उम्मेदवारहरूका सोच, कर्म र आश्वासन



  • केशव अधिकारी

स्थानीय चुनाव मुखैमा आइपुगेको छ । यसअगाडिका स्थानीय चुनावमा जे र जस्ता खालका आश्वासन बाँडेर मतदाताको मन जित्ने प्रयत्न गरिन्थे अनि मत पाइसकेपछिका दिनमा ती कुरा बिस्तारै सेलाएर जान्थे । फेरि हुन गइरहेको स्थानीय चुनावले पनि त्यही कुराको पुनरावृत्ति होला कि भन्ने कुराको सङ्केत गरिरहेको छ ।

यो विषम अवस्थाले आम मतदाताहरूको मानसिकता दोधारिन पुगेको छ । मतदाताको दोधारे मानसिकता भएको बेलामा जसले झुटा आश्वासन जति धेरै बाँड्न सक्छ र मतदाताको मन आफ्नोतिर फर्काउँछ उसैको पक्षमा मत अधिक हुने र विजयश्री उसैलाई मिल्ने खतरनाक मोड बन्न पुग्छ । त्यसैले आम उम्मेदवारले झुटा आश्वासन बाँडेर केवल विजयी बन्ने र पहिलेकै प्रतिनिधिहरुले गरेजस्तै जनताले पाएको आश्वासन अनुसारका काम गर्न नसकेको खण्डमा त्यसको मूल्य निकै महँगो पर्ने कुरा आँकलन गर्न सकिन्छ ।

अहिलेको स्थानीय निर्वाचनमा उम्मेदवार बनी विजयी बन्ने सपना देख्नेहरुले सकारात्मक सोच राख्नुपर्ने पहिलो सर्त हो । विगतको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने करिब ९० प्रतिशत उम्मेदवारले आफ्नो स्थानीय तहको उम्मेदवारको कर्म, कर्तव्य वा दायित्वभन्दा अधिक सोचाइ पैसाको उपलब्धिलाई मानेका थिए । वडामा यति करोड बजेट आउनेमा आफूले यति करोड खल्तीमा दाखिला गर्ने भन्ने सोचका साथ आएका थिए । यस खराब सोचका साथ आएका हुनाले उनीहरुको आफ्नो स्थानीय तहलाई के–कस्ता खालका विकस निर्माणका काम गरेर समुन्नत बनाउने ? भन्ने बारेमा सोच्नसमेत भ्याएका थिएनन् ।

निर्वाचित भएर गएपछिका दिनमा उनीहरुका ती कुत्सित लालसा पक्कै पूरा भए होलान् । ती लालासा पूरा गर्न उनीहरुका लागि तोकेको मासिक पारिश्रमिकले अवश्य पुगेन र स्थानीय स्तरको विकास, निर्माणका लागि विनियोजन गरिएको बजेटको अंशबाटै धुतेर लिई तिनका कुत्सित लालसा पूरा गरे हुन् । तिनका व्यक्तिगत लालसा पूरा गर्दा स्थानीय स्तरका लागि छुट्टिएको बजेट निर्बाधरुपमा लागू हुन नपाएपछि आम जनताले अपेक्षा गरेअनुसार उन्नति, प्रगतिका काम सन्तोषजनकरुपमा हुन सकेनन् । यसको नकारात्मक प्रभाव सारा स्थानीय स्तरमा पर्न गयो ।

उनीहरुका यस्ता हर्कतले गर्दा अहिलेका उम्मेदवारको मानसिकता पनि पैसामय बनेकाले गर्दा आम उम्मेदवारले यो लालसाले भरिएको मानसिकताबाट मुक्त हुन जरुरी भइसकेको छ । धनको लालसाको साटो उनीहरुको मानसिकतामा जनसेवाको भावना विकास हुन जरुरी हुन्छ । केवल देखावटी नाटकले मात्र नभई मनैदेखिको सोच सकारात्मक हुन जरुरी हुन्छ ।अहिलेको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने हरेकले हुन नसक्ने र झुटा आश्वासन बाँडेर मतदातालाई आफ्नो प्रभावमा पार्न खोज्नु मूर्खतापूर्ण काम हुनेछ । विनायोजना झुटा आश्वासन बाँडेर झुक्याउन खोज्नु र अहिलको भन्दा बढी निराशा थप्नुको कारणले भोलिका दिनमा जनताका सामु मुख देखाउन लायकको अवस्था नरहन पनि सक्छ । भोलिका दिनमा त्यस्ता झुटको खेती गरेर खानेहरुलाई पूर्णरुपेण नाङ्गेझार पारेर लखेट्ने दिन पनि नआऊलान् भन्न सकिँदैन । अबका जनप्रतिनिधिको दायित्व भनेको विगतको भन्दा फरक र भविष्यका लागि पनि सम्मान गर्नलायकको काम गरेर देखाउने र आम जनतामा सकारात्मक भावको विकास गराउन सक्नुपर्ने हुन्छ ।

