पालिकाले अदालतको फैसला कार्यान्वयन नगर्दा व्यापारी मार्कामा

0
Shares

वैशाख । 

अदालतले गरेको फैसला इलाम नगरपालिकाले कार्यान्वयन नगर्दा इलामका व्यवसायी कुमार लिम्बु पीडित बनेका छन् । उहाँले बिहीबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिनुभएको हो ।

इलाम बजार ट्याक्सी स्टे्न्डमा नगरपालिकाले निजी साझेदारीमा निर्माण गरेको मासु पसलको सटर सम्झौता कार्यान्वयनमा जालसाझी गरेको व्यवसायी कुमार लिम्बुको आरोप छ । इलाम नगरपालिकाले सहमति कार्यान्वयन नगरेपछि लिम्बुले उच्च अदालत विराटनगर इलाम इजलासमा इलाम नगरपालिका, नगर कार्यपालिका, मेयर महेश बस्नेतलगायत आठ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्नुभएको थियो ।

२०७७ साल फागुन १६ गते सो मुद्दाको फैसला उहाँकै पक्षमा गरे पनि नगपालिकाले फैसला कार्यान्वन नगरेको लिम्बुको भनाइ छ । नगरपालिकाले कीर्ते कागज बनाएर आफूमाथि अन्याय गरेको उहाँको आरोप छ । व्यावसायिक भवन निर्माण गर्न नगरपालिकाले २०७६ माघ १३ गते सूचना जारी गरेको थियो ।पछि दुईपटक संशोधन गरेर सोही सूचना जारी गरेपछि माघ २८ गते टेन्डरअनुसार प्रस्ताव पेस गरेको र बढाबढमा सटर आफूले पाएर किस्ताबापतको १ लाख ५० हजार रुपियाँ तीन किस्तामा बुझाइसकेको लिम्बुको कथन छ । तर, पछि इलाम नगरपालिकाले जाल रच्दै आफूले पारेको सटर अर्कैलाई दिएपछि आफू पीडित बनेको लिम्बूको भनाइ छ ।

अदालतमा मुद्दा परेपछि नगरपालिकाले मुद्दा जित्न अनावश्यक कागज पेस गरेको र दुई वर्षअघि पेस भएको कागजमा दुई वर्षपछि दर्ता भएको व्यावसायिक कागजसमेत पेस भएपछि अदालतले कीर्ते कागज भनी ठहर गरेको उहाँको भनाइ छ । आफूले टेन्डर पारेको सटर नम्बर ७ भए पनि ७ नम्बरलाई शून्य बनाएको उहाँको दाबी छ ।सोही सटरमा हाल टेकबहादुर श्रेष्ठले मासु पसल सञ्चालन गरिरहेका छन् ।
इलाम नगरपालिकाकाका प्रशासकीय अधकृत रामकुमार शाहले भने अदालतको फैसलाबमोजिम नगरपालिका चल्ने बताउनुभयो । हाल सञ्चालन गरेको मासु पसल सार्न सम्बन्धित व्यवसायीलाई पत्र पठाइसकेको जानकारी दिनुभयो ।