अपरेसनमा ‘पर्दापछाडिको हिरो’


लक्ष्मण अधिकारी

‘तपाईँको अपरेसन कसले गर्दै छ ?’ ‘फलानो सर्जनले ।’ प्रायः दिइने जवाफ यही नै हो । तर सर्जनले कैँची चलाउनुअघि, कैँची चलाइरहँदा र अपरेसन सम्पन्न गरेपछि पनि महत्वपूर्ण जिम्मेवारी भएको अर्को चित्सिकलाई भने बिरामी र आफन्तहरुले प्रायः चिनेकै हुँदैनन् ।जसरी कुनै फिल्मको ‘हिरो को हो ?’ भनेर सोधिन्छ तर पर्दापछाडि बसी शुरुदेखि अन्त्यसम्म समग्र जिम्मेवारी लिएर फिल्मलाई पूर्णता दिने निर्देशकबारे प्रायः चासो दिइँदैन, त्यसै गरी अपरेसनको लागि महत्वपूर्ण एवं जोखिमपूर्ण जिम्मेवारी लिएको एनेस्थेसिओलोजिस्टबारे प्रायः मानिस अनभिज्ञ नै हुन्छन् ।

अपरेसनका लागि बिरामीको बायोकेमिकल, फिजियोलोजी लगायत सम्पूर्ण जानकारी लिएर बिरामीलाई बेहोस गर्ने, रक्तचाप, सुगरलगायत शरीरका सम्पूर्ण प्रणालीलाई सन्तुलित राख्दै अपरेसनपछि बिरामीलाई होसमा ल्याएर जीवन बचाउने अति महत्वपूर्ण जिम्मेवारी एनेस्थेसिओलोजिस्टको हुन्छ । तर पनि उनीहरुको भूमिकाबारे अधिकांश मानिसहरु जानकार हुँदैनन्, अपरेसनमा ‘पर्दापछाडिको हिरो’ सधैँ छायामा परिरहेको हुन्छ ।

अपरेसनमा एनेस्थेसिया ‘किन महत्वपूर्ण र चुनौतीपूर्ण छ, कसरी काम हुन्छ ? आदि विषयमा ह्याम्स अस्पतालका एनेस्थेसिओलोजिस्टहरु डा. मुरारिराज उप्रेती र डा. सुरज लामिछानेसँग संयुक्त कुराकानी गरी यो महत्वपूर्ण लेख तयार गरिएको छ ।डा. मुरारिराज उप्रेती कार्डियाक एनेस्थेसियामा फेलोसिप (पिजीपछि एकबर्से तालिम) गर्ने पहिलो एनेस्थेसिओलोजिस्ट हुनुहुन्छ ।

उहाँले त्रिवि शिक्षण अस्पतालबाट एनेस्थेसियामा पिजी गरेपछि प्रसूति, वीर, गंगालाल, ग्रान्डी अस्पतालमा लामो समय काम गरिसक्नुभएको छ । डा. उप्रेतीले अटवा हार्ट इन्स्टिच्युट, क्यानडामा फेलोसिप गर्नुभएको हो । यस्तै गरी डा. सुरज लामिछानेले धरानबाट एनेस्थेसियामा पिजी गरी नेपाल प्रहरी अस्पताल, मनमोहन अस्पताल र ग्रान्डी अस्पतालमा केही वर्ष काम गरिसक्नुभएको छ ।

होसमा ल्याउनुचाहिँ ठूलो

डा. मुरारिराज उप्रेती भन्नुहुन्छ, ‘बिरामीसँग हाम्रो सम्पर्क फिजिसियनको जस्तो दैनिक नहुने भए तापनि बिरामीको स्थितिबारे सबै जानकारी नलिईकन बिरामीलाई बेहोस गर्न सकिँदैन, र गर्नु पनि हुँदैन । किनभने बिरामीलाई बेहोस गर्न नभई होसमा ल्याउनका लागि एनेस्थेसियाको डाक्टर चाहिने हो । बेहोस त जसले पनि गर्न सक्छ, होसमा ल्याउनु, जीवन बचाउनुचाहिँ ठूलो कुरा हो ।’डा. सुरज लामिछाने भन्नुहुन्छ, ‘हामीले काम शुरु नगरी सर्जनहरुको काम नै अगाडि बढ्दैन ।

