७१ हजार २ सय ३७ जनाले दर्ता गराए उम्मेदवारी


काठमाडौं । 

स्थानीय तहको निर्वाचनका लागि कुल ७१ हजार २ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिएको जानकारीअनुसार ७७ वटै जिल्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट २ सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकाको मेयरमा २ हजार १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी ४ सय ६० गाउँपालिकाको अध्यक्षमा २ हजार २ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार उपप्रमुख पदमा १ हजार ३ सय १८ तथा उपाध्यक्ष पदमा १ हजार ५ सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी कुल ६ हजार ७ सय ४३ वडाको वडाध्यक्ष पदमा १७ हजार ७ सय १ जना, २६ हजार ९ सय ६२ वडा सदस्यमा क्रमशः महिला सदस्य पदमा ११ हजार ६ सय ५५, महिला दलित सदस्य पदमा १० हजार ३ सय ७१ र सदस्य पदमा २४ हजार ३ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मनोनयनको पहिलो दिन आइतबार साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको थिए भने दोस्रो दिन सोमबार सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गराउने आउनेहरूको भीड बढेको थियो । बाजागाजा, कार्यकर्ता र शुभेच्छुकको लावालस्करका साथ उम्मेदवारहरू उम्मेदवारी दिन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता उत्साहप्रद रहेको आयोगले जनाएको छ ।

आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी बेलुका ६ः३० बजेसम्म पनि उम्मेदवारी दर्ता गर्न आउने क्रम चलेको थियो । आयोगले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । एक दिनको कार्य चापलाई मध्यनजर राखेर विगतमा २०७४ सालमा महानगरपालिकामा अत्यधिक उम्मेदवार भएकाले जाँचबुझका लागि समय अभाव भएकाले रातभरि र भोलिपल्टसम्म पनि रुजु गर्नुपर्ने अवस्था आएकाले यसपालि दुई दिनको समय दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो– ‘यसपालि पहिलो दिन सोचेजति उम्मेदवारी परेन । दोस्रो दिन उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउन भ्याईनभ्याई छ ।’मनोनयनपछि आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।

त्यसै गरी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् । दर्ता भएको मनोनयनमाथि रुजु गर्ने काम जारी रहेको आयोगले जनाएको छ ।