शुरू भयो निर्वाचन: एमालेबाट पौडेल र काफ्ले, गठबन्धनबाट लामा र बानियाँ


हेटौंडा

सत्ता गठबन्धनका तर्फबाट हेटौंडा उपमहानगर मेयरमा मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सोमबार दिउँसो करिब ३ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सत्तारूढ दलबीचको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बाट लामा मेयर उम्मेदवार बन्नुभएको हो भने नेपाली कांग्रेसबाट बानियाँ उपमेयर उम्मेदवार बन्नुभएको हो । सत्ता गठबन्धनबीच हेटौंडा उपमहानगरका वडा तहमा पनि तालमेलको प्रयास भएको छ । कतिपय वडामा गठबन्धनबीच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरमा मेयर÷उपमेयरसहित १९ वटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गरेको छ । एमालेका तर्फबाट उपमहानगर मेयरमा अनन्तप्रसाद पौडेल तथा उपमेयरमा सुमित्रा काफ्लेले उम्मेद्वारी दर्ता गर्नुभएको हो । एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल हुनुहुन्छ । उपमेयर काफ्लेका प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट हुनुहुन्छ ।

एमाले जिल्ला पार्टी कार्यालय हेटौंडाबाट ¥यालीसहित उम्मेदवारी दर्ताका लागि उम्मेदवार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । हेटौंडा उपमहानगरमा नेकपा एमालेले बहुदल प्राप्तपछिका सबै स्थानीय तहका निर्वाचनमा मेयर÷उपमेयरमा जित हासिल गरेको छ । संघीयतापछि भएको स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेले माओवादी–कांग्रेस गठबन्धनलाई पराजित गर्दै मेयर र उपमेयरसहित १९ मध्ये १२ वडाका अध्यक्ष जितेको थियो । एमालेबाट मेयरमा हरिबहादुर महत तथा उपमेयरमा मीना लामा विजयी हुनुभएको थियो ।

यस पटक एमालेले दुवै नयाँ अनुहारलाई पाँच दलीय गठवन्धनविरुद्ध खडा गरेको छ । एमालेबाट मेयरका प्रत्यासी संविधानसभा सदस्यसमेत रहनुभएका पौडेल अनुभवी नेता हुनुहुन्छ । उहाँ एमाले मकवानपुरका पुराना तथा संगठनमा भिजेका नेताका रूपमा चर्चित हुनुहुन्छ । एमालेले उपमेयरमा टिकट दिएकी काफ्ले युवा नेतृ हुनुहुन्छ । उहाँ हाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष रहनुभएको छ ।

हेटौंडा–१ नम्बर वडा अध्यक्षमा उत्तमप्रसाद पौडेल, २ नम्बरमा हरिबहादुर राउत, ३ नम्बरमा रामकुमार पुडासैनी, ४ नम्बरमा नवीन सिग्देल र ५ नम्बर वडामा सुशील घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । ६ नम्बर वडामा विश्वराज राई, ७ मा राजन थापा, ८ मा बोलबहादुर कार्की, ९ मा लक्ष्मणप्रसाद भण्डारी र १० मा फुर्वा दोर्जेलामाले उम्मेदवारी दर्ता भएको छ । उपमहानगरको ११ नम्बर वडामा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा वसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिलकुमार बानियाँ र १९ मा नरनाथ सुवेदीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहले हेटौंडा उपमहानगर मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको अन्तिम दिन सोमबार सिंहले राप्रपाबाट हेटौंडाको मेयरमा उम्मेदवारी दिनुभएको हो ।

कांग्रेसमा ‘बागी’ को लर्को

टिकट नपाएपछि हेटौंडामा कांग्रेसका युवाहरू ‘बागी उम्मेद्वार’ बनेका छन् । हेटौंडा वडा नम्बर–२ मा कांग्रेसका युवा नेता सुदीप राजबाहकले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसका बागी उम्मेदवार उहाँले ‘स्वतन्त्र उम्मेद्वार’ का रूपमा आफूलाई अगाडि बढाएको बताउनुभयो ।

निर्वाचन कार्यालय पुगी आफ्नो उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । राजबाहक यसअघि कांग्रेसबाट एकमात्र वडा सदस्य निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । युवामाझ लोकप्रिय नेताका रूपमा पछिल्लो समय राजनीतिमा होमिनुभएका राजबाहक कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारका रूपमा प्रस्तुत हुनुभएको हो । उम्मेदवारी दर्तापछि राजबाहकले वडा सदस्य हुँदा जनताको काममा निरन्तर लागिपरेको बताउँदै विकासका केही अधुरा काम पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

हेटौंडा–२ मा टिकटको विषयलाई लिएर विवाद बढेको छ । विवाद बढेसँगै कांग्रेसका ३ नेताले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका तर्फबाट २ जनाले टिकट पाएपछि विवाद बढेको अवस्थामा अघिल्लो स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित राजबाहकले उम्मेदवारी दिनुभएको हो । कांग्रेसले विष्णुगोपाल महर्जन र रवीन्द्र घिमिरेलाई टिकट दिएपछि विवाद बढेको थियो ।

दुवै जनाले आफू आधिकारिक उम्मेदवार रहेको दाबी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको छ । टिकटको विषयलाई लिएर कांग्रेस हेटौंडा–२ मा लामो समयदेखि विवाद जारी थियो । करिब एक दर्जनले वडाध्यक्षको दाबी गरेपछि विवाद टुङ्ग्याउने जिम्मेवारी पार्टीको माथिल्लो निका