अहिलेको राजनीतिक परिवेशमा नैतिकता, मर्यादाका साथै आफ्नो राजनीतिक दललाई जीवन्त बनाउने काम पटक्कै हुन सकेको छैन । केन्द्रको नेताले जे बोले पनि कार्यकर्ताले चित्त बुझाउने मात्र नभई ताली पिटेर समर्थन गर्नुपर्ने मान्यताको विकास भएको छ । उच्च नेताका कमजोर पक्ष उजागर गर्दा सजायको भागिदार र उपेक्षाको सिकार बन्न बाध्य बन्नुपरेको छ । यस्तो कृत्यले राजनीतिक दललाई जीवन्त बनाउनुको सट्टा मृतावस्थातिर धकेल्न गइरहेको छ । बेइमानी, धोकेबाजी, छलकपट, षड्यन्त्रजस्ता कुराले प्रश्रय पाउँदै जाँदा कुनै दिन सिङ्गो राजनीतिक दल नै आफ्नो औकात जोगाउन नसक्ने अवस्थामा पुग्छ । त्यसकारण कुनै पनि राजनीतिक दललाई जीवन्त बनाउने कामको थालनी गर्नुपर्ने भए स्थानीय तहको वडा स्तरबाटै क्रमशः सबै वडा, आ–आफ्ना टोल र गाउँ वा नगर, महानगरपालिकासम्म पु¥याउने अहं दायित्व स्थानीय स्तरको हुनुपर्नेछ ।

केन्द्रले त्यसो गर्न नसके पनि स्थानीय स्तरबाट त्यस्तो सकारात्मक सोच र कर्मको थालनी गर्दै पूर्णरुपले विकाससमेत गर्न सकेको खण्डमा अहिले धमिलो अवस्थामा अमूर्त भएर रहेको प्रजातन्त्र भोलिका दिनमा हाम्रै घरदैलामा हामी लिनै नगए पनि खुर्र दौडेर आउने अवस्था सिर्जना हुनेछ । केन्द्रका नेताले समेत त्यो सकारात्मक कामको प्रशंसा र थालनी गर्दै त्यही बाटो अनुशरण गर्न बाध्य हुनुपर्नेछ । यसरी दोहोरो, तेहरो भूमिका निभाउने महत्वपूर्ण कामको जिम्मा बोक्ने स्थानीय निकाय आफैँमा सुध्रेर आउनु जरुरी हुनेछ । स्थानीय तहले यतिका सकारात्मक कामको थालनी गरेर देखाउन सकेको खण्डमा भोलिका दिनमा केन्द्रमा हुने अनैतिक कामलाई समेत अङ्कुश लगाएर रोक्न सक्ने अधिकार हात पार्न सक्छ । यो आफैँमा चानचुने अधिकार होइन । आफ्नो स्थानीय तहको विकास र निर्माणका लागि जति काम गर्न सकिने हो, त्यति मात्र आश्वासन बाँड्नु राम्रो हुनेछ । नसकिने र नहुने कामको फेहरिस्तले आफू स्वयंको गौरवमा दाग लाग्न सक्ने कुरा छर्लंगै हुन्छ । त्यसकारण स्थानीय निकायमा उम्मेदवार बन्ने जो कसैले पनि आम जनतालाई ठग्ने, ढाँट्ने र लुट्ने काम गर्न छोडियो भने बल्ल स्थानीय निकायको स्थापनाको सही अर्थ लाग्नेछ ।

स्थानीय तहको उम्मेदवार बन्ने र जितेर जानेहरूको मानसिकतामा आफ्नो स्थानीय तहको के–कस्ता विकास निर्माणका काम गर्न सके आम जनतालाई अधिक लाभ पुग्न सक्ला ? भनेर चुनाव आउनुअगावैको समयमा एउटा मानसिक खाका तयार रहेको हुनेछ । त्यो खाकाले त्यस स्थानीय तहका शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, पशुपालन, कृषि आदि विविध विषयका बारेमा अध्ययन गर्न सक्ने र एउटा कामयावी रुपान्तरणमा लैजान सक्ने हिम्मत नभएकाले यस्ता काम गर्न अवश्य सक्ने छैन । केवल भ्रष्टाचार गरेर कुम्लो पारौँला भन्ने हिम्मत बोकेकाले यो जनसेवाको एउटा उदाहारणीय कर्ममा संलग्न हुन अलि सुहाउने विषय पक्कै होइन । केवल लाचारी प्रकट गर्दै विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेकाहरु करिब एउटै ड्याङका मूला बन्न पुगेका छन् ।

