महिला उम्मेदवार पाउनै मुस्किल


मनाङ ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार पाउनै मुस्किल छ । मनाङमा महिलाका लागि नै तोकिएको संख्या पूर्तिसमेत हुन सकेको छैन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिला छन् । तर, उम्मेदवार बन्न भने चाहने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिए पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडाहरूमा आवश्यक संख्या पु-याउनै मुस्किल भएको छ ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाका पाँच वटा वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । दलित महिला सदस्यका लागि वडाहरूमा उम्मेदवारी मनोनयन नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नार्पाभूमि गाउँपालिकाका पाँच वडामा दलितसहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा मनाङका ५६ महिला सदस्यको सिट सुनिश्चित छ । नार्पाभूमिमा १० जना आवश्यक भएकोमा आवश्यकता पूर्ति भएको छैन भने अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।

मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्यसहित गरी कुल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पनि सुनिश्चित सिट पूर्ण भएको छैन ।
त्यस्तै, सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाहरूको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाको सिट सुनिश्चित छ । तर, महिला महिला सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी नासों गाउँपालिकामा भने केही महिला सदस्यहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता भएको छ । नासोंको विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलगायतका दल दर्ता भएका छन् । मनाङका केही स्थानको चुनावमा कांग्रेस र एमालेबीच नै गठबन्धन भएको जस्तो देखिएको छ । भागबण्डा लगाएर कांग्रेसले वडा अध्यक्षको उम्मेदवारी दिएको स्थानमा एमालेतर्फबाट उम्मेदवारी परेको छैन भने एमालेले उम्मेदवारी दर्ता गराएको स्थानमा कांग्रेसले उम्मेदवार तयार गरेको छैन ।

चामे गाउँपालिका–३ मा एकीकृत समाजवादी पार्टीकी महिला सदस्यमा सर्वसम्मत हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले उहाँ सर्वसम्मत भएको सार्वजनिक गर्न बाँकी रहेको छ । मनाङमा महिला नेतृत्व वृद्धिका लागि न ठूला राजनीतिक दलले ध्यान दिन सके न त साना दलले नै । सबै राजनीतिक दलले महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्र र दस्तावेजमा राखे पनि मनाङको हकमा पूरा भएको देखिएको छैन ।महिलाको नेतृत्व कम रहेको मनाङमा पहिलोपटक एक गाउँपालिकाको अध्यक्षमा भने महिला चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।