हेटौंडामा २५ फिट अग्लो बुद्धमूर्ति


हेटौंडा।

हेटौंडा–१८ स्थित गुम्बाडाँडामा करिब ३ वर्ष लगाएर तयार पारिएको २५ फिट अग्लो ढुंगाको बुद्धमूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नांगेलले शनिबार मूर्ति अनावरण गर्नुभएको हो ।

उक्त बुद्धमूर्ति वागमती प्रदेशको सबभन्दा अग्लो हो भने देशकै दोस्रो अग्लो बुद्धमूर्ति हो । यसअघि जोमसोमको मुक्तिनाथमा ३३ फिट अग्लो मूर्ति स्थापना गरिएको थियो ।करिब १ करोड ४४ लाख लागतमा निर्माण भएको बुद्धमूर्ति तथा बोधीचैत्य (स्तुपा) का लागि ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले ढुंगामा मूर्ति कुँद्नुभएको हो । मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवनहरू, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउन्डवाल, र ध्यान केन्द्र बनेका छन् । गुम्बाडाँडा हेटौंडा बजारबाट करिब १७ किमी पूर्व दक्षिणमा पर्दछ, जहा“ पछिल्लो समय बिदाका दिन आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

२०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू पनि त्यहाँ छन् । नेपाल र अन्य ५ देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको छ । हाल पिकनिक क्षेत्र बनेको उक्त गुम्बाडाँडा मूर्तिकलासम्बन्धी रुची राख्नेहरूका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।मूर्ति अनावरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष अनिल बानियाँले बौद्ध धार्मिक महत्वको दोस्रो सबैभन्दा ठूलो मूर्तिले गुम्बाडाँडालाई धार्मिक पर्यटन क्षेत्रका रूपमा क्रमशः विकास हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा हेटौंडाका कमलचन्द्र सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्देश्य र लागत आदिबारे प्रकाश पार्दै निर्माण समिति सचिव दुर्गामान शाक्यले मूर्ति स्थापनापछि आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने अवस्था न्यून हुने विश्वास व्यक्त गर्नुभयोे ।यो मूर्ति पहिले नै तयार भएको भए तापनि लकडाउनका कारण मूर्ति ल्याएर अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण समिति संयोजक कमलचन्द्र सुमनले बताउनुभयो ।

काठमाडौं–६, बौद्ध निवासी वरिष्ठ समाजसेवी सूर्यबज्र लामा, समाजसेवी दुर्गामान शाक्य, सुभासराज शाक्य, शान्तरत्न शाक्य, किरणरत्न शाक्य, राजेश्वरी श्रेष्ठ, हेटौंडाका कमलचन्द्र सुमन र डा.वसन्तमान श्रेष्ठलगायतका समाजसेवीहरूले मूर्ति निर्माणका लागि १ करोड ४४ लाख जुटाएका थिए । त्यसैगरी वागमती प्रदेश सरकारले मूर्ति प्रतिस्थापन गर्ने स्थान निर्माण र मूर्ति रहने स्थानसम्म पुग्ने सिँढी निर्माणका लागि ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो भने १८ नम्बर वडाले ५ लाख रुपियाँ उपलब्ध गराएको थियो ।

लकडाउनका कारण मूर्ति ल्याएर अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण समिति संयोजक कमलचन्द्र सुमनले बताउनुभयो । काठमाडौंका समाजसेवीहरूले मूर्ति निर्माणका लागि १ करोड ४४ लाख जुटाएका थिए । वागमती प्रदेश सरकारले मूर्ति प्रतिस्थापन गर्ने स्थान निर्माण र मूर्ति रहने स्थानसम्म पुग्ने सिँढी निर्माणका लागि ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो भने १८ नम्बर वडाले ५ लाख रुपियाँ उपलब्ध गराएको थियो ।

हर्नामाडीस्थित ‘कलागाउँ’ का रूपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको मूर्ति स्थापनाका लागि काम अगाडि बढाइएको थियोे । मूर्ति स्थापना समिति संयोजक हेटौंडाका समाजसेवी सुमनले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताउनुभयो । मूर्ति निर्माण समितिले काठमाडौंको बौद्धमा गरेको पहिलो चरणको कार्यक्रममा एकै दिन १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको थियो । मूर्तिका लागि आवश्यक ढुंगा कुलेखानी, फर्पिङ, पनौती र दक्षिणकाली जंगल क्षेत्रबाट लगिएको थियो ।

संरचनागत् रूपमा सरकारी जमिन देखिएकाले २०५४ सालमा गुम्बाको स्थापना भएको रेकर्ड छ । सल्लाघारी भनिने ठाउँमा गुम्बा स्थापनापछि ‘गुम्बाडाँडा’ नामाकरण भएको हो । गुम्बा स्थापनापछि सामाजिक रूपमा चहलपहल हुँदै गर्दा सुरूआती हिसाबमा मंगलसिं लामाको नेतृत्वमा २०६१-६२ ताका उक्त क्षेत्र स्थापना गरिएको हो । गुम्बाडाँडा क्षेत्रमा रहेको बस्ती हटाएर २०३५ सालमा त्यहाँका बासिन्दाहरूलाई चितवन पठाइएको थियो भने २०४२ सालमा उक्त क्षेत्रमा वृक्षरोपण गरिएको थियो ।