एसी मिलानको पुनरागमन जित

0
Shares

लन्डन, (एजेन्सी) । 

इटालियन सिरी ‘ए’ को खेलमा एसी मिलानले पुनरागमन जित निकालेको छ ।मिलानले लाजियोमाथि २–१ गोल अन्तरको पूनरागमन जित निकालेको हो । रोमामा आइतबार राति भएको खेलमा मिलानको जितमा ओलिभर जिरुड र सान्द्रो टोनालीले गोल गरेका थिए । घरेलु टोली लाजियोका सिरो इमोविलेको गोल सान्त्वना बन्यो ।

खेलको चौथो मिनेटमा नै सिरो इमोविलेको गोलबाट घरेलु टोलीले शुरुवाती अग्रता लिन सफल भएको थियो । उनले सेर्गेज मिलिन्कोभिक साभिकको पासलाई सदुपयोग गरेका थिए ।पहिलो हाफमा पछि परेको मिलानले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । ५०औं मिनेटमा ओलिभर जिरुडले राफयल लियोको पासमा गोल गर्दै मिलानलाई खेलमा फ र्कने संकेत दिए ।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सान्द्रो टोनालीले गोल गर्दै मिलानलाई महत्वपूर्ण तीन अंक दिलाए । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै शीर्ष स्थानमा रहेको मिलानको ३४ खेलबाट ७४ अंक पुगेको छ । पराजित लाजियोको ५६ अंक रहेको छ ।

आइतबारै भएका अन्य खेलमा सालेरनिटानाले फियोरेन्टिनालाई २–१ ले हराउँदा इम्पोलीले नेपोलीलाई ३–२ ले तथा जिनोआले क्याग्लिएरी १–० ले पराजित गरे । त्यस्तै, बोलोग्नाले र उडिनेस बीचको खेल २–२ गोलको बराबरीमा टुङ्गियो।