अधिकांश मानिसले एनेस्थेसिया बुझेकै छैनन् र मतलब पनि गर्दैनन् । तर जसले बुझेको छ उसले एनेस्थेसियामा को छ ? भनेर सोधिखोजी गर्छन् । सर्जनहरुले यसको महत्व बुझ्ने भएकाले उनीहरुले महत्व दिन्छन् । हाम्रो स्वास्थ्य प्रणालीमा पनि एनेस्थेसियालाई प्राथमिकतामा राखेको देखिन्न ।’‘कतिपय विकसित देशमा एनेस्थेसिया एकदमै प्राथमिकतामा राखेको हुन्छ । जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले प्रायः आफ्नै नागरिकलाई मात्र एनेस्थेसिया पढाएर काममा लगाउँछन् । नेपालमा भने यस किसिमको अवधारणा विकास भइसकेको छैन ।’

किन गम्भीर छ एनेस्थेसिया ?

‘उपचार गर्ने प्रक्रिया प्रायः सबै गम्भीर नै हुन्छन् तर एनेस्थेसियामा चाहिँ केही क्षण पर्खौँ भन्न पाइँदैन, तत्काल गरिहाल्नुपर्छ । जस्तो– कसैलाई प्रसूतिका लागि सिजरिन सेक्सन गर्नुपर्ने अवस्थामा पेटको बच्चा कम चलेको छ, बच्चाको मुटु कम चलेको छ भने तुरुन्तै एनेस्थेसिया दिनुपर्ने हुन्छ ।

बिरामीको सामान्य सोधपुछबाहेक हिस्ट्री अध्ययन गर्न पनि पाइँदैन । त्यस्तै इमर्जेन्सी भयो, सडक दुर्घटनामा घाइते भएर आयो, रगत ह्वाल्ह्वाल्ती बगिरहेको छ र रगत थामिएको छैन भने त्यस बेला एनेस्थेसिओलोजिस्टको सबैभन्दा ठूलो भूमिका हुन्छ ।त्यस अवस्थामा एनेस्थेसिओलोजिस्टले राम्रोसँग मेनेज गर्न सक्यो भने घाइतेको ज्यान बच्छ ।

त्यसैले एनेस्थेसिया जति एड्भान्स भयो, त्यति नै क्रिटिकल सर्जरीहरु एड्भान्स भएका छन् । सर्जरीमा सर्जनहरुको पनि उत्तिकै भूमिका हुन्छ । सर्जन र एनेस्थेसिओलोजिस्टको सम्बन्ध नङ र मासुजस्तै अन्योन्याश्रित हुन्छ’, डा. मुरारिराज उप्रेती भन्नुहुन्छ ।डा. सुरज लामिछाने भन्नुहुन्छ, ‘एनेस्थेसिया दिने क्रममा कहिलेकाहीँ भेन्टिलेटरमा राख्नुपर्ने इमर्जेन्सी केसहरु पनि हुन्छन्, जुन निकै गम्भीर हुन्छ । त्यति बेला हामीले केही सेकेन्डमै निर्णय गर्न सकिएन भने बिरामीको मृत्यु हुनसक्छ ।

दुर्घटनामा परी गम्भीर चोटपटक लागेर रगत बगाउँदै आएका बिरामीको कतिपय अवस्थामा प्रेसरसमेत देखिँदैन । प्रेसर बढाउने औषधि दिनुपर्ने हुन्छ । यो औषधिले ह्वात्तै प्रेसर बढेर समस्या आउन सक्ने भएकाले त्यसमा पनि ध्यान दिनुपर्छ । त्यसको लागि एकदमै छिटो प्रेसर जाँच गर्न सक्ने व्यवस्था हुनुपर्छ ।

सामान्यतया पे्रसर जाँच्न एक मिनेटजति लाग्ने भए पनि त्यस्तो बेला एक–एक सेकेन्डको प्रेसर हेर्न सकिने गरी डिभाइस राखेर मोनिटरमा हेर्ने व्यवस्था गरिएको हुन्छ ।’‘अपरेसन गर्दागर्दै मुटुको चाल गडबड हुने, प्रेसर एकदमै कम भएर प्रेसरको औषधि बढाउनुपर्ने अवस्था त धेरै भइरहेको हुन्छ । प्रेसर चाहिनेभन्दा घट्न पनि दिनुभएन । दुखाइ पनि हुन भएन । मुटुको चाल पनि ठीक अवस्थामा राख्नुप-यो । शरीरलाई ठीक अवस्थामा सञ्चालन गर्ने गम्भीर कार्य एनेस्थेसियाले गर्छन् ।

