दोर्दी–१ जलविद्युत् आयोजनाद्वारा सेयर निष्काशन

0
Shares

लमजुङ  ।

पूर्वी लमजुङको दोर्दीमा निर्माण सम्पन्न चरणमा रहेको दोर्दी–१ जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीले प्रभावित क्षेत्रका लागि साधारण सेयर निष्काशन गरेको छ ।

आयोजना प्रवद्र्धक दोर्दीखोला जलविद्युत् कम्पनीले प्रभावित क्षेत्रका लागि १० लाख ५४ हजार दुईसय ६० कित्ता सेयर निष्कासन गरेको हो ।दोर्दी गाउँपालिकाअन्तर्गत दोर्दी खोला करिडोरमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनाको साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत चैत २१ गते आवेदन दिएको थियो । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजीको १० प्रतिशत गाउँपालिकाअन्तर्गत प्रभावित क्षेत्रका लागि सेयर निष्काशन गरेको हो । कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणले यही वैशाख १३ गतेदेखि जेठ २ गतेसम्मका लागि सेयर आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रभावित क्षेत्रअन्तर्गत दोर्दी गाउँपालिकाअन्तर्गत साविक भारते, अर्चलबोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सारका लागि सेयर निष्कासन गर्ने जनाएको छ । सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म सेयर हाल्न सक्ने आयोजना प्रमुख उज्वल सिलवालले बताउनुभयो ।

उहाँका अनुसार सेयर निष्कासन गरी बाँडफाँट गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेकोे छ । पहिलो चरणमा प्रभावित क्षेत्रका लागि सेयर निष्कासन गरेको कम्पनीले दोस्रो चरणमा जिल्लाबासीका लागि पनि सेयर निष्कासन गर्ने सिलवालले जानकारी दिनुभयो ।कम्पनीले प्रभावित क्षेत्र र अन्य सर्वसाधरणका लागि २९ करोड ५१ लाख ९२ हजार नौ सय रुपियाँ बराबरको २९ लाख ५१ हजार नौसय २९कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

१२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । दोर्दी गाउँपालिकाको साविक ढोडेनीमा निर्माणाधीन सो जलविद्युत् आयोजनाको समग्रमा ९८ प्रतिशत निर्माण सकिएको छ । आयोजना प्रमुख सिलवालका अनुसार गतवर्ष विश्वव्यापी कोभिड संक्रमण जोखिमसँगै लकडाउन हुँदा निर्माण सामग्री र दक्ष जनशक्ति अभावमा आयोजनाको काम प्रभावित भएको थियो । सोही आयोजनामा गत असारमा आएको बाढीका कारण संरचनामा क्षति पुगेको थियो ।

यसअघि २०७६ चैत महिनामा सक्ने भनिएको सो आयोजना दोर्दी खोलामा आएको बाढी र कोभिड–१९ संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माणमा ढिलाइ भएको हो ।आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिने छ । सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको गरेको छ । २०७४ सालबाट शुरू भएको सो आयोजनामा सानिमाको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेका छन् ।