कक्षा ११ को परीक्षा जेठ तेस्रो साता गर्न निर्देशन


काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठ तेस्रो सातबाट सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले हिजो आइतबार सूचना जारी गरी कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी आगामी जेठ महिनाको तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७ परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्डअनुरूप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकाले सोको आधारमा परीक्षा सञ्चालन गर्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी सूचनामा विद्यार्थीको रजिस्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डको प्रदेश परीक्षा व्यवस्थापन-शाखा कार्यालयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराउन निर्देशन दिइएको छ । कार्यविधिमा कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने उल्लेख छ ।