तस्बिर:अनिल आङदेम्बे

’डा. मुरारिराज उप्रेती भन्नुहुन्छ, ‘मुटु कमजोर भएर २५–३० प्रतिशतभन्दा बढी रगत फ्याँक्न सक्दैन भने त्यस्तो बिरामीलाई होसमा ल्याउन निकै गाह्रो हुन्छ । त्यस्ता बिरामी पनि निकै गम्भीर खालका हुन्छन् ।

मुटु कमजोर हुँदा शरीरका अरु अंगहरु जस्तो– फोक्सो, मिर्गौला, कलेजो, मस्तिष्क पनि कमजोर हुन्छ । यी सबैलाई मिलाएर काम गर्नुपर्छ । यस्तो बिरामीको मुटुको अपरेसन गर्न त सजिलो हुन्छ तर अरु अंगहरुको गर्नुपर्दा झन् गाह्रो हुन्छ ।

यस्ता केसहरु पनि म नहडबडाइ खुरुखुरु गर्छु ।मैले गंगालालमा बिहानदेखि रातिसम्म खटेर दुःख व्यहोर्दै १४ वर्ष काम गरेको थिएँ, त्यसको प्रतिफल हो यो भन्ने लाग्छ । बिहान ५ बजे बिरामीलाई लिएर ओटीभित्र छिरेपछि घरबाट ल्याएको दालभात खाएर राति ११-१२ बजेसम्म काम गरेको थिएँ ।

त्यस बेला म राति साढे ९ बजेअघि त कहिल्यै घर फर्किन पाएको थिइन । दुःखहरु धेरै भए पनि मृत्युको मुखमा पुगेका गम्भीर खालका बिरामीलाई पनि बेहोस गराई होसमा ल्याएर जीवन बचाउन सक्दा आफैँलाई गर्व लाग्छ । मैले पढ्दा पनि राम्रै विषय छानेँ भन्ने लाग्छ, किनकि यो पेसामा मैले पूर्ण सन्तुष्टी पाएको छु ।’

एनेस्थेसिया कति सुरक्षित ?

एनेस्थेसिया दिने डाक्टर तालिप्राप्त विशेषज्ञ हुन्छन् । एनेस्थेसिया दिएपछि बिरामीको शरीरका महत्वपूर्ण कार्यहरुको मोनिटर गर्छन् र सास फेर्नका लागि व्यवस्थापन गर्छन् । अधिकांश मानिसका लागि एनेस्थेसिया धेरै सुरक्षित हुन्छ, खासै गम्भीर समस्या हुँदैन । तर पनि कहिलेकाहीँ समस्या आउने गर्छन् ।

वृद्धावस्था वा गम्भीर स्वास्थ्य अवस्था, अपरेसनको व्यापकता (extensive procedures) ले जोखिम बढाउन सक्छ । निमोनिया, स्ट्रोक (आघात) र हृदयघातको अवस्थामा जोखिम बढ्न सक्छ । त्यस्तै गरी बिरामीको धूमपान, मद्यपान गर्ने लत, मोटोपना, सुतेको बेला धेरै घुर्ने समस्या, उच्च रक्तचाप, डायबिटिज, मुटु, फोक्सो, मिर्गौलालगायतका अंगहरुको स्वास्थ्य अवस्था, खाइरहेका औषधिहरु (जस्तो– एस्प्रिनले रक्तश्राव बढाउँछ), औषधिको एलर्जी, एनेस्थेसियाले एलर्जी हुने अवस्थाले सर्जरीमा जोखिम ल्याउन सक्छन् ।

त्यसैले अपरेसनअघि एनेस्थेसिओलोजिस्टलाई यस्ता कुरा नलुकाई भनिदिँदा र एनेस्थेसिओलोजिस्टले दिएको सुझाव पूरै अपनाउने गर्दा अपरेसनमा जोखिमको स्थिति प्रायः शून्यमै झर्छ भन्छन् एनेस्थेसिओलोजिस्टहरु ।डा. उप्रेती भन्नुहुन्छ, ‘एनेस्थेसिया भनेको ज्यादै क्रिटिकल कार्य हो, बिरामीको अपरेसनका लागि नभइहुँदैन ।

