सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन माग

0
Shares

काठमाडौं (नेस) ।

सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामूहिकरूपमा अग्रह गर्ने निर्णय गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा तीन महासंघको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुबाहेक अन्यवस्तुहरूको एलसी नखोल्ने बैंकहरूको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आवद्ध २० औं हजार व्यवसायी तथा लाखौं कालिगढको रोजिरोटी नै संकटमा पर्न सक्ने तथा आम उपभोक्ताको अधिकार कुण्ठित हुन जाने भएको भन्दै तीन महासंघले त्यो अवस्था आउन नदिन आपूर्तिको अन्य विकल्प खोज्न सरकारसँग आग्रह गर्ने भएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई चालु राख्न वैकल्पिक व्यवस्था अलवम्बन गर्नु पर्ने खाँचो औंल्याउनुभयो । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य वैकिल्पिक व्यवस्था अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उहाँको भनाइ छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र आम उपभोक्ता सबैलाई सहज हुने गरी आपूर्तिको विकल्प खोजिनुपर्ने बताउनुभयो । यस्तै, नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको भन्दै त्यसको निरारणका लागि तीनैवटा संस्था संयुक्तरूपमा लागि पर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनैवटा छाता संस्थाको तर्फबाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघ सुनचाँदीका क्षेत्रमा काम गर्ने छाता संस्था हुन् ।