लमजुङ दरबारप्रति सरोकारवालाको चिन्ता

0
Shares

लमजुङ  । 

लमजुङको बेंसीशहर नगरपालिका–३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विसं १५५० मा तत्कालीन राजा यहोब्रह्म शाहले राज्य सञ्चालन गरेको लमजुङ दरबार नेपालको इतिहासमा महत्वपूर्ण भए पनि प्रचार–प्रसारकै कमीले ओझेलमा परेको हो ।

शाह वंशीय राजाहरुको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । १६औं शताब्दीमा निर्माण गरिएका पुरानो संरचनामा इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँशहर दरबार ओझेलमा पर्दै आएको हो । शाह वंशीय राजाहरुको उद्गमस्थल भएर पनि ऐतिहासिक दरबारको प्रवद्र्धन हुन नसक्दा पर्यटन क्षेत्रमा क्षेति पुगेको पर्यटन अभियान्ता कृष्णराज ओलियाले बताउनुभयो ।

दरबारको हेरचाह, संरक्षण र विकास गर्ने काम पुरातत्व विभागको हो । नेपाली सेनाले यशोब्रह्मको शालिक निर्माण गरेपछि आन्तरिक पर्यटक गाउँशहर पुग्न थालेका छन् । गाउँशहरमै रहेको नेपालकै उत्कृष्ट होमस्टे काउलेपानी पुगेका पर्यटकहरु पनि लमजुङ दरबार र सँगै रहेको गाउँशहर कालिका मन्दिर पुग्ने गर्छन् ।ऐतिहासिक दरबारको संरचना विकास हुन नसक्नु एकातिर छ त्यहाँसम्म पुग्ने सडकसमेत सहज नहुँदा पर्यटक सास्ती व्यहोर्न बाध्य छन् । महत्वपूर्ण धार्मिक र पर्यटकीय सम्पदाको प्रवद्र्धनका निम्ति सबैभन्दा पहिला त्यहाँसम्म पुग्ने सहज सडक हुनुपर्ने नेपाल सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थ थापाको भनाइ छ ।

संघीयता कार्यान्वयनसँगै दरबार संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले जिम्मा लिने भने पनि हालसम्म कुनै गतिविधि सञ्चालन गरेको छैन । दरबारका भवनहरु जीर्ण छन् । गाउँशहरको पर्यटन प्रवद्र्धनका निम्ति दरबार संरचनाको मर्मत र पर्यटक लक्षित अन्य संरचनाहरु निर्माण गर्नु जरुरी छ । लमजुङ दरबारको इतिहासलाई जीवित राख्न कुनै एक व्यक्ति वा समुदायको मात्रै पहलले नपुग्ने भन्दै उक्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाको धारणा छ ।

शाह राजाहरुको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रका रूपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको हो । नेपालको इतिहासमा गर्विलो महत्व बोकेको लमजङ दरबार र सँगै रहेको गाउँशहर कालिका मन्दिरको उचित प्रचार–प्रसार र प्रवद्र्धन गर्न सके जिल्लाकै पर्यटन क्षेत्रमा टेवा पुग्ने सरोकारवालाहरुको सुझाव छ ।