एनेस्थेसियाको विकासले नै ठूला–ठूला अपरेसन गर्न सकिने भएको हो । एनेस्थेसियाले मानिसको जीवन रक्षा गर्छ । आजभोलि एनेस्थेसिया एकदमै सेफ छ, तर बिरामीले एनेस्थेसिओलोजिस्टले भनेअनुसार गर्नुपर्छ ।’‘एनेस्थेसिया दिनु अघिल्लो दिन बिरामीलाई प्री–एनेस्थेसिया रुममा राखेर हामी जाँच गर्छौं ।

बिरामीका सबै कुरा बुझ्ने र सुझाव दिने काम गरिन्छ । तर कतिपय बिरामीहरु ‘यो डाक्टर भन्छ नि’ भनेर दिइएको सुझाव नमान्ने पनि हुन्छन् । ‘छ घण्टाअघिदेखि केही नखानु है’ भनेका हुन्छौँ, पानी त भइहाल्छ नि भनी पिएर आइदिन्छन् ।

पेटमा पानी वा खाना भएका बेला बेहोस गराउँदा त्यो पानी फोक्सोमा गयो भने बिरामीको ज्यान पनि जान सक्छ ।

प्रेसर, सुगर आदिका औषधि नखाऊ वा यो–यो औषधि मात्र खाऊ भनिएको हुन्छ । तर कतिपय बिरामीले खाइदिन्छन् । मानिस ४-५ घण्टा खालि पेट बस्दा त्यसै पनि सुगर कम भएको हुन्छ । त्यसमा सुगरको औषधि खाइदियो भने त झन् सुगर लेवल कम हुन्छ र बिरामीलाई गाह्रो हुन्छ ।’

‘मदिराको लत भएको मानिसचाहिँ अपरेसनपछि अलि हिंश्रक हुने, मुक्काबाजी गर्ने, जथाभावी बोल्ने हुन सक्छन् । त्यस्तो भयो भने केही समय निगरानीमा राख्नुपर्छ, पछि बिस्तारै ठीक हुँदै जान्छ । एन्टिडिप्रेसनको औषधि खाइरहेको मानिसले औषधि छोडेको रहेछ भनेचाहिँ बिरामी डिप्रेसनमा गएर अलि गाह्रो हुन्छ ।

हामीले सामान्यतया एन्टिडिप्रेसन औषधि छोड्न लगाउँदैनौँ ।’‘अहिले हामी जुन भागमा अपरेसन गर्ने हो (जस्तो– हात, खुट्टा) त्यति मात्र बेहोस गराउँछौँ । कतिपय अस्पतालमा चार दिन बस्नुपर्छ भनेका बिरामी हामी चार घण्टामा नै घर पठाउन सक्ने भएका छौँ । यो ठूलो उपलब्धि हो’, डा. उप्रेतीले भन्नुभयो ।

एनेस्थेसिया किन र कस्तो ?

मूलतः अपरेसनका बेला दुखाइ कम गर्ने प्रयोजनका लागि बिरामीलाई एनेस्थेसिया दिइन्छ अर्थात् बिरामीलाई बेहोस गरिन्छ । यसबाहेक चिकित्सकीय अरु उपचारमा पनि एनेस्थेसियाको प्रयोग गरिन्छ ।

बिरामीलाई बेहोस पारेपछि सुतेको जस्तै हुन्छ । अपरेसन गर्दा दुखाइ अनुभव हुँदैन । एनेस्थेसिया धेरैजसो सिरिन्जले नसामा दिने खालको हुन्छ ।साथै सुँघ्ने ग्यास स्वरुपमा पनि हुन्छ । डा. लामिछाने भन्नुहुन्छ, ‘एनेस्थेसिया ३ प्रकारको हुन्छ– लोकल, रिजनल र जनरल एनेस्थेसिया । शरीरको थोरै मात्र भाग लठ्याउनुपर्दा लोकल र हात, खुट्टाजस्ता एउटा अंगमा मात्र बेहोस गराउन रिजनल एनेस्थेसिया दिइन्छ ।

