इन्जाद्वारा वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपियाँ सहयोग


न्युज अफ नेपाल, काठमाडौं  ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्जाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहनु भएका वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको छ ।

इन्जा एसियाका उपाध्यक्ष समेत रहनु भएका वरिष्ठ पत्रकार न्यौपाने लामो समय देखि राष्ट्रिय समाचार समिति (रासस)मा उपप्रमुख समाचारदाताको रूपमा कार्यरत हुनुहुन्छ । टिचिङ अस्पतालमा उपचार गराइरहनु भएका न्यौपानेलाई उक्त रकम इन्जा ग्लोबलका सचिव दीपक रिजालले हस्तान्तरण गर्नु भएको थियो ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्जाले विपतमा परेका पत्रकारहरूलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले जानकारी गराउनु भएको छ । अध्यक्ष लुइँटेलले वरिष्ठ पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।

रकम हस्तान्तरण पछि वरिष्ठ पत्रकार न्यौपानेले इन्जाले आफूलाई सहयोग गरेको धन्यवाद ज्ञापन गर्नु भएको थियो । पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनु पर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।