दुई दिन बिदाको निर्णयले कर्मचारीमा तनाव

0
Shares

काठमाडौं । 

सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयले सेवाग्राहीले झन् सास्ती पाउने भएका छन् ।

सेवाग्राहीको बढी भीडभाड हुने कर कार्यालय, मालपोत नापी, यातायात कार्यालयहरूमा झन् भीड बढ्ने भएको छ । एक दिन मात्र सार्वजनिक बिदा हुँदा पनि यी कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । इन्धनको खर्च घटाउने उद्देश्यसहित दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति कर्मचारी नै असन्तुष्ट बनेका छन् ।

सरकारको यस निर्णयबाट १ लाख २५ हजार निजामती कर्मचारीमा उत्साह भर्न नसकेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन् । ती कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘गरिब मुलुकमा दुई दिन काम छैन, खर्च कटौती गर्ने र आन्तरिक पर्यटक बढाउने नीति छ, घरखर्च चलाएर, छोरोछारी पढाएर घुम्ने पैसा कर्मचारीसँग पुग्दैन ।’

दुई दिन बिदा दिएर सरकारले कर्मचारीको घरमा झन् तनाव बढाउने टिप्पणी गर्दै उनले कार्यालयमा बढी काम गर्नुपर्ने खाँचो रहेका बेला बिदा बढाउनु वैज्ञानिक नभएको बताए । गरिब मुलुकमध्ये बढी बिदा दिने मुलुकमा नेपाल रहेको छ ।
सरकारले जेठ १ गतेदेखि परीक्षणका रूपमा लागु हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विकसित देशहरूमा दुई दिन सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।

तत्कालीन सरकारले २०५६ सालमा पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, उक्त निर्णय एक वर्ष पनि टिकेन । त्यसपछि पुनः साताको एक दिन मात्र बिदा दिने निर्णय भएको थियो । सरकारले २२ वर्षपछि पुनः प्रशासन सुधार आयोगको सुझावलाई आधार बनाएर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रशासनविद् एवं उच्चस्तरीय प्रशासन सुधार आयोगका पूर्वअध्यक्ष काशीराज दाहालले सरकारी खर्चलाई मितव्ययी बनाउन र आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित दुई दिन सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कर्मचारीको घरव्यवहार मिलाउन र कर्मचारीलाई थप जिम्मेवार बनाउन दुई दिन बिदा ठीक छ । अब कर्मचारीले पनि आ–आफ्नो दायित्व झन् गहन ढंगले बहन गर्ने बेला आएको छ ।’मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका रूपमा २०७९ जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक बिदा र कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० बजे कायम गर्ने निर्णय भएको बताउनुभयो ।

सरकारले इन्धन खर्च घटाउने उद्देश्यसहित दुई दिन सार्वजनिक बिदा दिने निर्णय लिए पनि उक्त निर्णयबाट इन्धन कटौती नहुने बताइएको छ । एक कर्मचारी भन्छन्– ‘सरकारले निर्धारण गरेको कोटाअनुसार कर्मचारीले तेल लिन्छन्, अनि कसरी इन्धन खर्चमा कटौती हुन्छ ?’नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले इन्धन खर्चमा कटौती गर्ने विषयमा कर्मचारी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । बिदा दिने निर्णयले इन्धन खर्च कटौती हुन्छ त भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा उहाँले भन्नुभयो– ‘यो विषय कर्मचारीको नैतिकमाथिको प्रश्न हो, गाडी नै नचलाएको दिनको इन्धन लिनु हुँदैन ।’