१ सय २७ वर्षपछि तिलौराकोट कपिलवस्तु संरक्षित क्षेत्र घोषणा



काठमाडौं । 

सरकारले उत्खनन र अध्ययन शुरू गरेको करिब १ सय २७ वर्षपछि कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राचीन स्मारक क्षेत्र संरक्षण ऐन–२०१३ को दफा ३ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी तिलौराकोट कपिलवस्तु संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो ।

पुरातत्व विभागले सन् १८९५ देखि सो दरबार क्षेत्रको उत्खनन शुरू गरेको थियो । त्यसको करिब सय वर्षपछि अर्थात् सन् १९९६ मा पुरातत्व विभागले सो दरबार क्षेत्रलाई विश्व सम्पदा क्षेत्रको सम्भावित सूचीमा राख्न युनेस्कोमा पठाएको थियो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी चार किल्ला कायम गर्दै स्मारक क्षेत्र घोषणा गरेको हो । मुख्य कपिलवस्तु दरबार क्षेत्रको पूर्व दक्षिणतर्फको नहरभन्दा ५० मिटर पश्चिम, नहरको २ सय ५० मिटर पश्चितमतर्फ रहेको ठाडो कुलो वाणगंगा नहरबाट तिलौरी जाने बाटोको तिलौरी चोकबाट १८६ मिटर पश्चिम, नहरको पश्चिमतर्फ २ सय मिटर जतिबाट तिलौरी जाने बाटोतर्फको भाग कायम गरिएको छ ।

त्यस्तै, उत्तर पूर्वतर्फ तिलौरी गाउँभन्दा १ सय १६ मिटर दक्षिण, उत्तर पश्चिममा वाणगंगा नदीको बाँध, पश्चिम उत्तरतर्फको सोही नदीको किनार हुँदै तौलिहवा गोरुसिङ्गे राजमार्गअन्तर्गत वाणगंगा नदीको पुलसम्म, पश्चिमतर्फ तौलिहवा गोरुसिङ्गे राजमार्गको पूर्वतर्फको भाग र दक्षिणतर्फको चौबीसहजारचोकदेखि ६ सय मिटर उत्तरतर्फको नहरबाट कन्थक स्तूपतर्फ जाने पश्चिमतर्फको भाग, सो स्तूपबाट नहरतर्फ जाने बाटो सिमलको रूख भएको चोकबाट पूर्व नहरतर्फ जाने बाटोको उत्तरतिरको नहरदेखि पश्चिम ५० मिटरभित्रको क्षेत्रफललाई स्मारक क्षेत्र घोषणा गरेको छ ।

स्मारक क्षेत्र घोषणा गरेको चार किल्लामा कुनै पनि भौतिक वा अन्य संरचना निर्माण गर्न प्रतिबन्ध भएको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सरकारले संरक्षण क्षेत्र घोषणा गरेर अति महत्वपूर्ण काम गरेको बताउनुभयो ।
‘यति भएपछि सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने बाटो खुलेको छ’ –उहाँले भन्नुभयो । उहाँका अनुसार सरकारले राजपत्रमा सूचना जारी गरेपछि सो क्षेत्र संरक्षण गर्ने कानुनी बाटो खुलेको बताउँदै अब मापदण्ड बनाएर संरक्षण अघि बढाइने जानकारी दिनुभयो ।

प्राचीन कपिलवस्तुको राजधानीको रूपमा रहेको तिलौरकोट दरबार क्षेत्रमा बुद्धको कन्थक स्तूपा, पूर्वोतर पोखरी, समइमाई मन्दिर, दरबार क्षेत्र प्राचीन सडकहरू, माटोका भाँडा, विभिन्न पुराना पुरातात्विक वस्तु फेला परेका छन् । विभागले करिब दुई दशकबाट द्रुत गतिमा उत्खनन गरिरहेको छ ।यसअघि पुरातत्व विभागले सन् १९९६ र २००८ नेपालको सांस्कृतिक र प्राकृतिक गरी १५ वटा सम्पदा क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको सम्भावित सूचीमा दर्ता गराएको थियो ।

सन् २००८ मा ९ र ०९६ मा ६ वटा सम्पदाहरू सूचीमा परेको थियो । तर, काम अघि नबढ्दा ती सम्पदाहरू विश्वसूचीमा कहिले पर्ने हो भन्ने विषय अन्योलमा पुगेको थियो । सम्भावित सूचीमा पुग्नेबित्तिकै विश्वसम्पदा सूचीमा सूचीकृत हुन मुस्किल हुने भएकाले कार्य प्रगतिको आधारमा युनेस्कोले मूल्यांकन गरी सूचीकृत गर्ने प्रावधान रहेको छ । तर, यो महत्वपूर्ण काम भएकाले अब तिलौराकोट दरबारक्षेत्र विश्वसम्पदा सूचीमा पुग्नेमा विभागले विश्वास भएको छ ।

‘विश्वसम्पदा सूचीमा पर्न स्थानीय सरकारको मुख्य भूमिका रहन्छ, त्यसका लागि विभिन्न चरणबद्ध काम गरिरहेका छौं’ – महानर्देशक गौतमको भनाइ छ । ‘अब तोकेको मापदण्ड पूरा भएपछि सरकारले विश्वसम्पदा सूचीमा राख्न युनेस्कोलाई पत्राचार गरेपछि युनेस्कोको विशेष बैठकले सूचीमा राखेको घोषणा गर्ने प्रावधान छ । त्यसका लागि सम्भावित सूचीमा सूचीकृत भएका सम्पदाका काम द्रुत गतिमा गर्नेछांै’ – महानिर्देशक गौतमको भनाइ छ ।

विश्वभर करिब १ हजार ५५ वटा सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन् । नेपालले सन् १९९६ र २००८ मा पनौती, खोकना, साँखु, नुवाकोट, पाल्पास्थित तानसेन र गोरखा दरबार, जनकपुरको जानकी मन्दिर, रुरु क्षेत्र, भुर्तिका देवल दैलेख, मुस्ताङको लोमाङथाङ, रामग्राम, तिलौराकोट, सिञ्जा उपत्यका, कीर्तिपुर र केभ आर्किटेक्चरल अफ मुक्तिनाथलाई विश्वसम्पदा क्षेत्रको सम्भावित सूचीमा सूचीकृत गरेको थियो । हाल काठमाडौं उपत्यकाको हनुमानढोका दरबार क्षेत्र, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, बौद्धनाथ, स्वयम्भु, पशुपति क्षेत्र, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।

प्रतिक्रिया दिनुहोस्