तामझामसहित राप्रपाको उम्मेदवारी


बाँके । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तामझामका साथ उम्मेदवारी दर्ता गरेको छ । नेपालगञ्जमा नारा जुलुशका साथ बजार परिक्रमा गर्दै राप्रपाले उम्मेदवारी दर्ता गरेको हो । अरु पालिकाहरुमा पनि राप्रपाले उम्मेदवारी दर्ता गरेको छ ।

राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा राप्रपाका उम्मेदवारहरु समर्थकका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । नेपालगञ्जमा राप्रपाले नन्दलाल वैश्यलाई मेयर र विन्दु घर्तीमगरलाई उपमेयर बनाएको छ । नेपालगञ्जका २३ वटै वडामा उम्मेदवारी दर्ता गरेको छ ।

वडा नं. १ मा तारामान कुँवर, २ नम्बरमा मनोज श्रेष्ठ, ३ नम्बरमा अमन गुप्ता, ४ नम्बरमा इन्दिरा शाही, ५ नम्बरमा मञ्जु बादी, ६ नम्बरमा रविन थापा, ७ नम्बरमा हर्कबहादुर गुरुङ, ८ नम्बरमा रजनिश बाजपेयी, ९ नम्बरमा विक्रम खरेल, १० नम्बरमा श्रवण श्रेष्ठ, ११ नम्बरमा सलाउद्दिन जसगढ, १२ नम्बरमा धु्रवराज वर्मा, १३ नम्बरमा विपीन श्रीवास्तव, १४ नम्बरमा हरदेवबक्स चौधरी, १५ नम्बरमा साकिर अलि कवडिया, १६ नम्बरमा रोशन अलि जोलाह, १७ नम्बरमा धर्मराज यादव, १८ नम्बरमा भेषराज चौलागाईं, १९ नम्बरमा धनराज कादु, २० नम्बरमा नवराज सापकोटा, २१ नम्बरमा रामफेरन कोरी, २२ नम्बरमा चेतबहादुर घर्ती र २३ नम्बरमा शोभाराम खटिकले उम्मेदवारी दर्ता गरेका छन् ।

राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलका अनुसार कोहलपुर नगरपालिकामा प्रदीपकुमार शाहलाई मेयर र सावित्रा घिमिरेलाई उपमेयर, राप्तीसोनारी गाउँपालिकामा भूपेन्द्र वलीलाई अध्यक्ष र शोभा वलीलाई उपाध्यक्ष, बैजनाथमा तारकसिंह थारूलाई अध्यक्ष र जयलक्ष्मी शाहलाई उपाध्यक्ष, जानकी गाउँपालिकामा श्यामबहादुर थापालाई अध्यक्ष र कुश्मा रैदासलाई उपाध्यक्ष, खजुरा गाउँपालिकामा धनसिंह रानालाई अध्यक्ष र तिलकुमारी हमाललाई उपाध्यक्ष बनाइएको छ ।

डुडुवा र नरैनापुरमा सोमबार उम्मेदवारी दर्ता गरेका थिए ।२०७४ सालको चुनावमा नेपालगञ्जको मेयर राप्रपाले जितेको थियो । राप्रपालाई विरासत जोगाउने चुनौती रहेको छ । नेपालगञ्जमा जनमत पार्टीका प्रह्लाद यादव ‘अहिर’ र नेकपा मालेका मेवालाल हल्वाईले मेयरमा उम्मेदवारी दिएका छन् । नेपालगञ्ज उपहानगरपालिका–५ को वडाध्यक्षका लागि ३० वर्षीय अब्दुल अजिज हल्वाईले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

कतै गठबन्धन, कतै बागी उम्मेदवार

बाँकेमा सोमबार ठूला पार्टीले उम्मेदवारी दर्ता गर्दा शक्ति प्रदर्शन गरेका छन् । उम्मेदवारी दिन जाँदा नेकपा एमाले र कांग्रेसले शक्ति प्रदर्शन गरेका हुन् । अरू पार्टीले पनि कार्यकर्ता उतारेका थिए ।बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जसपा तथा खजुरा गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेस र जसपाको गठबन्धनबाट कांग्रेसका प्रशान्त विष्टले मेयर र जसपाका कमरुद्दिन राईले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न भने कांग्रेस र जसपाका नेता तथा कार्यकर्ताहरु छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । कांग्रेस बाजागाजासहित शक्ति प्रदर्शनका साथ गएको थियो ।

त्यस्तै, नेपालगञ्जको मेयरमा एमालेबाट पशुपतिदयाल मिश्रले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि नेपालगञ्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट चुनाव लडेका मिश्रले सोमबार नेपालगञ्जको मेयरमा उम्मेदवारी गराउनुभएको हो । एमालेले उपमेयरमा शान्ति ढकाललाई अघि सारेको छ । मेयर, उपमेयरलगायत सबै वडाका वडाध्यक्ष र सदस्यहरुले उम्मेदवारी दर्ता गरेका छन् ।कोहलपुर नगरपालिकामा कांग्रेसको विवाद बाहिर आएको छ । कांग्रेसले पूर्णप्रसाद आचार्यलाई मेयरमा टिकट दिएपछि करिव ३० वर्षदेखि कोहलपुर पार्टीको नेतृत्व गरेका बलराम शर्मालगायतको ठूलो समूह बिच्किएको छ । शर्माले बागी उम्मेदवारी दर्ता गराएको कांग्रेसका युवा नेता भूमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका अन्य पालिकाहरुमा पनि शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गरिएको छ । खजुरा गाउँपालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएर गठबन्धन गरेका छन् । दुई पार्टीको गठबन्धनबाट माओवादी डम्बर विकले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।नेपालगञ्ज उपमहानगरपालिकामा वडामा केही रातारात अर्को पार्टीमा गएर उम्मेदवार भएका छन् । कांग्रेसबाट वडा नं. १२ को अध्यक्ष जितेका बुद्धिसागर सुवेदी रातारात जसपामा गएर उम्मेदवार भएका छन् । राप्रपामा जान ठिक्क परेका सुवेदीलाई त्यहाँ टिकट मिलेको थिएन । नेपालगञ्जको वडा नं. १ मा फरक–फरक पार्टीबाट दाजुभाइ नै उम्मेदवार भएका छन् । वडा नं. १ मा एमालेका प्रमोद रिजालले चुनाव जितेका थिए ।

पार्टीले रिजाललाई दोहो¥याएको छ । उता, कांग्रेसले वडा नं. १ मा विनोद रिजाललाई उम्मेदवार बनाएको छ । विनोद प्रमोदका साख्खै दाजु हुन् । नेपालगञ्जको निर्वाचन अधिकृतको कार्यालय अगाडि केहीबेर नाराजुलुश भएको थियो । सहकारी वित्तीय विकास संस्था लिमिटेडका पीडित वचतकर्ताले सहकारीको रकम हिनामिना गर्नेलाई उम्मेदवार बनाउन नहुने भन्दै नाराबाजी गरेका थिए ।