामा घरदैलो अभियान स्थानीय कमिटीहरुले तय गरेर शुरु गरेको बताएको छ । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु दोस्रोपटक धुलिखेल नगरपालिकामा प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । उहाँ नेपाल नगरपालिका संघको अध्यक्ष र अन्तर्राष्ट्रिय संघमा पनि अध्यक्ष हुनुहुन्छ । सबै उम्मेदवार घरदैलोमा सहभागी हुनुभएको उपसचिव राजकुमार सापकोटाले जानकारी दिनुभयो ।

नेपालमै नमुना नगरपालिकाका रूपमा चिनिएको धुलिखेललाई अझै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै समृद्ध धुलिखेलका लागि अध्यक्ष ब्याञ्जुलाई पुनः उम्मेदवारी दिने पार्टीले निर्णय गरेको पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको कथन छ । पाँच वर्षको अवधिमा शून्य कार्बन उत्सर्जनको क्षेत्रमा धुलिखेलले विश्वका १५ शहरमा पर्न सफल भएको छ भने गुणस्तरीय खानेपानी, पार्कहरुको शहर, गरिबी न्यूनीकरण भएको शहर, बालमैत्री शहर, स्नातक सम्मको शिक्षा निःशुल्क भएको शहरका रूपमा समेत स्थापित भएको छ ।

दिगो विकासका लागि पूरा गर्नुपर्ने लक्ष्यमध्ये ४ वटा लक्ष्य धुलिखेलले पूरा गरिसकेको छ भने स्वस्थ शहरको अभियान नेपालमै पहिलोपटक शुरु गरेको छ । ‘महत्वपूर्ण योजनाका साथ धुलिखेलको समृद्धतालाई अझै अन्तर्राष्ट्रियकरण गरी नागरिकको आय–आर्जन वृद्धि गर्न थप पहल हुनेछ’, नगर प्रमुख उम्मेदवार अशोक ब्याञ्जुले भन्नुभयो– ‘हिजाको केही क्रमागत योजनाहरुको निरन्तरता र थप नयाँ योजनाहरुले धुलिखेलको समृद्धतालाई अगाडि बढाउने छौं ।’

धुलिखेलमा उपप्रमुख युवा नेता कानुन व्यवसायी लालतारा अधिकारीले प्राप्त गर्नुभएको छ । पनौतीमा भीम न्यौपाने र गीता बञ्जारा पुरानै पदमा दोहोरिनुभएको छ । उहाँहरुलाई पार्टीले क्रमशः प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएको छ । बनेपामा युवा नेता रत्नकुश रञ्जित र कानुन व्यवसायी सामाजिक व्यक्तित्व विमला सापकोटालाई टिकट दिएको छ । यसअघि प्रमुख र उपप्रमुख भएका लक्ष्मीनरसिं बादे र रेखा सापकोटा दाहालले पुनः उम्मेदवार हुने इच्छा राखेनन् ।

पाँचखालमा युवा नेताहरु कञ्चन अधिकारी र सूर्यमाया दनुवारलाई टिकट दिएको छ । दनुवार पत्रकारितामा क्रियाशील हुनुका साथै र सामाजिक अभियान्ता हुन् । पाँचखालमा यसअघि एमालेले झीनो मतले पराजय व्यहोरेको थियो । मण्डनदेउपुर नगरपालिकामा विदुरप्रसाद सापकोटा र सरिता ढकाललाई टिकट दिएको छ । सापकोटा यसअघि २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जैसिथोक गाविसका अध्यक्ष हुन् ।

ढकाल देउपुर क्षेत्रमा राम्रो पकड भएकी नेता हुन् । मण्डन देउपुर नगरपालिकामा एमालेले विजयी हासिल गरेको थियो । नमोबुद्ध नगरपालिकामा एमाले जिल्ला सचिव राजन भुर्तेल प्रमुख र विद्यार्थी नेता सम्झना तामाङले उपप्रमुखको टिकट पाएका छन् ।बेथान्चोक गाउँपालिकामा कानुन व्यवसायी एवं २०५४ सालमा गाविस अध्यक्ष पदका उम्मेदवार कमल तिमल्सिना र सरला लामिछानेलाई अध्यक्ष र उपाध्यक्ष पदको टिकट दिएको छ । रोशी गाउँपालिकामा कानुन व्यवसायी एवं युवा नेता देवसागर लामा र यसअघि उपाध्यक्ष पदमा उम्मेदवार भई झीनो मतले पराजय व्यहोरेकी बबिता बोहोरालाई टिकट दिएको छ । तेमालमा यसअघि पार्टीका जिल्ला सचिव भएका इन्द्र तामाङ र सम्तेन लामालाई टिकट दिएको छ ।

