सदस्य–सचिवद्वारा कोषलाई आर्थिक सहयोग


काठमाडौं  । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठलाई सदस्य–सचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । करिब ४ महिना बराबरको आफूले पाउने सुविधा वापतको रकम सदस्य–सचिव घिसिङले कोषलाई प्रदान गरेका हुन् ।

सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । उनी अनुपस्थित भएको ४ महिना अवधिको सुविधा वापतको रकम सदस्य–सचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष श्रेष्ठले सहयोगले सकारत्मक सन्देश प्रवाह गर्ने बताउँदै यसले अरूलाई पनि कोषमा सहयोग गर्न आकर्षित गर्ने धारणा व्यक्त गरे ।