आमाले मलाई दिनुभएको अर्ती–उपदेश



आज केही कुरा लेख्न मन लाग्यो । मैले जानेका, बुझेका र पढेका धेरै विषय भए पनि मन पर्ने विषय जुराउन सकिन । अनि एकपटक आमाले मलाई भन्नुभएको कुरा सम्झना आयो । उहाँले भन्नुभएको थियो– ‘नानु, तिम्रो लागि मैले सकेका हरेक इच्छाहरु पूरा गरेकी छु, तिमीले राम्ररी पढ्नु है । सबैभन्दा सानी छौ, पिलपिलाउँदो छौ, दाइ–दिदी ठूला छन्, बाठाटाठा छन् । तिमी भने सोझी छौ । टाठाबाठा मानिसले सजिलै तिमीलाई ठग्न सक्छन् । त्यसैले बाबुले यो संसारमा नदेखे पनि तिमीले पढेर समाजमा राम्रो व्यक्ति हुनुपर्छ ।’ यसरी आमाले मलाई सधैँ उत्प्रेरित गर्ने खालका कुरा भन्ने गर्नुहुन्छ । आजकल पनि असल छोरी भएर उदाहरणीय बन्नुपर्छ नानु भन्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘पढ्न सक्यौ भने तिमीलाई जागिर खान सजिलो हुन्छ । वैदेशिक रोजगारीमा जान पनि सजिलो हुन्छ । भोलि कुनै पेसा, व्यवसाय गरेर पनि आफ्नो र परिवारको लागि व्यवहार चलाउन सहज हुन्छ । तिमी एउटा सफल नारी भई प्रतिष्ठित व्यतिmको दर्जा पाउनेछौ । समाजमा रहेका नराम्रा कुसंस्कार, कुरीतिलाई हटाउन सक्नेछौ । प्रतिष्ठित नामसँगै पैसा पनि कमाउनेछौ । आफ्नो आवश्यकता आफैं पूरा गर्न सक्नेछौ । कसैको डर र भरमा बस्नुपर्दैन ।’ नानु, तिमी आफैं आत्मनिर्भर हुने बाटो रोज्नू, जहिले पनि अरुले दिएपछि खाऊँला भनेर बस्नुहुँदैन भनेर सम्झाएको कुरा मस्तिष्कमा सदावहार छाउँछ ।

यी शब्दहरु सम्झिँदा मनमा उज्यालो दीप बली खुशीले मन फुरुंग हुन्छ ।परिवारमा सबैभन्दा ठूलो आमा, जसले संसार देखाउनुहुन्छ । आमा भन्ने शब्दले नै सारा विश्वलाई एकीकृत गराउँदो रहेछ । आमालाई मन नपराउने शायद विरलै हुन्छन् । मानिस एक चेतनशील प्राणी हो । उसमा ज्ञान, सीप, चेतना, माया, ममता, विवेक र विचार गर्ने शक्ति हुन्छ । धर्मकर्म, पाप, गलत–सही के हो भन्ने कुरा बुझेको हुन्छ । तर, पशु पनि बढी स्नेही भएको देखिन्छ । पशुले बच्चा जन्माउनासाथ आफ्नो बच्चाको लागि कसैलाई नजिकमा आउन दिएको हुन्न । बच्चा जन्माउँदाको पीडाले छट्पटी रहँदा पनि आफ्नो बेथाको कुनै पर्वाह नगरी घाँटीको दाम्लोको बेवास्ता गर्दै मारौंलाजस्तो गरेको हुन्छ ।

