मनमोहन अस्पतालले शुरु ग-यो आइभीएफ प्रविधी


काठमाडौं । 

काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःसन्तान दम्पतीका लागि आइभीएफ (इन भेट्रो फर्टिलाइजेशन) प्रविधिबाट बच्चा जन्माउने सेवा शुरु गरेको छ ।

वागमति प्रदेशका मूख्यमन्त्री एवं नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) का संस्थापक अध्यक्ष राजेन्द्र पाण्डेले शनिबार मनमोहन अस्पतालमा एक समारोहका बीच आइभीएफ क्लिनिकको शुभारम्भ गर्नुभएको हो । मनमोहन अस्पताल नेको नेपालअन्तर्गत संचालित छ ।

कार्यक्रममा मूख्यमन्त्री पाण्डेले यो क्लिनिकले आइभीएफ सेन्टरको नमूनाकै रुपमा आफूलाई उभ्याउने विश्वास व्यक्त गर्नुभयो ।

 

नेपालमा आइभीएफ प्रविधी भित्र्याउने स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले आइभीएफ सेवाबाट नेपाली दम्पतीहरूले विदेशमा गएर पाउनुपर्ने दुःखको अन्त्य भएको जिकिर गर्दै भन्नुभयो–‘एकातिर नेपाली दम्पतीले विदेशमा गएर पाउनुपर्ने दुःखको अन्त्य भएको छ भने अर्कोतिर यहाँको ठूलो धनराशी विदेशिनुबाट पनि जोगिएको छ ।

’ उहाँले विश्वमा यो प्रविधी शुरु भएको २७ वर्षपछि ओम अस्पतालले नेपालमा पहिलो पटक सन् २००६ मा टेस्ट ट्युब बेबी जन्माउन सफल भएको स्मरण गर्दै हाल नेपालमा २६ वटा केन्द्रले आइभीएफ सुबिधा दिइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा. केदार प्रसाद सेन्चुरीले निःसन्तान दम्पतीको आशा र भरोसा बनेको आइभीएफ सेवा शुरु गर्न पाउँदा निकै हर्षित भएको बताउनुभयो । उहाँले आठ वर्षअघि शुरु भएको मनमोहन अस्पताललाई ३ सय सैय्याबाट ७ सय सैय्याको विशिष्टिकृत सेवा दिने अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

प्राकृतिक रुपमा बच्चा जन्माउन नसक्ने दम्पतीलाई यो प्रविधिले बच्चा जन्माउन सहयोग गर्छ । कतिपय महिलाहरूको अण्डासयमा डिम्ब नबन्ने समस्या हुन्छ भने बनेका डिम्ब पनि नबढेर गर्भधारणका लागि योग्य नहुने समस्या हुन्छ । त्यसैगरी पाठेघरको नली पूरा बन्द हुँदा, हर्मोनमा गडबडी हुँदा र पाठेघरको गर्भाशयको मुख ज्यादै सानो भएको अवस्थामा पनि सन्तान जन्माउन नसकिने भएकोले यस्ता समस्या भएका महिलाका लागि सन्तान जन्माउन उत्तम विकल्पको रुपमा आइभीएफ प्रविधी रहेको छ ।

 

सन्तान जन्माउन सक्षम नभएका पुरुषका लागि पनि यो नै उत्तम विकल्प हो । यो प्रविधिमा पुरुषको शुक्रकिट र स्त्रीको डिम्ब संकलन गरी टेष्ट ट्युबमा राखि निशेचन प्रक्रियामार्फत भ्रुण तयार गरिन्छ । यसरी तयार गरिएको भ्रुणलाई ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।

यसरी भ्रुण प्रतिस्थापन गरिसकेपछि अन्य सामान्य शिशुसरह नै आमाको गर्भमा नौं महिना बसेर शिशुको जन्म हुन्छ । चिकित्सकहरूका अनुसार नेपालमा यो प्रविधि २५ देखि ३० प्रतिशत मात्र सफल भएको छ भने विकसित देशहरू आइभीएफको सफलता प्रतिशत ३५ देखि ५० सम्म छ ।