भुम्लुमा जिल्ला समन्वय समितिका प्रवक्तासमेत रहेका व्यवसायी युवा नेता प्रेम लामा र कल्पना श्रेष्ठलाई टिकट दिएको छ । चौरीदेउराली गाउँपालिकामा सामाजिक संस्थाका अन्तर्राष्ट्रियस्तरका नेता जितराम लामा र बबिता खरेललाई टिकट दिएको छ । खानिखोला गाउँपालिकामा शेखर लामा र रुक्मणी गुरुङलाई टिकट दिएको छ । गुरुङ यसअघि गाउँपालिकाको उपाध्यक्ष हुन् । महाभारत गाउँपालिकामा पूर्णबहादुर वाइबा र शान्ति तितुङ मगरलाई टिकट दिएको छ । दुवै जना माओवादीबाट एमालेमा प्रवेश गरेका हुन् । एमाले उपसचिव राजकुमार सापकोटाले युवा, महिला र समावेशी रूपमा उम्मेदवार छनोट गरेको एकताबद्ध भएको बताउनुभयो ।

गठबन्धनमा महिला आउट

नेपाली कांग्रेसले १३ वटामध्ये ७ वटा पालिकामा प्रमुख र ६ वटा पालिकामा दोस्रो तहको नेतृत्व पाएको छ । बनेपा, पनौती, पाँचखाल र नमोबुद्धको प्रमुख कांग्रेसले पाएको छ भने धुलिखेल र मण्डन देउपुर नगरपालिकामा समाजवादीले पाएको छ ।

माओवादीले नगरपालिकामा अवसर पाएन । त्यस्तै, कांग्रेसले बेथान्चोक, रोशी र तेमालमा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ भने माओवादीले भुम्लु, महाभारत, चौरीदेउराली र खानिखोलाका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यसअघि कांग्रेसले ४ वटा, माओवादीले दुईवटा र एमालेले ७ वटा पालिकामा विजय हासिल गरेको थियो । जिल्लामा रहेको समाजवादीले कुनै गाउँ पालिकामा प्रमुख पदको उम्मेदवार बन्ने अवसर प्राप्त गरेन ।

नेपाली कांग्रेसले उठाउँदै आएको समावेशी नारा पानीको फोका जस्तै भएको छ । १३ सिटमा कांग्रेसले कोही महिला उम्मेदवार पाउन सकेन । लोकतन्त्र र समावेशीको नारा घन्काउने नेपाली कांग्रेस र नेकपा समाजवादीले कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा महिलाहरुलाई उम्मेदवारी दर्ता गर्न दिएन ।

माओवादीले भने चौरीमा अध्यक्ष रुकु चौलागाईं र बेथान्चोकमा तारा तिमल्सिनालाई उम्मेदवार बनाए पनि बेथान्चोकमा अध्यक्ष र उपाध्यक्ष पदमा सिफारिस एउटै व्यक्तिलाई गरिएको भन्दै बागी उम्मेदवारी दर्ता गरिएको छ । कतिसम्म भने नेपाली कांग्रेस र नेकपा समाजवादीले बनेपामा दुवै उम्मेदवार पुरुष बनाए । त्यो पनि त्यो पनि एउटै वडाबाट प्रमुख र उपप्रमुख ।

बनेपा–७ बाट एउटै समुदायबाट उम्मेदवार बनाएपछि बजार बाहिरका कांग्रेस र समाजवादीका साथै अन्य समुदायको प्रतिनिधित्व गर्ने कार्यकर्ताहरु रुष्ट भएका छन् । टिकटकै लागि समाजवादीका नेताहरुबीच सडकमै कुटाकुट भएको थियो । पनौतीमा समाजवादीका नेता मीरा पौडेललाई उपप्रमुख पदमा उम्मेदवारी दिने सहमति गरे पनि अन्तिममा छविलाल हुमागाईंलाई टिकट दिने खेल कांग्रेस नेता शिव हुमागाईंले खेलेको आरोप लागेको छ ।पनौतीमा समाजवादी र कांग्रेस दुवै हुमागाईंले चलाइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्