सञ्चारमाध्यम अनुगमन समिति गठन


खोटाङ  । 

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहका निर्वाचन केन्द्रित हुँदै खोटाङमा सञ्चार गृह तथा सञ्चारकर्मी अनुगमन समिति गठन गरिएको छ । निर्वाचनको अवधिमा पत्रकार आचारसंहिता उल्लंघन हुने समभावना बढी हुने भएकाले तीन सदस्यीय अनुगमन समिति गठन गरिएको हो ।

पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय दिक्तेलबजारमा आइतबार भएको पत्रकारहरुको भेलाले सन्तुलित समाचार तथा सामग्रीमा ध्यान दिनुपर्नेमा जोड दिएको महासंघका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो । मर्यादित ढंगले समाचारलगायतका सामग्री संकलन, सम्प्रेषण तथा प्रकाशन–प्रशारण गरे÷नगरेको अनुगमनका लागि जिल्लाका अग्रज पत्रकारहरु कृष्ण आचार्य, डम्बरसिं राई र दमन राईलाई समितिमा चयन गरिएको छ ।

महासंघ शाखाकै पहलमा भएको भेलामा निर्वाचनलाई स्वस्थ, मर्यादित, धाँदलीरहित बनाउन सञ्चारमाध्यम र सञ्चारकर्मी निष्पक्ष बन्नुपर्ने छलफल चलेको अध्यक्ष खत्रीको भनाइ छ ।यस्तै, सामाजिक सञ्जालहरुमा कसैको विरोध जनाउने, खण्डन गर्ने, एक–अर्कामा द्वेषभाव सिर्जना गर्ने जस्ता कार्य नगर्ने जिल्लाका सञ्चारकर्मीले कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेका थिए । जिम्मेवार सञ्चारकर्मीले सामाजिक सञ्जालमा वाद–प्रतिवाद गर्न अशोभनीय र गैरजिम्मेवार कार्य भएको भेलाले ठहर गरेको छ ।