अर्थोपेडिकमा त हामीले पूरै बेहोस गर्न छोडिसक्यौँ । कतिपय अपरेसनमा त एउटा नसा मात्र लठ्याएर पनि गर्छौँ हामी । थोरै भागमा मात्र लठ्याउने औषधि दिइएपछि साइड इफेक्टको सम्भावना न्यून हुन्छ ।’‘जनरल एनेस्थेसियामा पूरा बेहोस गराइन्छ । धेरैजसो जनरल एनेस्थेसियामा बिरामीलाई पूरै बेहोस गराएर मेसिनबाट सास फेराइन्छ ।

भेन्टिलेटरमा राखेर अक्सिजन, प्रेसर, मुटुको चाल सबै सिस्टम कन्ट्रोल गरेर अपरेसन गरिन्छ । कसै–कसैलाई चाहिँ पूरा बेहोस गराए पनि बिरामी आफैँले सास फेर्न सक्ने गरिएको हुन्छ ।’‘एनेस्थेसियामा अलि–अलि लठ्याउने खालका औषधि पनि हुन्छन् । सुई र सुँघाउनेबाहेक खाने औषधि पनि छन् ।

विदेशतिर बच्चाहरुलाई लली पप चुसाएर पनि लठ्याइन्छ । एनेस्थेसियामा लेटेस्ट विधिहरुलाई हामीले प्रयोग गरिरहेका छौँ । यी विधिहरु नेपालका केही ठूला अस्पतालमा बाहेक अरु अस्पतालमा उपलब्ध छैनन् । बेहोस गराउने कार्य औषधिको कुरा मात्र नभई एनेस्थेसिओलोजिस्टको स्किलमा पनि भर पर्छ’, डा लामिछानेले भन्नुभयो ।

डा. उप्रेती भन्नुहुन्छ, ‘बेहोस गराउने औषधि अपरेसनका बेला मात्र नभई अहिले कतिपय सचेत वर्गले इन्डोस्कोपी, कोलोनोस्कोपी गर्दा पनि सहजताका लागि माग्ने गर्छन् । बच्चाहरुको एमआरआई गर्दा बच्चा नचलोस् भनेर केही क्षण सुताउनका लागि हल्कारुपमा एनेस्थेसिया दिनुपर्ने हुन्छ ।

एनेस्थेसिया इन साइड ओटी र नन अपरेटिभ रुम एनेस्थेसियाका रुपमा आउटसाइड ओटी पनि दिइन्छ ।’‘बेहोस गराउने औषधिको मात्रा उमेर उस्तै छ भनेर बराबर दिइँदैन । कोही ६० वर्षमै बुढ्यौलीले कमजोर, एकछिन् हिँड्दा पनि स्वाँ–स्वाँ हुने हुन्छ भने कोही ८० वर्षसम्म सबै काममा सक्रिय भइरहेका हुन्छन् ।

त्यसैले तौल, लिंग, अन्य रोग, शारीरिक अवस्था आदिका आधारमा मात्रा फरक हुन्छ ।’डा. लामिछाने भन्नुहुन्छ, ‘हरेक व्यक्तिको शरीरको अवस्था, प्रतिक्रिया दिने विशेषता फरक हुन्छ । एकै किसिमको घटनामा सबैलाई बराबरी दुख्ने, बराबरी खुशी हुने हुँदैन । त्यसैले हरेकलाई औषधिको डोज फरक हुन्छ । मुटुको चाल फरक हुँदा डोज पनि फरक हुन्छ । रक्सी र लागूपदार्थ खानेलाई बढी डोज लाग्न सक्छ ।’

बिरामीका भ्रम र चेतना

तस्बिर:अनिल आङदेम्बे

एनेस्थेसिया जतिसुकै गम्भीर विषय भए पनि कतिपय बिरामीले थुप्रै भ्रम पालेका हुन्छन् र चिकित्सकको सुझावलाई नमान्ने पनि गर्छन्, जसले गर्दा अनावश्यक समस्या सिर्जना हुन्छ । डा. सुरज लामिछाने भन्नुहुन्छ, ‘ढाडमा सुई लगाएको डेढ–दुई वर्षपछि पनि जे कारणले ढाड दुखे पनि ढाडमा दिइएको बेहोस गराउने सुईको कारणले दुख्यो भन्दै भ्रम लिएर आउने थुप्रै हुन्छन् । तर अनुसन्धानबाट यसलाई पुष्टि गर्ने प्रमाण पाइएको छैन ।

