मुम्बई इन्डियन्सको अप्रिय कीर्तिमान


नयाँ दिल्ली, (एजेन्सी) । 

मुम्बई इन्डियन्स आईपीएलको इतिहासमा शुरुवाती ८ खेल हार्ने पहिलो टोली बनेको छ ।
आइतबार राति आफ्नै वानखेडे रंगशालामा हारपछि मुम्बईले यो अप्रिय कीर्तिमान बनाएको हो । जबकी यो टोलीले आईपीएलमा पाँचपटक उपाधि जितिसकेको छ । तर, यस सिजनमा मुम्बईले लगातार ८ खेलमा हार व्यहोरिसक्यो । यसले मुम्बईका लागि बाँकी सबै खेल जिते पनि प्लेअफमा स्थान बनाउन सम्भावना पनि न्यून रहेको छ ।

आईपीएलमा यसपटक मात्रै प्रवेश गरेको टोली लखनउ सुपर जायन्ट्सविरुद्ध मुम्बई ३६ रनले हारेको थियो । लखनउले १ सय ६९ रनको लक्ष्य दिएकोमा मुम्बईले १ सय ३२ रन मात्रै बनाउन सक्यो । मुम्बईको बलिङ राम्रो बनेको थियो, तर लखनउका एक खेलाडी केएल राहुललाई भने नियन्त्रणमा राख्न सकेन ।
लखनउका लागि राहुल एक्लैले ब्याटिङ विधा सम्हालेका थिए । अरू खेलाडीको कुनै ठूलो योगदान दिन नसकेकोमा राहुलले १ सय ३ रनको शतकीय इनिङ खेलेर मुम्बईलाई समस्यामा पारेका थिए । उनकै कारण लखनउले ठूलो लक्ष्य दिन पनि सफल भयो । जवाफीमा ईशान किशनको ब्याटबाट फेरि एकपटक रन आउन नसक्नु नै मुम्बईको लागि हार भएको थियो । जबकि, अर्का ओपनर रोहित शर्माले राम्रो खेलेका थिए । तर, उनलाई ईशानले राम्रो साथ दिन सकेनन् । मुम्बईले ईशानका लागि करिब २५ करोड रुपियाँ (नेपाली रकम) खर्च गरेको अनुसार उनले त्यसको भर्पाई दिन सकेका छैनन् ।
ईशानले केवल ५० रन बटुले
ईशानले पछिल्लो ५ खेलमा केवल ५० रन जोड्न सकेका छन् । टोलीका लागि ठूलो इनिङ खेल्न जरुरी हुँदा उनको ब्याटबाट रन आउँदैन । उनले आफ्नो विकेट गुमाएर टोलीलाई हरेक पटक निरास गरेका छन् । मुम्बईको हारमा उनको कमजोर ब्याटिङ नै मुख्य कारण हो । उनी आउट भएपछि रोहितमा दबाब बढ्छ र उनी पनि छिटै आउट भइरहेका छन् । यी दुवै ओपनर आउट भएपछि मुम्बईका लागि तिलक बर्माले मात्रै राम्रो ब्याटिङ देखाएका छन् ।
पोलार्ड पनि चल्न सकेनन्
वेस्ट इन्डिजका दिग्गज ब्याटसम्यान किरोन पोलार्डले पनि मुम्बईका लागि सोचेजस्तो ब्याटिङ गर्न सकेका छैनन् । उनीबाट ठूला ठूला प्रहार भएको टोलीले आस गरेका हुन्छन् । उनी विस्फोटक ब्याटरको रूपमा परिचित छन् पनि । तर, उनी केही बेर क्रिजमा रहेर आउट भएका छन् । उनी अन्तिमसम्म टिक्न सकेका छैनन् । उनको निरस ब्याटिङले पनि मुम्बईले जितको स्वाद यस सिजनमा चाख्न पाएको छैन ।

प्लेअफ खेल्नु कठिन

यस सिजनको आईपीएलमा मुम्बईले जित हात पार्न सकेको छैन । अंकतालिकाको पुछारमा रहेको मुम्बई शून्यमा छ । टोलीको लागि ८ खेल सकिसकेको छ र अब ६ खेल खेल्न बाँकी छ । आउँदो यी ६ खेल सबैमा जित हात पारे पनि टोलीको १२ अंक हुनेछ । यस सिजनमा दुई टोली थपिए पनि बीसीसीआईले फरम्याटमा कुनै परिवर्तन गरेको छैन । प्रत्येक टोलीले १४ खेल खेल्नेछ । १२ अंकले प्लेअफ खेल्न कठिन रहेको छ । तर, २०१९ को आईपीएलमा सनराइजर्स हैदरावादले १२ अंक जोडेर प्लेअफमा खेलेको थियो । यस सिजनमा गुजरातले ७ खेलबाट १२ अंक जोडेको छ । यस्तै, सनराइजर्स, राजस्थान, लखनउ, रोयल च्यालेन्जर्सले १०–१० अंक जोडिसकेका छन् । यो तथ्यांकले मुम्बईको लागि प्लेअफको ढोका लगभग बन्द भइसकेको छ ।