कुस्मा बजारको एक घरमा आगलागी



पर्वत ।

पर्वतको सदरमुकाम कुस्मा बजारको एक घरमा बिहीबार आगलागी भएको छ । कुस्मा नगरपालिका वडा नं ५ की लक्ष्मी श्रेष्ठको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

करिब एक घण्टापछि स्थानीयवासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणका लागि कुस्मा नगरपालिका र छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिकाबाट वारुणयन्त्र मगाइएको थियो । आगलागी समयमा नियन्त्रणमा नआएको भए कुस्मा बजारका धेरै घरमा सल्कन सक्ने जोखिम थियो ।

विद्युत् सटका कारण आगलागी भएको अनुमान गरिए पनि अझै कारण पत्ता लागि नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिनुभयो । गलागलीबाट मानवीय क्षति भने भएको छैन ।

आगलागीमा ३ लाख नगद, १० तोला सुन, २० तोला चाँदी लगायतका सम्पत्ति नष्ट भएको पीडितले बताएका छन् । प्रहरीले अहिले सम्म १० लाख भन्दा बढीको क्षति भएको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्