यस्तै बेहोस भएपछि उठ्दिन कि भन्ने भ्रम धेरैलाई हुन्छ । एनेस्थेसियामा धेरै विकास भइसकेको छ । कुनै जोखिम भए पहिले नै भन्छौँ तर हुँदैन ।कतिपय बिरामीलाई रिजनल, लोकल एनेस्थेसिया दिएर बिरामी र डाक्टर कुरा गर्दै अपरेसन गर्न सकिन्छ ।

तर पूरा बेहोस नहुँदा बेहोस पार्ने औषधि किन नदिएको होला भनेर सोचिरहेका हुन्छन्, धेरैले सोध्छन् पनि । धेरै बिरामीलाई चाहिँ सर्जनले नै एनेस्थेसिया दिन्छन् भन्ने भ्रम पनि छ । यसमा रिसर्च गर्दा पनि यस्तै खालको रिपोर्ट आएको थियो । सर्जरीमा सबै काम सर्जनले नै गर्छ भन्ने भ्रम छ ।

एकपटक काठमाडौंबाहिरबाट एकजना परिचित ८० वर्षीय बिरामीले अपरेसनका लागि मसँग सोधपुछ गर्नुभयो । अपरेसनको केस सानो भए पनि उहाँमा धेरै किसिमको स्वास्थ्य समस्या रहेछ । रिस्क हुन्छ भनेर त्यहाँको अस्पतालमा अपरेसन गरिदिएनछन् । ती बिरामीले काठमाडौं आएपछि मलाई ‘कुन सर्जनसँग अपरेसन गरौँ ?’

भनेर सोध्नुभयो ।मैले सोधेँ, ‘तपाईँको अपरेसन त्यहाँ किन भएन ? बेहोस गराउन नमानेर कि अपरेसन गर्ने डाक्टरले नमानेर ?’उहाँले भन्नुभयो, ‘बेहोस गराउन मानेनन्, रिस्क छ भने ।’त्यसो भए तपाईंले बेहोस गराउने डाक्टर खोज्नुप-यो, किन अपरेसन गर्ने डाक्टर खोजेको ? भनेँ ।

वास्तवमा त्यहाँ बिरामीको उमेर र रोगको कारण एनेस्थेसिओलोजिस्टले रिस्क लिन नचाहेर काठमाडौं पठाएको हुँदा उहाँले एनेस्थेसिया दिने डाक्टर खोज्नुपर्ने हो । तर यसबारे चेतना नभएर उहाँ सर्जनलाई नै खोजिरहनुभएको थियो । कम उमेरको र बढी उमेरको बिरामीमा अलि जोखिमचाहिँ हुन्छ ।

तर हामीले तीन घण्टाको बच्चादेखि एक सय वर्षसम्मको लाई सफलताका साथ अपरेसन गराएका छौँ । मासिक २ देखि ३ सयसम्म केस गरिरहेका छौँ, समस्या आएको छैन ।केही बिरामीहरुले एनेस्थेसियाबारे बुझेका पनि छन् । यस्ता बिरामीले ‘एनेस्थेसिओलोजिस्ट को छ ?’ भनेर सोध्ने, एनेस्थेसिओलोजिस्टले मेरो रिपोर्ट हेर्नुभएको छैन, नहेरी अपरेसन गर्दिन भन्नेहरु पनि हुन्छन्’, डा लामिछानेले भन्नुभयो ।

बिरामीले ध्यान दिने कुरा

डा. लामिछाने भन्नुहुन्छ, ‘आफ्नो जीवनशैली तथा खाइरहेका औषधिहरु, मादक पदार्थ, लागू पदार्थ खाने गरेको भए सो एनेस्थेसिओलोजिस्टलाई सबै भन्नुपर्छ, लुकाउनुहुँदैन । दैनिक मदिरा सेवन गर्ने, लागू पदार्थ खानेलाई त्यही अनुसार औषधि मिलाउनुपर्ने हुन्छ । नेल पोलिस, लिपस्टिक पनि अपरेसनका बेला नलगाई आउनु भनिएको हुन्छ । किनकि नङ, ओठबाट पनि रगतको स्थिति, अक्सिजनको लेवल थाहा हुन्छ ।