चराहरुले पनि त्यत्तिकै माया गरी बच्चालाई हुर्काउँछन् अनि आफ्नै संसारमा आनन्दित हुन्छन् । यिनीहरुले पनि आफू सुरक्षित हुनलाई रुखको टुप्पोमा गुँड बनाई आफ्ना बचेराहरु हुर्काएका हुन्छन् । गौँथलीले पनि दुःख–कष्ट गरेर आफ्नो सानो चुच्चोमा माटो बोकी घर बनाएको हुन्छ । सोही घरमा आफ्ना बच्चा हुर्काएको हुन्छ । आफ्नो ज्यानलाई भन्दा बढी माया बच्चालाई गरेको हुन्छ । दुख–कष्ट र संर्घषमा हुर्काउँदै गरेका बच्चाहरुको कसलाई माया लाग्दैन होला र ? एउटी आमाले बच्चाका लागि संघर्ष कति गरेकी हुन्छिन् भनेर हामीले अन्य सजीव प्राणीबाट पनि देखेका हुन्छौँ ।एउटी कवयित्रीले लेखेको कविताले मलाई सधैँ मन छुने गर्छ । कविताको एक लाइन मेरो दिमागमा सधैँ घुमिरहन्छ । कविताको लाइन यस्तो छ– ‘यौटा मृत्यु गरेँ जितेको दिन पहिले आमा बनेको क्षण ।’ यो कति मार्मिक, पीडादायी, भावुक र आमाको माया–ममताले भरिएको छ भन्ने कुरा जो–कोहीले पनि बुझ्न सक्छ । यहाँ आमाले दुःख, पीडा र वेदनालाई लुकाएर झुटो हाँसो छरेको हामी सन्तानले बुझ्न सक्दैनौं । मृत्यु केही होइन भन्ने सोची बच्चा जन्माउँदा आमाको मन खुशी हुन्छ र ती आमाले संसारै जितेको महसुस गर्छिन् ।

त्यसैले आमाको महत्व हामीले बुझ्न सक्नुपर्छ । आमालाई हामीले धेरै माया गरेको जस्तो लाग्छ तर आमाले गर्नेभन्दा कम नै माया हामीले गरेका हुन्छौं । विश्वमा यसको मापन व्यक्तिको सोचाइ, बानी व्यवहारमा फरक पर्न जान्छ तर यस्तो हुनु पनि स्वाभाविक हो । आमाले मलाई धेरै माया गर्नुहुन्छ । त्यसैले होला तिमी सोझी छौं, भारी काम गरेर खान सक्दिनौ, ध्यान दिएर धेरै पढ्यौ भने तिमीलाई सुख हुनेछ भन्ने आमाको अर्ती सधैँ मेरो मन–मस्तिष्कमा रहन्छ । आजसम्म पनि म गायत्री मन्त्रभन्दा पनि बढी सम्झिने गर्छु आमाको यो अर्तीलाई । त्यसैको फलले अहिलेसम्म म यो स्थानमा आएकी छु ।

म सोझो भएर बाठाटाठाले ठगे पनि मेरो आमाको अर्तीले मलाई इमानदार बनायो । घरको वातावरण नै अरुलाई ढाँट्ने, छल्ने नभएकाले होला शायद अरू कसैले झुट बोल्न सिकाउँदा पनि बोल्न नसक्ने छु । आमाले जहिल्यै पनि मलाई भन्ने गर्नुहुन्छ, ‘कसैले तिमीलाई गलत देखाउन विभिन्न खेल रच्न सक्छन् । तिमीलाई नराम्रो व्यवहार र तुच्छ शब्दले हृदयमा चोट पु¥याउन सक्छन् । मित्रु पनि शत्रु भई छुरा रोप्न सक्छन् । यस्ता व्यक्तिहरुबाट टाढै रहनू ।’ नानु, तिमीलाई कसैले लोभलालच देखाउन सक्छन्, कहिल्यै इज्जत र इमानदारिता नबेच्नु है भनेर मलाई सधैँ राम्रो बाटोमा हिँड्न उत्साहित बनाउनुहुन्छ आमा । त्यसैले त मलाई कसैले नराम्रो बाटोमा हिड्यौ भनेर औंला ठड्याउन सकेका छैनन् । तर मलाई केही सीमित व्यक्तिले टिप्पणी गर्छन् होला, म उनीहरुलाई सीमित क्षेत्रका टाठाबाठा व्यक्ति भनेर चिन्छु र उनीहरुसँग दोहोरो बोल्न पनि उचित ठान्दिन । उनीहरुको टिप्पणीले मलाई हौसला दिएको छ । उनीहरुलाई म उड्ने चंगाको धागो सम्झन्छु । म आफूलाई आकाशमा उडिरहेको चंगाजस्तै सधैँ मन आनन्दित राख्छु । शायद ती टाठाबाठालाई खुशीको श्वास फेर्न गाह्रो भएको होला । बाठाहरुले मनमा कहिल्यै पनि खुशीको आभास गर्नसम्म पनि पाएका छैनन् होला । भौतिक शरीर सग्लै देखिए तापनि भित्री मन खुम्चिएको होला । म त्यसबाट मुक्त भएको महसुस गर्छु । मेरी आमाले दिएको अर्तीले मेरो मन कहिल्यै खुम्चन पाएन । उहाँको अर्तीले सधैँ फराकिलो हुने अवसर दियो ।

