मालपोतको सेवा प्रविधि नागरिकमैत्री बनाइने


 काभ्रे  । 

नेपालको जग्गा प्रशासनमा पोता रजिस्ट्रसनका रूपमा पहिलो लिखत पारित भएको १ सय वर्षको इतिहासलाई सम्झँदै सरोकारवालाहरूले देशभरका मालपोत कार्यालयहरुले आधुनिक, प्रविधि र नागरिकमैत्री सेवा प्रदान गर्ने अब्बल कार्यालयका रूपमा परिचित हुने अठोट गरेका छन् । बिहीबार मालपोत कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको लिखत पारितको शतवार्षिकीको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।

मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई २०३५ साल वैशाख १ गतेदेखि जिल्लाभर कार्यक्षेत्र रहने गरी मालपोत ऐन–२०३४ अनुसार कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो । ‘मालपोत र नापी कार्यालयले जिल्लाभित्र रहेका निजी, सार्वजनिक र सरकारी सबै जग्गाको व्यवस्थापन तथा संरक्षण र सुरक्षा गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो– ‘मालपोत कार्यालयमा काम गर्ने केही कर्मचारीको स्वार्थका कारण सबै कर्मचारी र कार्यालयको सेवा त्यस्तै हो कि ? भन्ने विगतमा भए पनि अहिले त्यस्तो छैन र हुनु पनि हुँदैन ।’

मालपोत कार्यालयको सेवालाई प्रभावकारी बनाउन कार्यालय एक्लैको प्रयासले सम्भव नभएको बताउँदै उहाँले सरोकारवाला निकाय र सेवाग्राही आफंै पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो । सेवालाई अझै प्रविधिमैत्री बनाउन गुणस्तरमा ध्यान दिन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले राष्ट्रिय परिचयपत्र अनिवार्य हुने गरी सरकारले लिखत पारित गर्ने व्यवस्था गर्दै गरेको बताउनुहुन्छ ।त्यस्तै, मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत नवीनकिशोर अधिकारीले एकद्वार प्रणालीको सफल कार्यान्वयनका लागि भवनको पुनःसंरचना, डिजिटल टोकन प्रणाली, सबै स्थानीय तहमा भूसेवा केन्द्र सञ्चालन, एक कर्मचारी एक कम्प्युटर विधि, स्थानीय तहका कर्मचारीलाई जग्गा प्रशासनसम्बन्धी अभिमुखीकरणलगायतका कार्यहरु शुरु गरिने बताउनुभयो । दक्ष जनशक्ति र प्रविधिमैत्री कर्मचारीको व्यवस्थापनका लागि प्रयास भएको उहाँको कथन छ ।

स्थानीय तह र संचारकर्मीमार्फत नागरिकहरुलाई अझै सेवामैत्री बनाउन पहल कदमी गर्ने र सूचना सम्प्रेषणमा सहजता अपनाउने गरी कार्य शुरु गरिएको प्रमुख मालपोत अधिकृत अधिकारी बताउनुहुन्छ ।कार्यक्रममा नापी कार्यालय काभ्रेका प्रमुख रामविनय सिंह यादवले घाम लाग्दा मात्रै काम गर्नुपर्ने अवस्थाबाट डिजिटल युगमा प्रवेश गरेको बताउनुभयो । त्यसै गरी, नमोबुद्ध नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्थानीय तहको प्रमुख राजश्वको स्रोत मालपोत कार्यालयलाई व्यवस्थित बनाउन स्थानीय सरकार तयार रहेको धारणा राख्नुभयो ।

मालपोत कार्यालयको सुधारिँदो अवस्थालाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना बताउनुभयो । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन काभ्रेका अध्यक्ष रोशन श्रेष्ठले स्रेस्ताहरुको भरपर्दाे व्यवस्थापन हुनु आवश्यक रहेको औंल्याउनुभयो । मालपोत अधिकृत गंगाप्रसाद पोखरेल, कम्प्युटर अपरेटर रामभक्त हुमागाईंलगायतले जग्गा प्रशासनमा भूसेवाको पछिल्लो व्यवस्थापनका बारेमा जानकारी गराउनुभएको थियो ।