यो सबै मेसिनले पनि देखाउँछ तर कहिलेकाहीँ बिरामीका ती अंगहरु हेरेर पनि क्रस चेक गर्नुपर्ने हुन्छ ।अपरेसनको दुई घण्टा अघिसम्म पानी खान मिल्छ । चिल्लो नभएको ठोस खाना ६ घण्टाअघिसम्म र चिल्लो भएको खाना ८ घण्टाअघिसम्म खान सकिन्छ । एनेस्थेसिओलोजिस्टले अपरेसनको अघिल्लो दिनको प्री–चेकअपमा सम्पूर्ण जाँच गरेर यी सुझावहरु दिने र बिरामीलाई आत्मबल बढाउने काम गरिन्छ । यसमा बिरामीले राम्ररी ध्यान दिएर अवलम्बन गर्नुपर्छ ।’

एनेस्थेसियाको विकास

आधुनिक चिकित्सा विज्ञान एनेस्थेसियाविना असम्भवजस्तै हुन्छ । बेबिलोन, ग्रीक, चीन आदि स्थानमा प्राचीनकालदेखि नै एनेस्थेसियाको कुनै न कुनै स्वरुपमा प्रयोग भएको उल्लेख छ । युरोपमा सन् १२०० तिरबाट एनेस्थेसियाको प्रयोग शुरु भएको पाइन्छ ।

त्यस बेला अफिमलगायत विभिन्न बोटबिरुवाबाट प्राप्त विभिन्न तत्वको मिश्रणबाट बनाइएको औषधि अपरेसनका कारण हुने दुखाइ कम गर्न प्रयोग गरिएको थियो । तर यी औषधिले बिरामीलाई सर्जिकल दुखाइबाट पूर्ण मुक्त गर्न नसकेपछि थप अनुसन्धान भइरह्यो ।

पहिलोपटक बोस्टनको मास्साचुसेट्ट जनरल हस्पिटलमा दन्तरोग विशेषज्ञ विलियत टी जी मोर्टन र सर्जन जोन वार्रेले अक्टोबर १६, १८४६ मा आधुनिक एनेस्थेसियाका रुपमा इथर प्रयोग गरी समूहमा प्रदर्शन गरेका थिए । त्यसपछि यसमा विकास हुँदै अहिलेको अवस्थामा आइपुगेको हो ।‘एनेस्थेसियाको प्रविधिगत विकाससँगै सर्जनको कार्यक्षमता पनि वृद्धि भएकाले अपरेसन छिटो गर्न सकिने भएको छ ।

मैले काम शुरु गर्दा (सन् २००० तिर) गंगालाल वा शिक्षण अस्पतालमा एउटा पीडीए र एउटा एएसडी (मुटुसम्बन्धी) केस राख्यो भने दिनभरि नै लाग्थ्यो भने अहिले तिनै सर्जनले पीडीए (जन्मजात मुटुमा आएको विनाकामको नली बाँध्ने) ४५ मिनेटमा र एएसडी (जन्मजात प्वाल परेको मुटु टाल्ने) २ घण्टामा गरिसक्छन् ।

मतलब आज सर्जनहरुको कार्यक्षमता निकै बढेको छ’, वरिष्ठ एनेस्थेसिओलोजिस्ट डा. मुरारिराज उप्रेती भन्नुहुन्छ ।जे होस्, एनेस्थेसिओलोजी गम्भीर तथा चुनौतीपूर्ण र ज्यादै दुःख हुने तर आम मानिसको आँखाबाट छायामा परेको विषय भए पनि यसको महत्व र जनचेतनामा विकास भइरहेको छ।

एनेस्थेसिया सीधै बिरामीको जीवन–मरणसँग जोडिएकोले यो विषय र यसमा काम गर्ने पर्दापछाडिका हिरो एनेस्थेसिओलोजिस्टहरुको महत्व र गरिमा वृद्धि भइरहेको छ । यसलाई राज्य र आम नागरिकले पनि प्राथमिकता दिँदै जाने अपेक्षा गर्न सकिन्छ ।