आमाले दिएको अर्ती मलाई सधैँ पहाडलाई अडेस लागेको चट्टानजस्तो भएको छ । किनभने यो चट्टानलाई हतपत कसैले फुटाउन सक्दैन । आफ्नो अडान लिएर घण्टा, दिन, रात, वर्षौंसम्म अडिइरहन्छ । न त्यो चट्टानले घाम भन्छ, न वर्षा, न असिना, न राप, न त ताप नै भन्छ । आफ्नो रुप परिवर्तन गर्दैन । त्यस्तै आमाको माया पनि अजर, अमर हुन्छ । आफ्नो सन्तानले जति ठूलो गल्ती गरे पनि कठोर सजाय दिन तयार हुन्नन् आमा । जो–कसैको आमा पनि आवश्यक परेको बेला आफ्नो शरीरको पर्वाह नगरी अंगसमेत टुक्र्याएर दिन सक्ने क्षमता राख्छिन् । आज मैले उच्च शिक्षासम्म पढेर कलम चलाउन सक्ने भएकी पनि आमाको अडानलाई आत्मसात् गरेकै कारणले हो ।

सानोमा म साथीहरुसँग खेलेर घरमा आउँदा आमालाई देखिन भने मलाई खल्लो अनुभव लाग्थ्यो । के नपुगेको हो, के भएको हो, कुनै चिज हराएर नपाएको जस्तो महसुस हुन्थ्यो । म रुँदै, भौँतारिँदै आमालाई खोज्दै हिँडेको हुन्थें । आमालाई भेट्टाउँदा मेरो खुशीको सीमा नै हुन्थेन । आकाशमा देखिने सूर्य, चन्द्र, ताराजस्तो मेरी आमाको मुहार देख्थें । आमासँगको बाल्यकालका भलाकुसारी मेरो सम्झनामा आजसम्म पनि सेलाएका छैनन् । आमाले मलाई राम्रा–राम्रा अर्ती–उपदेशका कथा पनि सुनाउनुहुन्थ्यो । अहिले आएर मलाई थाहा हुँदै छ, ती कथाहरु पनि मेरो भविष्य निर्माणका लागि मेरुदण्ड नै रहेछन् भन्ने कुरा । कथाले मलाई अनुशासित बन्न सिकायो । ठगी, फट्याइँ र झुटको खेतीबाट पर रहन सिकायो । अरुको मन जित्न सिकायो । अर्तीले नै सत्मार्गमा हिँड्न सिकायो । अहिले मेरी आमा ५८ वर्षकी हुनुहुन्छ । मेरी आमाले मलाई असल बनाउने जुन मार्गहरु अपनाउनुभयो, त्यो सम्झिँदा म नतमष्तक हुन्छु । मैले मेरी आमाको मात्र कुरा गरेको होइन, यहाँ धेरै आमाहरु हुनुहुन्छ । आमालाई शब्दको मायाभन्दा पनि व्यवहारमै राम्रो गरौं, सम्मान गरौं ।

प्रतिक्रिया दिनुहोस्