‘बर्खास्ती’मा परेका स्थापित महानगर मेयरका उम्मेदवार

0
Shares

 हेटौंडा । 

नेकपा एमालेका नेता केशव स्थापितले वागमती प्रदेश सांसदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठसमक्ष स्थापितले आइतबार राजीनामा दिनुभएको थियो ।

एमालेले स्थापितलाई फेरि काठमाडौं महानगर मेयरको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिनुभएको हो ।राजीनामा दिँदै उहाँले आफ्नो पहिलो प्राथमिकता त्रिचन्द्र कलेजलाई पुनःउत्थान गर्ने तथा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताउनुभयो । स्थापितले त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको सुविधासहित अत्याधुनिक बनाउने घोषणा गर्नुभउको छ ।

काठमाडौं फर्किएपछि उहाँले सोमबार मनोनयन दर्ता गर्ने बुझिएको छ ।२०५४ सालको स्थानीय निर्वाचनमा पनि उहाँ काठमाडौं महानगर मेयरमा निर्वाचित हुनुभएको थियो । स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याउनुभएको थियो । उहाँ मेयर भएकै बखत पशुपति क्षेत्र, माइतीघर, तीनकुनेजस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घरटहरा भत्काइएका थिए ।

काठमाडौंको प्रमुखका लागि संघीय सांसद रामवीर मानन्धरसहित पाँच जना उम्मेदवारको नाम सिफारिस भएको थियो । २०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिका प्रमुख बनेपछि स्थापितले केही राम्रा काम गर्नुभए पनि उहाँ धेरै विवादमा तानिने गर्नुभएको छ । प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको दोस्रो वरीयतामा रहेका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री स्थापितलाई पदबाट बर्खास्त गर्नुभएको थियो । संविधानले दिएको अधिकारअनुसार मुख्यमन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको हो ।मन्त्री स्थापितको बर्खास्तगीपछि स्थापितले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री आफैंले सम्हाल्नुभएको थियो । मन्त्रीलाई प्रदेश सरकारका मुख्यमन्त्रीले बर्खास्त गरेको नेपालमा सम्भवतः यो नै पहिलो थियो ।

२०७४ माघ २९ गते पद तथा गोपनीयताको शपथ लिएका मन्त्री स्थापितलाई २ सय ६४ दिनपछि पदबाट हटाइएको हो । उहाँ काठमाडौंबाट समानुपातिक प्रदेश सांसद हुनुहुन्थ्यो । तत्कालीन मन्त्री स्थापितलाई हटाउन तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग पौडेलले परामर्श गर्नुभएको थियो । र, प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’पछि स्थापित बर्खास्तीमा पर्नुभएको थियो ।मुख्यमन्त्रीले स्थापितसँग ‘काम गर्न नसकिने’ भन्दै असन्तुष्टि जनाएपछि हटाउन मन्त्रीहरु र पार्टी नेतृत्वसँग छलफल गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको चर्काचर्की परेको थियो । उहाँको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको थियो ।

नागरिकसँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति अतिसुस्त भएको, मन्त्री स्थापितको कार्यशैली ठीक नभएको र असन्तुलित व्यवहार देखाएको मुख्यमन्त्रीले बताएपछि उहाँ बैठकमै आक्रोशित हुनुभएको थियो ।मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो । मन्त्री स्थापितले बैठकका निर्णयविपरीत काम गर्ने गरेको, मुख्यमन्त्रीको निर्देशन अटेर गरेको, संसद्को निर्णय अवज्ञा गरेको, स्थापितकै ढिलासुस्तीका कारण भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित कानुन निर्माणमा ढिलो भएको मुख्यमन्त्रीको दाबी थियो ।स्थापितलाई मन्त्रीबाट हटाइएपछि मन्त्रीकै रूपमा चीन जाने उहाँको योजनामा तुषारापात भएको थियो ।

मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितको विवादमा प्रदेश राजधानी पनि एक कारक बनेको छ । करिब १५ अर्ब बजेट रहेको मन्त्रालयको कार्यप्रगति नदेखिएको भन्दै मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद् बैठकमा स्थापितको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको थियो । त्यसलगत्तै मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई चर्को स्वरसहित अभद्र व्यवहार गरेको एक मन्त्रीले बताउनुभयो ।स्थापितलाई सरकारले २०६९ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो । ९ महिना नबित्दै उहाँलाई पदमुक्त गरिएको थियो । केपी शर्मा ओली एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष हुँदा स्थापित महासचिव हुनुहुन्थ्यो । स्थापित ओलीपछि युवा संघको अध्यक्ष बन्नुभएको थियो । २०५१ सालमा उहाँ राष्ट्रिय खेलकुद परिषद्को नवौं सदस्य–सचिव हुनुभएको थियो ।