हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड



काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौं भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं ।’

महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताए । अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताए ।

गठबन्धनमा सहमति नभए एक्लै चुनाड लड्ने दाबी
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् ।

‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’

भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए । सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ । सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए ।

‘गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । पार्टी मुख्यालयमा सोमबार आयोजिवत पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए ।

‘हिजो संविधानविरोधी गतिविधि भयो । यसविरुद्ध हामी गठबन्धनआवद्ध दल लड्यो,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ । विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेन्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेकाबीच गठबन्धन र तालमेल भएको छ ।’

उनले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिए । निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने बताए । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा सहमतिमा उम्मेदवार उठाउने जानकारी दिँदै प्रचण्डले सोमबार नै बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्