चौबीस हजारभन्दा बढीको विवरण संकलन


बैतडी ।

बैतडीमा हालसम्म २४ हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । यहाँ २०७७ असोज पहिलो सातादेखि विवरण लिन शुरु गरिएको थियो ।

शुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल वडास्तरमै उक्त कार्य भइरहेको छ । हाल अभियानकै रूपमा वडास्तरमा परिचयपत्र विवरण संकलनकार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण संकलनको कार्यमा नागरिकको उत्साहजनक सहभागिता रहेको उहाँको हथन छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडाहरुमा विवरण संकलनको कार्य सम्पन्न भएको छ । डिलाशैनीमा ८ हजार ३ सय ९६ जनाको र सिगासमा ७ हजार २ सय ६ जनाको विवरण संकलन गरिएको सूचना अधिकारी भारतीले बताउनुभयो । ‘सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत नागरिक सहभागी भएका छन् ।’ –उहाँले भन्नुभयो ।

हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान जारी छ । दोगडाकेदारमा २ सय ३४ र पुर्चौडीमा ७ सय ३५ जनाको विवरण संकलन भइसकेको छ । जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ८ सय ५९ जनाको विवरण संकलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ रहेको छ ।विवरण संकलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण संकलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको हो ।

राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुबा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ ।यसै गरी, बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ ।

विवरण दिनका लागि स्वयं आफू उपस्थित हुनुपर्ने, सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमान्को पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र बहुउपयोगी परिचयपत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।