कांग्रेसले दियो दुई पालिकाको मेयर र तीन पालिकाको उपमेयरमा उम्मेदवारी

0
Shares

इलाम । 

नेपाली कांग्रेसले इलाम नगरपालिकाको मेयर र उपमेयर तथा देउमाई नगरपालिकाको मेयर पदको टुंगो लागेको छ । इलाम नगरपालिकाको मेयरमा केदार थापा र उपमेयरमा विष्णु दाहाल लिम्बुको नाम टुंगो लगेको हो । नेपाली कांग्रेस प्रदेश समितिले उम्मेदवारको टुंगो लगाएको हो ।

यस्तै, देउमाई नगरपालिकाको मेयरमा होम दुलालले टिकट पाउने निश्चित भएको नेपाली कांग्रेस जिल्ला कमिटी स्रोतले जनाएको छ । सोही नगरपालिकाको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसको भागमा परेको जिल्लाको सूर्योदय र माई नगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लागेको छ । सूर्योदयमा दुर्गा बराल र माई नगरपालिकाको उपमेयरमा हेमकुमार लिम्बुको नाम प्रदेश समितिबाट टुंग्याएको हो ।

गठबन्धनबाट सूर्योदयको मेयर नेकपा एकीकृत समाजवादी र माई नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ । ६ गाउँपालिकामध्ये माईजोगमाई गाउँपालिका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा परेको छ भने बाँकी पाँचवटा पालिका अध्यक्ष कांग्रेसले पाएको छ । जिल्लामा सातवटा पालिका प्रमुख कांग्रेस, दुई पालिका नेकपा (एस) र एउटा पालिका प्रमुख नेकपा माओवादीको भागमा परेको छ भने एउटा पालिका उपप्रमुख जनता समाजवादी पार्टीको भागमा परेको छ ।