विराटनगर महानगरमा कांग्रेसबाट नागेश एमालेबाट सागरको उम्मेदवारी

उपमेयरमा गठबन्धनबाट उठे उपेन्द्रका छोरा

0
Shares

विराटनगर

स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नागेश कोइराला र एमालेका तर्फबाट सागर थापाले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसै गरी, जनता समाजवादी पार्टीका तर्फबाट अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनका तर्फबाट प्रमुखमा कोइराला र उपप्रमुखमा यादवको नाम तय भएको थियो । यस्तै, एमालेका तर्फबाट शिल्पा निराला कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । आसन्न स्थानीयतहको निर्वाचनका लागि नेपाली कांग्रेसलाई प्रमुख पदका लागि उम्मेदवार छान्न सकस भएको थियो । लामो समयको रस्साकसीपछि कोइरालाले मेयर पदका लागि टिकट पाउनुभएको हो । गठबन्धनबाट उपप्रमुखको उम्मेदवारी दर्ता गराउनुभएका यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुनुहुन्छ ।

जनता समाजवादी पार्टीका अर्का नेता उमेश यादवले भने आफूले मेयरको टिकट नपाएको भन्दै पार्टी नै परित्याग गर्नुभउको छ । उहाँले स्वतन्त्रबाट विराटनगर महानगरको मेयरमा उम्मेदवारी दर्ता गराउनभएको छ । राप्रपाका तर्फबाट विराटनगर महानगरपालिकाको मेयरका लागि प्रह्लाद साह र उपमेयरमा बबिता आचार्यले मनोनयन दर्ता गराउनुभएको छ । तरुण दल हुँदै पार्टीको राजनीतिमा लागेका कोइराला यसअघिको निर्वाचनमा पनि मेयरको आकांक्षी थिए । कोइराला नेपाल तरुण दल मोरङका सभापति, नेपाली कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै हाल उपसभापतिको जिम्मेवारीमा छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोइरालासहित महानगर सभापति दीपक चापागाईं, इन्दिरा कार्की, अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुलीको नाम सिफारिस गरेको थियो ।

टिकट वितरणका क्रममा कोइराला र हालका मेयर पराजुलीमध्ये कसलाई दिने भनेर शीर्ष नेतृत्वमा विवादसमेत भएको थियो । तर, हालका मेयर पराजुलीले जनआकांक्षा र पार्टीको घोषणापत्रअनुसार काम गर्न नसकेका कारण टिकट दिन नहुने पक्षमा शीर्ष नेता नै सहमत भएका थिए । पराजुलीले अवसर पाएर पनि कांग्रेसको शिर ठाडो पार्ने गरी काम गर्न नसकेको भनेर छलफलमै कुरा उठेपछि कृष्ण सिटौलाबाहेक कसैले पनि उनलाई टिकट दिनुपर्छ भनेर आवाज नउठाएको स्रोतको भनाइ छ ।

त्यसपछि कोइराला र केन्द्रीय सदस्य अर्यालमध्ये कसलाई टिकट दिने भन्ने विषयमा छलफल भएको थियो । अर्याल २०५४ कै निर्वाचनमा पराजित भएको र धेरै लामो समयपछि फेरि सोही पदमा उठ्दा जनताले नपत्याउने भन्दै कोइरालालाई नै टिकट दिन शीर्ष नेताहरु सहमत भएको स्रोतले बतायो । आगामी निर्वाचनमा क्षेत्र नम्बर ५ वा अन्य कुनै क्षेत्रमा सांसद बनाउने गरी अर्याललाई मनाइएको बताइएको छ । पार्टीका विभिन्न पदमा बसेर काम गरेको र समाजसेवामा पनि उत्तिकै सक्रिय भएका कारण नागेशलाई टिकट दिँदा जनतामा पनि उत्साह थपिने भन्दै अधिकांश शीर्ष नेताले नागेशको पक्षमा कुरा गरेका थिए ।

 

यता, थापा नेकपा एमाले विराटनगर महानगरका अध्यक्ष हुन् । विराटनगरमा रहेर लामो समयसम्म पार्टीको सक्रिय राजनीतिमा रहेका थापा युवाहरुका माझमा लोकप्रिय मानिन्छन् । विराटनगर महानगरपालिका–४ निवासी थापाले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी कमिटीको सेल सचिव, इलाका कमिटीको सदस्य हुँदै दुई–दुई कार्यकाल स्ववियु सभापति बन्नुभएको थियो । २०५७ देखि २०६० र २०६० देखि २०६२ सम्म स्ववियुको नेतृत्व गरेका थापा २०६२÷०६३ को जनआन्दोलन ताका थापा २८ दिन जेल बस्नुभएको थियो । यस्तै, नेकपा एमालेले विराटनगर महानगरपालिकाका लागि उपमेयरको उम्मेदवार बनाएकी शिल्पा निरौला कार्की नेकपा एमाले विराटनगर महानगर कमिटीकी उपाध्यक्ष हुनुहुन्छ ।

यता, उपमेयरको टिकट पाएका जसपाका यादव जसपा विराटनगर महानगर समितिका अध्यक्ष हुनुहुन्छ । गठबन्धनबाट मेयर र उपमेयर दुवै पुरुषले टिकट पाएका छन् । उपमेयरमा यादवको उम्मेदवारी पक्का भएपछि जसपा निकट महिला नेतृ वसुन्धरा झाले जसपा छोडेको घोषणा गर्नुभएको छ । उपमेयर महिलाले पाउनुपर्नेमा पार्टीले पुरुषलाई नै टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।यसअघि जसपाका नेता उमेश यादवले पार्टी परित्याग गरेर स्वतन्त्रमा उमेदवारी दिनुभएको थियो । उहाँले आइतबार मनोनयन गर्नुभएको छ । त्यसबाहेक जसपाका विभिन्न वडाका सम्भावित उमेदवार भने सिके राउतको जनमत पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस (बीपी) ले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको छ । मेयरमा रामचन्द्र गौतम र उपमेयरमा माया ओझाले उम्मेदवारी दर्ता गर्नुभएको हो । कांग्रेसले बीपीले लिएको आदर्शको बाटो बिराएकाले आफ्नो पाटीले बीपीको विचार बोकेर हिँडेको जनाएको छ । मेयरका उम्मेदवार गौतमले बीपीको प्रजातान्त्रिक समाजवादी विचारलाई आफूले अघि बढाउने बताउनुभयो । कांग्रेस (बीपी) ले मेयर, उपमेयरसहित विराटनगरको वडा नम्बर ४, ८ र १४ मा वडाध्यक्षमा पनि उम्मेदवारी दिएको बताएको छ ।