प्रजातन्त्र आएपछिका केही दिनमा नै सकेसम्म धेरैले देशलाई विकासको बाटोमा हिँडाएर एउटा समुन्नत देश बनाउन थालेको अभियानको स्मरण गर्दा राम्रो होला । तर त्यो कर्म गर्न लागेकाहरुको मानसिकता कता लटपटिएर विकृत बन्न पुगेको पाइन्छ । प्रजातन्त्रको यो विकृत रुपले लाखौँ नभई करोडौँ जनको मानसमा खराब असर गरिरहेको छ । उनीहरु स्वयंमा निर्दोष भएर दोष खानुपरिरहेको छ । अबका नुतनहरुले विगतमा नजिर बनेर रहेका सबै जबरजस्त खालका विकृतिहरुलाई उजागर गरेर आफूले सिक्न खोज्ने नभई पूर्णरुपले आफल्ने अभियानमा लाग्न जरुरी हुन्छ । यो अभियानमा साथ दिनका लागि सबैभन्दा बढी भूमिका पनि आम जनताकै हुन्छ । चुनावको प्रतिस्पर्धात्मक मैदानमा उत्रिएकाहरुमध्ये सबैले जित्ने भन्ने कुरो निरर्थक लाग्न सक्छ । प्रतिस्पर्धामा जो कुशलताका साथ लागेको हुन्छ, आफ्ना जनताको मन जित्ने प्रयत्नमा लाग्छ र जित्छ पनि तर हारेको दिमागको घेरो भरिएकोले भने कहिल्यै पनि जित्न सक्ने छैन । कतैबाट कुनै सुराकको सहयोगमा जित्ने चेष्टा गर्दा दुर्घटनामा पर्न पनि बेर लाग्ने छैन । जितकै लागि अनेक बखेडा निकाल्ने र साम्य गराउने नाममा षड्यन्त्र गर्न पल्केकाहरुको विश्वास जित्नै धेरै कठिन पर्नेछ भनेर आँकलन गर्न सकिनेछ ।

हाम्रा हक–अधिकारलाई पुनस्र्थापित गराएर बलियो जगका साथ उभिन र आम नागरिकलाई केही राहत दिनको लागि स्थानीय स्तरकै पहल अधिक हुने गर्छ । विगतका स्थानीय स्तरहरुले माथिको हाइकमान्ड नपाएर के गर्ने, के नगर्नेको दोधारे मानसिकता बनाइराख्ने अवस्था सिर्जना भएको थियो । जसको नकारात्मक असरले स्थानीय, क्षेत्रीय वा केन्द्रीय सबै स्तरका कार्यलाई पछाडि धकेलेर आफ्नै बाटोतिर दौडाइरहेको हुनाले हाम्रा उन्नति र प्रगतिका काममा बाधा परेको थियो भनेर स्मरण गरौँ । यो सानो वा थोरै बेरको स्मरणले भन्दा अधिक प्रभाव उनीहरुले गरेर देखाएका कर्मले प्रस्ट पार्नेछन् । अहिलेको परिवेशमा नियाल्दा पनि यही कुरो देखिन्छ । अबका पुस्ताका उम्मेदवारहरु ती विकृत मानसिकता र पदलोलुपताको खाडलबाट बाहिर निस्केर सफासमेत भइसकेका हुनुपर्नेछ ।

विगतका निर्वाचनका क्रममा एउटा नाममात्रको सानो कारणले बाउ–छोराको बोलचाल बन्द भएको थियो, त्यसको कारण उनीहरु दुवैजना एउटै राजनीतिक दलका आस्थावान् कार्यकर्ता नभएर बेग्लै राजनीतिक दलका प्रतिनिधिहरु पनि थिए । उनीहरुका आपसका वैमनस्यताले गर्दा बाउ–छोराका बीचमा बोलचाल हुन नसक्ने वातावरण सिर्जना भएकोमा अबको चुनावी मैदानमा आउनेले ती खराब मानसिकताबाट मुक्त भएर मात्रै चुनावी मैदानमा उत्रनुपर्नेछ । यदि विकृतिले भरिएको मानसिकताका साथ उपस्थित भएर विजयी बनेको खण्डमा त्यस्ताले राजनीतिक विकृति बढाउने र आफूलाई महान् ठान्ने हुनाले जनसेवाका काममा दत्तचित्त भएर लाग्नको लागि ती अवश्य बाधक बन्नेछन् ।

जनप्रतिनिधि भनाउँदा नै समाजको साँघुरो घेरोबाट बाहिर निस्केर तयार भएको छैन भने अरु मतदाताको अवस्था अझै कस्तो होला ? यी सारा विषयवस्तुको गहिरो विश्लेषण गरेर यी सबै विषयमा आफूलाई सही साबित गरी मानसिक स्वच्छताका साथ स्थानीय निकायका विभिन्न स्तरका लागि उम्मेदवारी दिनु उपयुक्त हुनेछ । प्रतिज्ञा गरेर र आश्वासन बाँडेर सत्तारोहण गर्न खोज्ने हरेक उम्मेदवारले यी सबै प्रश्नका उत्तरलाई सही तरिकाले मनन गर्दै जनउत्तरदायी मानसिकताको विकास गरी साँचोरुपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । यसरी एउटा प्रतिज्ञाका साथ, एउटा दृढ निश्चयका साथ उपस्थित भएका उम्मेदवारलाई भोट दिएर जिताए मात्र भोलिका दिनमा रोदनको बदलामा हाँसो, खुशी र सन्तुष्टि साटासाट गर्न पाउने अवसर आउनेछ । होइन भने पहिलेकै कुरा दोहोरिने र आम जनताले विविध समस्यासँग जुधेर निराशका दिन भोग्न बाध्य बन्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्