भोट माग्छन्, दिने तरिका सिकाउँदैनन् नेता

0
Shares

हेटौंडा ।

बहुसंख्यक किसान रहेको पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका उम्मेदवारहरु त्यहाँका खेतबारीमै पुगेर मतदातासँग हात जोड्न व्यस्त देखिन्छन् । कोही भने मतदाताको कार्यस्थलमा भुइँमै बसेर चियाको चुस्की लिएर गफिँदै गरेका देखिन्छन् भने कोही अन्य कार्यस्थलमा पुगिरहेका छन् ।

घरदेखि किसानले काम गर्ने खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार पछि परेका छैनन् । उम्मेदवार विशेष गरी आजभोलि खेती शुरु भएलगत्तै खेतमा गएर किसानको काममा सघाउ पु-याउन उम्मेदवार स्वयं लागिपरेका छन् । विभिन्न सभा, जुलुस, घरदैलो त छँदै छ, प्रचारप्रसारमुखी कार्यक्रममार्फत सबैजसो राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदातालाई रिझाउन खेतमै पुगिरहेका हुन् ।

 

निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता, कार्यकर्ता र उम्मेदवार बालिनाली भि-याउन व्यस्त रहेका मतदातालाई भेट्न पाखापखेरा र खलामा हुलका साथ पुगिरहेका छन् । कतिपय उम्मेदवारले मत आफ्नो पक्षमा ल्याउन धान काट्ने, कोदो टिप्नेदेखि हलो जोत्ने कार्यमा समेत सहयोग पु-याउने गरेका उदाहरण छन् ।अघि चिनेको नचिनझैं गर्ने नेता एकाबिहानै विभिन्न साइनो जोडेर एक्कासि ढोका अघिल्तिर हात जोडेर भोट माग्न आएको देख्दा मतदाता फुरुङ्ग पर्ने गरेका दृश्य बाक्लै देखिन थालेको छ । कहिल्यै चिनजान नभएका व्यक्तिले एक्कासि ‘चिन्नुभो, म फलानोको छोरा÷छोरी’ भनी साइनो लगाउँदा कतिपय मतदाता तीनछक पर्ने गरेका छन् ।

मतदाताले खासगरी स्थानविशेष खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी, सडकका मुद्दा अघि सार्दै त्यसको सुनिश्चित गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रतिवद्धता जनाएको भेटिएको छ । दलबीच भएको चुनाबी गठबन्धनले आफूहरुलाई खासै असर नपरेको बताउँदै धरैजसो मतदाताले दलविशेष भन्दा पनि जनहितको पक्षमा काम गर्नेलाई मतदान गर्ने जनाउ दिएका छन् ।

पाँच दलले गठबन्धन गरेर आफूविरुद्ध अभियान चलाएको भन्दै विशेषतः नेकपा एमालेबाट मनहरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार गाउँपालिकाका विभिन्न क्षेत्रमा चुनावी प्रचार–प्रसार एवं घरदैलो कार्यक्रममा दिनहुँ व्यस्त भएका छन् । मनहरीका विभिन्न वडामा घरदैलो गर्ने, किसानका खेतबारिमै पुग्ने, उनीहरुका समस्या र गुनासो सुन्ने र आफ्ना घोषणापत्रबारे जानकारी गराउनेलगायत काममा लागिपरेको मनहरीबाट पुनः अध्यक्ष उम्मेदवार एकराज उप्रेतीले बताउनुभयो ।

पहिलो प्राथमिकतामा घरदैलो कार्यक्रम र टोलसभाहरु गरिँदै आएको छ । मनहरी गाउँपालिका वडा–६, लोथर बजारमा घरदैलो गरेका उम्मेदवारहरु ६ नम्बरकै बाँकी ठाउँमा पुग्नुभएको हो । मनहरी गाउँपालिकामा एमाले अध्यक्ष उम्मेदवार उप्रेती र उपाध्यक्ष उम्मेदवार सुजिता थिङ, पार्टी गाउँपालिका कमिटी अध्यक्ष नवीन सुवेदी, वडाका उम्मेदवारसहित टोली मनहरीका विभिन्न क्षेत्रमा मतदातासँग भेटमा व्यस्त छ ।

