दुर्गमका बालबालिकाले लगाए टाइफाइडविरुद्धको खोप


 मुगु । 

मुगु जिल्लाको दुर्गमका बालबालिकाले पनि टाइफाइडविरुद्धको खोप लगाएका छन् । राष्ट्रिय खोप समितिको निर्णय र राष्ट्रिय खोप केन्द्रको कार्यतालिकाअनुसार खोप लगाइएको हो ।

लक्षित उमेर समूहका बालबालिकालाई १ सय ५८ वटा निजी र सरकारी विद्यालयमा खोप केन्द्र व्यावस्थापन गरिएको जिल्ला अस्पतालका प्रमुख उमेश गौतमले बताउनुभयो । चैत २५ गतेदेखि आगामीे वैशाख १८ गतेसम्म जिल्लाका २८ हजार ७ सय ८३ जना लक्षित समूहका बालबालिकालाई टाइफाइड खोप प्रदान गर्ने योजनाअनुसार खोप सञ्चालन भइरहेएको उहाँको कथन छ ।

जिल्लाका चारवटा गाउँपालिकामा छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाका ४५ वटा वडाका १५ महिनादेखि १५ वर्षसम्मका विद्यालयमा अध्यनरत २१ हजार १ सय १६ जना बालबालिका र विद्यालय जाने उमेर नपुगेका, विद्यालयको पहुँचभन्दा बाहिर रहेका ७ हजार ६ सय ६७ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ । विद्यालयमा खोप केन्द्र बनाउँदा धेरै बालबालिकालाई समेटिने र पहिलोपटकमै कम्तीमा ९५ प्रतिशत लक्षित समूहलाई समेट्ने लक्ष्य राखिएको प्रमुख गौतमले बताउनुभयो ।

राष्ट्रिय खोप कार्यक्रम अभियानमा जिल्लामा तोकिएका सबै खोप केन्द्रमा सबैको पहुँच हुने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरीय, सुरक्षित र सर्वसुुलभ खोप, सेवा निरन्तर रूपमा प्रदान गर्ने र टाइफाइडविरुद्ध खोप प्रत्येक बालबालिकाले लगाएको सुनिश्चित गर्ने योजना रहेको उहाँले जनाउनुभयो ।
नेपाल सरकारको निर्णय र जिल्ला अस्पताल मुगुको निर्देशनअनुसार सोरु गाउँपालिकाका दुर्गम बस्तीका विद्यालय र स्वास्थ्य केन्द्रमा टाइफाइटविरुद्धको खोप चैत २५ गतेबाट दिइँदै आएको सोरु–९ का स्वास्थ्य इन्चार्ज सुरज साही बताउनुहुन्छ ।