भोट मागे, हाल्न सिकाएनन्

भोट आफ्नै पार्टीमा तान्न सबैले घर–घरमा झण्डा टाँगे पनि मतपत्रमा छाप हान्ने तरिका भने कसैले सिकाएका छैनन् । ‘सबैले हामीलाई भोट दिनु भन्छन्’, मनहरीकी एक मतदाताले भनिन्–‘कसरी, कति ठाउँमा छाप हान्ने, मतपत्रको आकार, चुनाव चिह्नबारे कसैले सिकाउँदैनन् ।उहाँ नजिकको टहरामा पनि ३ पार्टीका झण्डा छन् । व्यवसाय सञ्चालक उहाँलाई पनि सबैले आफ्नै पार्टीका ठानेर झण्डा राखिदिएका हुन् ।

‘म व्यवसाय गर्ने मान्छे, सबै आएर झण्डा राखौं भनेपछि कसरी नाइँभन्नु ?’, उहाँले भन्नुभयो– ‘धेरै पार्टीका मान्छे हुलका हुल आउन थालेका छन् । भोट दिने त मतदाताले हो ।’ आएजति सबैले ‘हाम्रो पार्टीलाई भोट दिनुहोला’ भन्ने गरे पनि नेता र कार्यकर्ताले मतदातालाई मतदान गर्ने, मतपत्र पट्याएर मतपेटिकामा राख्ने, स्वस्तिक छापको प्रयोगलगायत तरिका भने जानकारी गराएका छैनन् । त्यहाँ भूकम्पले चर्किएका घरमा पनि कांग्रेस र एमालेका झण्डा फहराइएका छन् ।

थिङ कान्छी उम्मेदवार

एमालेले मनहरी गाउँपालिका उपाध्यक्षमा युवा उम्मेदवारका रूपमा थिङलाई अघि सारेको छ । २५ वर्षीया उहाँ एमालेबाट सबैभन्दा कान्छी उम्मेदवार रहेको दाबी गरिएको छ ।थिङ अनेरास्ववियु जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । उहाँले यसअघि राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको संघीय नमुना युवा संसद् स्थापना तथा अभ्यास कार्यक्रममा सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो । उपाध्यक्ष निर्वाचित भए गाउँको बेरोजगारी समस्या समाधान गर्ने प्राथमिकताको योजना रहने थिङले बताउनुभयो ।

मनहरी–६ को घुल्चोक, खयरघारी, जोगीताल, चौकीटोल, बगर टोल क्षेत्रका सबैको घरमा पुगी उम्मेदवारहरुले मत अपिल गर्नुभएको छ । सबै उम्मेदवारसहित टोलीले घरदैलो गरेको थियो । अध्यक्ष उम्मेदवार उप्रेतीले मतदातासँगको भेटमा जनताका आवश्यकता र भावनाअनुरूप नै आफूले काम गर्ने बताउनुभयो । घरदैलो अभियानमा जनताका सुझावसमेत संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

१८ बुँदे प्रतिबद्धतापत्र

मकवानपुरको मनहरी गाउँपालिका–२ का अध्यक्ष उम्मेदवार प्रेमबहादुर गोङ्बाले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका गोङ्बाले शनिबार प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

जारी प्रतिबद्धतापत्रमा उहाँले सरकारी तलबभत्ता नलिने तथा उक्त रकम सामाजिक क्षेत्रमा लगानी गर्ने, वडाका सबै विद्यालयमा शैक्षिक सुधार गर्दै अंग्रेजी माध्यमबाट अध्ययापन गर्ने, निःशुल्क शिक्षा व्यवस्था, स्वास्थ्य बीमा अनिवार्य र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने बताउनुभएको छ ।‘एक घर, एक प्लास्टिक टनेल’ निर्माण गर्ने, खेतीयोग्य जमिनमा डिप बोरिङ, लिफ्ट सिँचाइको व्यवस्था गरी कृषि तथा पशुपक्षी व्यवसायमा जोड दिई व्यक्तिगत आयस्रोत बढाउने, मल, बीउबिजन सहजरूपमा उपलब्ध गराउन पहल गर्ने जारी पत्रमा उल्लेख छ ।

उहाँले वडाबासीको आर्थिकस्तर वृद्धिका लागि विभिन्न प्रकारका व्यावसायिक तालिमा, सुत्केरीलाई भत्ताबापत सरकारले दिने २ हजार ५ सय रुपियाँ घरमै गएर उपलब्ध गराउने, विद्युत् भोल्टेज सुधार गर्दै काठको पोल विस्थापित गरी थ्रीफेज लाइन विस्तार गर्ने, साना तथा मझौला उद्योग स्थापन गर्न प्रोत्साहन गरी रोजगारी सिर्जना, आफ्नो कार्यकालमा खरकोे छाना भएका घर–परिवारलाई जस्ता वितरण गरी खरको छानामुक्त वडा घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।